एनआरएन यूकेमा नयाँ कार्यसमितिको गठन

एनआरएन यूकेमा नयाँ कार्यसमितिको गठन


लण्डन । यही ११ तारिख, लण्डनको अल्पर्टनको एक स्कूलमा गैरआवासीय नेपाली संघ, यूकेको चौंथो वाषिर्क साधारण सभाका साथै नयाँ कार्य समितिको लागि निर्वाचन भएको थियो । विहान दश बजेदेखि नै निर्वाचन शुरु गरिएको सोही स्थानको एक हलमा औपचारिक कार्यक्रम १ बजे दिउँसो सञ्चालन गरिएको थियो । तत्कालका महासचिव भक्त गुरुङबाट सञ्चालन गरिएको सो औपचारिक कार्यक्रमको अध्यक्षता सोही कार्यसमितिका अध्यक्ष सूर्य गुरुङले गरेका थिए भने बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यसहित एनआरएनका केन्द्रीय संरक्षक समितिका सदस्य रामप्रताप थापा, आई.सी.सी. एडभाइजर तथा एनआरएनए यूकेका संरक्षक प्रो.सूर्य सुवेदी, केन्द्रीय कोषाध्यक्ष रामेश्वर शाह, एनआरएन यूरोप संयोजक रि.क्या. हितमान गुरुङ, यूरोप सहसंयोजक रबिन्द्रमान श्रेष्ठ र एनआरएनए यूकेको २०११को निर्वाचन कमिटि प्रमुख डा. राघव धिताल विशेष अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।
नेपालको र बेलायतको राष्ट्रिय गीत बजाइएपछि प्रमुख अतिथि डा. चालिसे र विशेष अतिथि रामप्रताप थापाले संयुक्त रुपमा पानसमा बत्ती बालेर सो कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि नयाँ कार्यसमितिका लागि उठेका व्यक्तिहरुले मञ्चका गएर आआफ्ना परिचय दिएकाथिए । त्यसको लगत्तै मन्तव्यहरुको क्रम शुरु भएको थियो । सदस्य जीव वेल्बासेको स्वागत मन्तव्यपछि सम्पूर्ण संघसंस्थाको प्रतिनिधित्व गर्दै युनाइटेड ब्रिटिश गुर्खा एस्सोसिएसनका अध्यक्ष ज्ञानराज राई, एमाले केन्द्रीय कमिटिका सदस्य कर्ण थापालगायत सबै विशेष अतिथिहरुले शुभकामना मन्तव्यहरु दिएका थिए । एनआरएनएको केन्द्रीय अध्यक्ष देबमान हिराचनको मन्तव्य पत्र पढेर र केन्द्रीय उपाध्यक्ष जिव लामिछानेको रेकर्डेड भीडीयो मन्तव्य देखाएर सुनाइएको पनि थियो । मन्तव्यको क्रममा एमालेका केन्द्रीय सदस्य कर्ण थापाले एकपटकको नेपाली संधैको नेपाली भन्ने नारा अत्यन्तै सान्दर्भिक भएको, दोहोरो नागरिकताको मागको तुलनामा र त्यसको लागि कुनै पनि बेला आफूले आफ्नो पार्टीको तर्फबाट यस विषयमा लविङ पनि गर्ने जनाएका थिए भने, थापाको सोही भनाइप्रति खुशी व्यक्त त्यसपछिका एनआरएनएका सबै वक्ताहरुले गरेका थिए, तर साथमा एकपटकको नेपाली संधैको नेपाली भन्दै आफूसँग भइरेको नेपाली नागरिकता खारेज नहोस् भन्ने मागले दोस्रो पुस्ताका अर्थात् विदेशमा जन्मेर त्यहाँका नागरिक भइसकेका नेपाली सन्तानहरुले भने नेपाली नागरिकता आफ्ना बाबाआमाको तर्फबाट लिन नमिल्ने देखिएकोले दोहोरो नागरिकताको माग नै यो सन्दर्भमा जायज रहेको बताउनेहरुमा रामप्रताप थापा, हितमान गुरुङ । प्रोफेसर सूर्य सुवेदीले नेपालका गाउँपहाडमा जन्मेर पनि अहिले कतिपय नेपालीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नै आफ्नो दक्ष योग्यताको प्रमाण दिइरहेको सन्दर्भमा त्यस्ता प्रतिभाहरुलाई नेपालसँग जोडी कर्तव्यनिष्ठ बनाउने क्रममा पनि नेपाल सरकारले दोहोरो नागरिकताको व्यवस्ता गर्नै पर्ने आफूलाई लागेको बताएका थिए । १४६ देशमा फैलिएका गैरआवासीय नेपानीहरु हरेक पक्षमा नेपालको श्रोत हुन् र त्यसको उपयोग गर्न नेपाल चुक्नु हुँदैन भन्ने प्रोफेसरको आसय रहेको थियो ।
