पुरुषत्वमा आएको कमीले मानवजातिकै अस्तित्व खतरामा

पुरुषत्वमा आएको कमीले मानवजातिकै अस्तित्व खतरामा


पुरुषहरूमा शुक्राणुको सङ्ख्या (स्पर्म काउन्ट) कम हुने हालको गति जारी रहे यसले एकदिन पृथ्वीबाट मानव जातिको अस्तित्व नै मेटाइदिने खतरा पैदा भएको छ । करिव दुई सय विभिन्न अध्ययनले देखाएको नतिजापछि अनुसन्धानकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् ।

शोधकर्ताहरूको भनाई छ कि उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया, न्युजील्याण्डका पुरुषहरूमा बितेको चार दशकमा शुक्राणुको सङ्ख्या घटेर पहिलेको तुलनामा आधा हुन पुगेको छ ।

मनुष्यको प्रजनन प्रक्रियाबारे आएको यस प्रतिवेदनमाथि कतिपय विशेषज्ञले सन्देह जनाएपछि उक्त अनुसन्धान कार्यको अगुवाई गरेका डा. हगाई लेविनले शोधको नतिजाले आफूलाई अत्यन्त चिन्तित बनाएको र आगामी समयमा मानिस जन्मने क्रम घट्दै गई अन्ततः अस्तित्व नै खतरामा पर्ने सम्भावना प्रचुर रहेको बताएर सनसनी मच्चाइदिएका छन् ।

डा. लेविनले यदि मानिसले जिउने कला या जीवनशैली परिवर्तन नगरे भविष्यमा के होला भन्नेमा आफू निकै चिन्तामा परेको उल्लेख गर्दै अप्राकृतिक खानपान र जीवनशैलीका कारण पुरुषमा शुक्राणु क्षयीकरणको समस्या बढेको बताएका छन् ।

तथापि, डा. लेविनको अनुसन्धान उत्तरी अमेरिका, युरोप, अष्ट्रेलिया र न्युजील्याण्डका पुरुषमाथि केन्द्रित रहेको र दक्षिण अमेरिका, एशिया र अफ्रिकाका पुरुषमा शुक्राणु कम हुने समस्या नदेखिएको भन्दै अर्काथरि वैज्ञानिकहरूले सन्तोष प्रकट गरेका छन् । यसको जवाफस्वरुप डा. लेविनले चाहिँ अहिले समस्या नदेखिएको स्थानका पुरुषहरूमा पनि ढिलो–चाँडो समस्या पैदा हुने सम्भावना प्रचुर रहेको औंल्याएका छन् । (एजेन्सीहरू)

तस्बिर : गुगल