थापा भन्छन : राजपालाई निर्वाचनमा आउन नदिने कांग्रेसको योजना

थापा भन्छन : राजपालाई निर्वाचनमा आउन नदिने कांग्रेसको योजना


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्ना चुनावी स्वार्थ सिद्ध गर्न नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव निर्णय पेश नगरेको आरोप लगाएका छन् ।

कांग्रेस, माओवादी र राजपाले संशोधन विद्येयक प्रस्तुत गरे राप्रपाले सहयोग गर्ने प्रतिबद्धता उनले जाहेर गरे । संशोधन विद्येयक निर्णयार्थ कहिल्यै संसदमा प्रस्तुत नभएको उनले दावी गरे । देउवा नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने उनले प्रष्टयाए ।

जिल्ला कार्याकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर आएका अध्यक्ष थापाले पत्रकार सम्मेलन गरी राजपा नेपाल चुनावमा सहभागी नभए त्यसको फाइदा आफ्नाे पार्टीलाई हुने ठानेर संविधान संशोधन प्रस्ताव अघि नबढाएको आरोप लगाए ।

‘दुईतिहाइ बहुमत पुगिसकेको अवस्थामा पनि तत्कालीन सरकारले संविधान संशोधनको प्रस्तावलाई अघि बढाएन,’ उनले भने, ‘बरु हाम्रा सांसदहरु नै गायव भयो भनेर प्रस्ताव अघि नबढाएको नियोजित हल्ला फिजायो ।’ राजपा चुनावमा सहभागी नहुँदा त्यसको फाइदा कांग्रेसलाई हुने आमबुझाइ रहेको उनले तर्क गरे ।

असोज २ गते हुन लागेको स्थानीय तहको चुनावमा राप्रपा चार एजेण्डा लिएर जाने भएको छ । राप्रपाले चार वटा एजेण्डा लिएर प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको चुनावमा जाने भएको छ ।

हिन्दु राष्ट्र पुर्नस्थापना, मधेशी जनताको अधिकार र पहिचानको संरक्षण तथा सम्वद्र्धन, समग्र आर्थिक विकास र भ्रष्टाचार मुक्त प्रशासन राप्रपाको चुनावी एजेण्डा रहेको छ । चुनाव हुन डेढ महिना मात्र बाँकी रहँदा राजपामा सहभागी हुने/नहुनेमा अँझै अन्यौल छ, उनले भने–राजपालाई चुनावमा भाग लिने वातावरण सरकार र प्रमुख प्रतिपक्ष दलहरुले बनाइ दिनुपर्छ ।’

अध्यक्ष थापाले राजपालाई चुनावमा सहभागी हुनको लागि आग्रह समेत गरे । संविधान संशोधनपछि हुन लागेको पहिलो चुनावमा भाग लिनबाट कुनै दल बञ्चित हुनु नपर्ने राप्रपाको धारणा रहेको अध्यक्ष थापाले बताए ।

तेश्रो चरणको चुनावको तयारीमा जिल्ला दौडाहामा रहेका अध्यक्ष थापाले धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । दुई चरणको चुनावको परिणाम सन्तोषजनक नरहेपनि तेश्रो चरणको चुनावमा उत्साहजनक परिणाम ल्याउन पार्टीले युद्धस्तरमा काम गरिरहेको उनको भनाई थियो ।