गाउँबाट शहर पस्नेहरु केही न केही हिसावमा विशेष भएजस्तै विदेशमा पस्नेहरु पनि विशेष हुन्, त्यसैले त्यस्ता विशेष व्यक्तित्वहरुबाट नेपालले कुनै पनि अवसरमा फाइदा प्राप्त गर्न सक्दछ । यो अनुभवको आधारमा मात्र पनि काफी हुन्छ किनकि त्यसरी विशेष भएर आएका नेपालीहरु अनायासै २००० एडभान्स डिभेलप्ड देशमा आएका छन्, सो २००० अत्यधिक विकासको केही अनुभव, शीपलगायतका जाँगरहरु नेपालको मूल विकासमा मूल रुपमा रहने पक्का छ भन्दै राजदूत डा. चालिसेले वेल्सको कार्डिफस्थित संग्राहलयमा देखिएको ढिकी, चाँदो जो यूकेमा लगभग २००० वर्षगाडि प्रचलनमा रहेको भनेर लेखिएको देखेको संस्मरण सुनाउँदै, अहिले त्यही रुपका ढिकी, चाँदोहरु नेपालका प्रायसः सबैजसो गाउँघरहरुमा रहेको सम्झना गरेका थिए । पुरानो कार्यसमितिलाई भङ्ग गर्दै अनि नयाँ कार्यसमिति खडा नहुन्जेल पाँच सदस्यीय तदर्थ समितिको नाम घोषणा गरेर उक्त औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा सभाका अध्यक्ष तथा तत्कालका एनआरएनए यूकेका अध्यक्ष सूर्य गुरुङ मन्तव्यको बेलामा केही भावुक बनेका थिए । आफ्नो दुई वर्षको कार्यकालमा बीसवटाभन्दा बेसी सान्दर्भिक कार्यक्रमहरु गरेको, विविभ अवसरमा संस्थाका तर्फबाट सामाजिक सहयोगहरु गरेको आदि जस्ता प्रसङ्गहरुको चर्चा गर्दै गुरुङले नयाँ बन्दै गरेको कार्यसमितिको लागि निर्वाचन गर्ने क्रममा ६०२ घण्टा शशूल्क कर्मचारी राखेको, ५२०० फर्स्टक्लास टिकट लगाई पोस्ट गरेको र त्यसरी लगभग ३१०० मतदाताहरुमा निर्वाचन स्थलमा आई भोट हाल्ने पाँचसयबाहेक बाँकीबाट पोस्टिङ भोटहरु २०२० आइपुगेको तथ्यहरुलाई सफलता मान्दै पारदर्शी नीति आफ्नो कार्यसमितिले लिएको र्सगर्व मन्तव्यको अन्त्यमा बताएका थिए ।
संयोजकहरुको टोली रामप्रताप थापा, रामेश्वर शाह, क्या.हितमान गुरुङ, रविन्द्रमान श्रेष्ठ र चिरन्जीवी ढकालबाट पूर्व भइसकेका कार्यसमितिका कोषाध्यक्ष थर्क सेनको आर्थिक प्रतिवेदन, महासचिव भक्त गुरुङको संयोजकीय प्रतिवेदन र अध्यक्ष सूर्य गुरुङको संस्थापन कार्यगत प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो चरणमा क्या. हितमान गुरुङ, रामेश्वर शाह र रामप्रताप थापाले गैरआवासीय नेपाली संघ, निर्वाचन, ग्लोबल कन्फेरेन्स आदिका बारेमा चर्चाहरु मन्तव्यको क्रममा गरेका थिए ।
उक्त हलबाहिर चुनावहरु भइरहेका थिए । पाँच बजे समाप्त हुने भनिएको सो निर्वाचनको समय पन्ध्र मिनेट बढाइएको थियो । हलबाहिर दर्जनौं मतदाताहरुले आफूले भोट हाल्न नपाएकोमा आक्रोश व्यक्त गर्दै थिए, जो मुख्य हलभित्र आएर संयोजक समितिका व्यक्तिहरुलगायत निर्वाचन आयोगका मण्डलीहरुसँग जवाफ मागिएको थिए, जसले केही समय सञ्चालन भइरहेको कार्यक्रम नै स्थगित गर्नु परेको थियो । त्यसरी हलबाहिर र भित्र आफूले भोट हाल्न नपाएको गुनासो गर्नेहरुलाई सुनाउँदै चिरन्जीवी ढकालले केही व्यक्तिहरुको नाममा भोट हालिसको नामसहित बताएका थिए भने त्यहीँ नै आफूले नहाली कसले आफ्नो नाममा भोट हालेछ भन्दै रुष्ट हुनेहरुको संख्या पनि बाक्लिँदै थियो । नयाँ कार्यसमितिको लागि अध्यक्ष पदको लागि प्रत्यासी रहेका सूर्य नेम्वाङ्गले आफ्नो नाम मतदाता नामावलीमा नरहेकोमा आफ्नो प्रतिस्पर्धी कूल आचार्य जो पूर्व कार्यसमितिमा उपाध्यक्ष थिए लाई भेटेर….”