चिकित्सा शिक्षा विद्येयकलाई तत्काल अन्तिमरुप दिन आग्रह

चिकित्सा शिक्षा विद्येयकलाई तत्काल अन्तिमरुप दिन आग्रह


उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक फास्ट्रयाक बाट पास गर्नु परेकोले तत्काल अन्तिमरुप दिन संसदीय समितिलाई आग्रह गरेका छन् ।  उनले चिकित्सा शिक्षाको क्षेत्र ठूलो भएपनि यसलाई व्यवस्थीत गर्ने कानुनै नभएको सन्दर्भमा उक्त विद्येयक ल्याएको भन्दै उनले सरकारले ल्याएकै स्वरुपमा ठूलो हेरफेर नगरि पास गरिदिन आग्रह गरे।

महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा बोल्दै श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । काठमाडौंमा उनले १० वर्ष नयाँ मेडिकल कलेज खोल्न दिन हुन्न भन्ने व्यवस्था समेत विद्येयकमा प्रस्ताव गरिएको भन्दै यस पछाडिको कारण काठमाडौंमा मात्र कलेज नथुप्रिएर देशभर खुलोस् भन्ने मनसाय रहेको बताए ।

स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले लामो अध्यानका आधारमा विद्येयक मस्यौदा गरिएको भन्दै यसको स्प्रिट अनुसारनै ल्याइदिन आग्रह गरे। पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एमालेका तर्फबाट मन्त्रीले संसदमा लगेको माओवादीका तर्फबाट शिक्षामन्त्रीले तयार गरेको र अहिले कांग्रेसका तर्फबाट शिक्षामन्त्रीले ग्रहण गरेको हुनाले यो विद्येयकमा तीनै पार्टीको समर्थन रहेको दावी गरे।

सो बैठकमा प्रमुख तीन दलका सचेतक समेतलाई रायका लागि बोलाइएको थियो। समितिकी सभापति रन्जु झाले तत्काल छलफल मार्फत संशोधनलाई समेत समावेश गरेर विद्येयकलाई अन्तिमरुप दिइने बताइन्।