नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तोकिएकै समयमा हुने बताएका छन् । सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा भएको संचारकर्मीसँगको भेटमा मन्त्री केसीले यस्तो जानकारी गराएका हुृन् ।
१३ औं सागको आयोजनाको लागि सरकारले बजेट पनि छुट्याएको छैन, सागलाई प्राथमिकतामा पनि राखेको छैन, समय थोरै छ, यस्तो अवस्थामा नेपालमा कसरी १३ औं साग हुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा मन्त्री केसीले म बजेटको व्यवस्था गर्छु, यसमा चिन्ता लिनु पर्दैन, समस्या भनेको भौतिक पूर्वाधारको हो, त्यो कार्य आफुले द्रुतगतिमा बढाउने प्रतिबद्धता जाहेर गरे । त्यसको लागि आफुले अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
१३ औं सागको निर्धारित समय थोरै छ, त्यो आफ्नो जानकारीमा भएको चर्चा गर्दै मन्त्री केसीले इच्छाशक्ति हुनपर्छ, सबै चुनौंतिहरूको सामना गर्न सकिन्छ । त्यसको लागि १३ औं सागमा केन्द्रीत रहेर भौतिक पूर्वाद्धारको निर्माणमा जोड दिने बताए । यतिवेला १३ औं साग मुलुकको प्रतिष्ठाको विषय बनेको छ, त्यसैले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरेर १३ औं साग तोकिएकै समयमा नेपालमा आयोजना हुने प्रतिबद्धता जाहेर गरे ।
प्रतिक्रिया