समलिङ्गी सम्बन्धमाथि कहाँ कस्तो दृष्टि ?

समलिङ्गी सम्बन्धमाथि कहाँ कस्तो दृष्टि ?


कतिपय देशमा समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दिन थालिए पनि अझै कैयन मुलुकमा यस्तो सम्बन्धलाई घोर अपराधको कोटिमा राखिँदै आएको छ । विश्वका ७२ देशमा समलिङ्गी सम्बन्धलाई अपराधको श्रेणीमा राखिएको छ, जसमध्ये ४५ देशमा महिला–महिलाबीचको यौन सम्बन्धलाई मात्र गैरकानुनी मानिन्छ, अर्थात् पुरुष समलिङ्गीलाई त्यहाँ छुट दिइएको छ । अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स एन्ड इन्टरसेक्स एसोसिएसन (आईएलजीए) ले भनेको छ, ‘यस्ता आठ देश छन् जहाँ समलैङ्गिक सम्बन्ध राख्नेलाई मृत्युदण्ड नै दिइन्छ ।’ यी आठ खतर्नाक मुलुकहरूमा इरान, सुडान, साउदीअरब, यमन, सोमालिया, नाइजेरिया, इराक र सिरिया रहेका छन् । यसका अलावा दर्जनौँ अन्य देश छन् जहाँ समलैङ्गिक गतिविधि राख्दा जेलको हावा खुवाइन्छ ।

द गार्जियनमा प्रकाशित रिपोर्टका अनुसार समलैङ्गिकतामाथि दक्षिण–पूर्वी अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियामा अत्यन्त कठोर दृष्टिकोण राखिन्छ भने पश्चिमी युरोप तथा पश्चिमी गोलाद्र्ध यस मामलालाई लिएर अत्यन्त सहिष्णु छ । समलिङ्गीय सम्बन्धलाई अझै ७१ देशमा ‘प्रकृतिको विरुद्ध’ मान्दै जेलसजाय गर्नेसम्मको प्रावधान छ भने अन्य एक सय २० भन्दा ज्यादा मुलुकमा समलैङ्गिकतालाई अपराधको कोटिबाट अलग राखिएको छ । आईएलजीओको प्रतिवेदनकी सहलेखिका एनगुस क्यारोल भन्छिन्, ‘विश्वमा कुनै यस्तो देश छैन जहाँ एलजीबीटी (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर) मानिसलाई भेदभाव, कलङ्क या हिंसाबाट सुरक्षा मिलेको होस् ।’ तथापि, उक्त प्रतिवेदनमा भनिएअनुसार लैङ्गिक झुकाव एवम् लैङ्गिक पहिचानको मुद्दामा पूरै विश्वमा ‘आश्चर्यजनक प्रगति’ भएको छ ।

तस्बिर : गुगल