लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण


गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो ।

नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते रु छ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका बताउनुभयो ।

दुई सय दुई किलोमिटर बेनी-जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएको छन् । बेनी-जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको छ ।

नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ-अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत रु चार करोड ६८ लाख दुई हजार ६ सय ३८, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत रु ६ करोड ८५ लाख हो ।

कालिका-गजुरमुखी जेभीले २०७६ साल चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ । सडक विभागले बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ ।

बेनी-जोमसोम-कोरला सडक योजना मार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०-७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से, बेनी-बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ ।