सदस्यसचिवले किन कमाए खुट्टा ?

सदस्यसचिवले किन कमाए खुट्टा ?


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खनाललाई कारबाही गर्न खुट्टा कमाएपछि छानबिन कमिटीले गरेको सिफारिस अन्योलमा परेको छ । राखेपका वरिष्ठ अधिकृत कमल खनालको नियुक्ति किर्ते भएको समाचार प्रकाशित भएपछि राखेपले छानबिन समिति गठन गरेको थियो । पाँच सदस्यीय छानबिन समितिको अध्यक्ष राखेपका सदस्य देवकुमार अधिकारी (बद्री) थिए । उक्त समितिले गत महिना खनालको विषयमा छानबिन गरी राखेपमा प्रतिवेदन बुझाएको थियो । यसपछि राखेपले खनाललाई १५ दिनको सफाइको मौकासमेत दिएको थियो । अहिले राखेपले दिएको उक्त म्याद सकिएको एक साताभन्दा बढी भइसकेको छ ।

प्राप्त जानकारीअनुसार छानबिन समितिले राखेपमा पेस गरेको प्रतिवेदनमा कमल खनालको नियुक्ति शतप्रतिशत किर्ते भएको खुलासा भएको छ । त्यसैको आधारमा खेलकुदका कर्मचारीहरूले कमल खनाललाई कारबाही गर्न सदस्यसचिव विष्टलाई दबाब दिए पनि विष्टले खनाललाई कारबाही गर्नेतर्फ कुनै पहलकदमी नगर्नु शङ्काको घेरामा परेको छ । कारबाहीका लागि आफैँ छानबिन समिति बनाउने, तर कारबाही गर्न खुट्टा कमाएपछि यतिबेला खेलकुदमा विष्टको निकै आलोचना भइरहेको छ । यसले गर्दा भविष्यमा पनि विष्टले कारबाहीको प्रक्रियालाई अगाडि बढाउने कुरामा शङ्का गरिन थालिएको छ । स्मरणीय छ, खनालको नियुक्ति किर्ते भएको विधिविज्ञान प्रयोगशालाले समेत प्रमाणित गरिसकेको छ ।

किर्तेको भरमा दुई दशकभन्दा बढी समयदेखि राखेपको जागिर खाइरहेका खनालले राखेपमा द्वितीय श्रेणीमा नियुक्ति लिएका थिए । राखेपको ऐन–नियममा द्वितीय श्रेणीमा नियुक्ति गर्ने कहीँ व्यवस्था छैन । तर, शक्तिको आडमा खनालले राखेपको टिप्पणीमा गैरकानुनी रूपमा आफ्नो नाम घुसाएर अहिलेसम्म जागिर खान सफल भएका छन्, जुन आफैँमा गैरकानुनी भएको कसैबाट छिपेको छैन । जसलाई राखेपद्वारा गठित छानबिन समितिले समेत लालमोहर लगाइसकेको छ ।

यतिबेला किर्ते खनाललाई जोगाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापासहितको टोली ज्यान छोडेर लागेको छ । यसको प्रमाणको रूपमा राखेपले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको सम्मानमा राखेपले आयोजना गरेको स्वागत कार्यक्रममा थापाले गरेको भाषण र प्रदर्शन गरेको हर्कतबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । सो अवसरमा थापाले सञ्चारमाध्यममा आएको समाचारको आधारमा किर्ते गर्ने कमल खनाललाई कारबाही गर्न नमिल्ने बताएका थिए । थापाले सञ्चारकर्मी र सञ्चारमाध्यमको समेत व्यापक आलोचना गरेका थिए । उनी यसरी कुर्लेको देख्दा एक सहायकस्तरका कर्मचारीले यसरी मुख फोरे, ‘सहायकस्तरको प्रशिक्षक, म्याद सकिएको अध्यक्ष र बुथ कमिटीबाटै हारेको व्यक्तिको यत्रो फुर्ती ! अलि हजम भएन, सर… हजमोला छ कि, पाउँ न !’