तपाईँले मलाई चिन्नुहुन्छ, होइन ? म तपाईँको प्रतिस्पर्धी भएर यस चुनावमा उठेको छु, तर मेरो आफ्नो नाम नै भोटर लिस्टमा किन छैन ?”..भनी सोधेका थिए र बाहिरको भीडमा …”अब यहाँ टाउको फोडिन सक्छ है,मलाई कसैले हेलमेट जुटाइदेऊ”…भन्दै हिँडेका देखिएका थिए । त्यसरी भोट हाल्न नपाउनेहरुमध्ये आफूलाई एक क्षेत्रकी महिला अध्यक्ष बताउने एक महिलाले भोट हाल्न पाउने आफ्नो अधिकार हनन भएको आरोप लगाएकी थिईन् भने अर्का शिव भण्डारीले मञ्चनजिक गई आफूलाई माइकबाट बोल्न दिइनुपर्छ भन्ने माग राखेका थिए तर उनलाई त्यसरी बोल्न दिइएको थिएन र उनले निर्वाचनको परिणामलाई रोकिने भन्दै हलबाहिर लविङ गर्दै थिए । सोही हलमा केही बुद्धिजीवीहरु …”यो समाजिक संस्था हो, नेपालको कुनै सरकारी संस्था होइन । न एनआरएनएले नेपालका लागि केही गर्न सकेका छन्, न यहाँका नेपालीका लागि नै केही गर्न सकेका छन् । विभिन्न संघसंस्थाका कार्यक्रमहरुमा अतिथिको विल्ला लगाएर आसन ग्रहण गर्ने अनि ग्लोबल कन्फेरेन्समा गमक्क परेर नेपाल पुगी नेपाली नेताहरुका साथमा लञ्च तथा डिनर गर्नेभन्दा यिनका केही ध्येय नै छैन । बेकारमा भोट हाल्न पाउनू, नपाउनूको गुनासो गर्दैछन्, आखिरमा जता भए पनि नेपाली आम जनताहरु भनेका भेँडा नै हुन् ।”…कालो कोट लगाउने सभ्रान्त देखिने केदार थापा त्यसपछि बाहिरिएका थिए ।
मतदाताहरुको साथै कार्यक्रममा सहभागिता राख्नेहरुका राम्रो उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा नयाँ कार्यसमितिको अध्यक्षमा पूर्व उपाध्यक्ष कूल आचार्य १६८२ मत ल्याएर बिजयी भएका छन् । उनको प्रतिस्पर्धी रहेका सूर्य नेम्वाङले ४२७ मत ल्याएका थिए । आफ्नोबाहेक सिर्फ एक मत मात्र अतिरिक्त पाए आफ्नो जीत भएको मान्ने नेम्वाङले निर्वाचनअगाडि नै एक अन्तरवार्ताको क्रममा मेरो यूके डट कमलाई एनआरएनएको यस निर्वाचनमा व्यापक मात्रामा पैसाको खेल भएको बताएका थिए, जो अत्यन्तै निराधार भएको भन्दै खण्डन उनका प्रतिस्पर्धी कूल आचार्यले सोही क्रममा गरिसकेका थिए । त्यस्तै महासचिवको लागि भएको चुनावमा रामशरण सिम्खंडाले १५३२ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी राजकुमार त्रिपाठीले ६६१ मत ल्याएका थिए । उपाध्यक्षमा दुबैजना अर्थात् महेन्द्र कंडेल र थर्क सेन तथा कोषाध्यक्षमा दिलराज गुरुङ पहिले नै निर्विरोध चुनिएका थिए भने सहसंयोजकमा शुष्मा लिम्बू तथा सदस्यहरुमा बसुन्धरा राई, दशुराम पाण्डे, एकबहादुर पुन, गणेश बहादुर गुरुङ, कृष्णप्रसाद तिमिल्सिना, राजकुमार क्षेत्री, रमेश बास्तोला, सँगिता मरहट्टा र शान्ती थापा विजयी भएका छन् ।
-मेरो यूके न्युज डेस्क, बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्