परिवर्तनको अप्ठ्यारो मोडमा नेपाली काङ्ग्रेस

परिवर्तनको अप्ठ्यारो मोडमा नेपाली काङ्ग्रेस


-माधवप्रसाद श्रेष्ठ
काङ्ग्रेस भनेको अङ्गे्रजी शब्द भए पनि बारम्बारको प्रयोगले यसको नेपालीकरण भइसकेको छ । सङ्घ-संस्थाहरूसँग सम्बद्ध मानिसहरू भेला भई महत्त्वपूर्ण निर्णय गर्ने र खासगरी अमेरिकामा राज्यका प्रतिनिधिहरू समूहगत रूपमा छलफल गरी कानुन बनाउने निकायलाई काङ्ग्रेस भनिन्छ । नेपाली काङ्ग्रेस नेपालमा र भारतीय काङ्ग्रेसको नामकरण भारतमा यसै आधारमा भएको देखिन्छ । आउने असोज १ देखि ५ गतेसम्म हुन लागिरहेको नेपाली काङ्ग्रेसको भेलाले आफ्नो दलको नेतृत्वको चयन र नीति, सिद्धान्त तथा कार्यक्रमको सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने हुँदा यो बाह्रौं महाधिवेशनलाई समेत ‘काङ्ग्रेस’ भन्न सकिन्छ ।
हाम्रो मुलुकमा जहानियाँ राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी रहेको हाल अस्तित्वविहीन प्रजापरिषद्सँग सम्बद्ध शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल तथा दशरथ चन्दजस्ता होनहार युवाले आफ्नो अमूल्य जीवन मातृभूमिको स्वतन्त्रताका लागि उर्त्र्सग गरेको रगतले लतपत भएको सुनौलो इतिहास छ । नेपाली राष्ट्रिय काङ्ग्रेस र प्रजातान्त्रिक काङ्ग्रेससमेत दुवैलाई मिलाएर कलकत्तामा २००६ साल चैत २० मा नेपाली काङ्ग्रेसको जन्म भएपछि प्रजापरिषद्को सहादतलाई आत्मसात् गर्दै २००७ सालको मुक्ति सङ्ग्राममा अनन्य देशभक्तहरू बलिवेदीमा चढी नेपाली काङ्ग्रेसको नेतृत्वमा प्रजातन्त्रको उदय भएको हो । त्यसैले यो दललाई प्रजातन्त्रको संवाहकको रूपमा जनताले जान्दछन् ।
हाम्रो देशमा राजा-महाराजाहरूले राज्यको वागडोर आफ्नो हातमा लिई सञ्चालन गर्दा जनता अधिकारविहीन र निरीह थिए । त्यसबेला जनतालाई राजाका रैती र प्रजा भनिन्थ्यो । अब, यसको अर्थ बदलिएर निरीह जनता अधिकारसम्पन्न जनार्दन बनेका छन् । संयुक्त अधिराज्यमा तल्लो सदनलाई ‘हाउस अफ कमन्स’ र भारतमा लोकसभा भनिँदा ‘कमन्स’ र ‘लोक’ शब्द पनि प्रजातन्त्रको पर्यायवाची बनेको छ । खोजतलास गर्ने हो भने प्रजातन्त्रको विभिन्न परिभाषाहरू भेटिन्छन् ।
प्रजातन्त्र भनेको जनताद्वारा जनतामाथि जनताकै निम्ति गरिने शासन-प्रणाली हो भन्ने अमेरिकन १६औँ राष्ट्रपति अब्राहम लिङ्कनको परिभाषालाई सर्वोत्तम मानिएको छ । नेपाली काङ्ग्रेसलगायत नेपालका सम्पूर्ण राजनीतिक दलले यसै भावनाअनुरूप राष्ट्र र जनहितका लागि निरन्तर कार्य गर्न वाञ्छनीय देखिन्छ ।
नेपालका लोकप्रिय जननेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाले ३०३ राइफलधारी पाँच सयजति मात्र युवा दल उपलब्ध भएको भए यहाँका शासकहरूले हालिमुहाली गर्न पाउने थिएनन् भनी भन्नुभएको रहेछ । बीपीको यो भनाइ २०१७ साल पुस १ गते शिशु प्रजातन्त्रको हत्यापछि २०१८ सालमा पञ्चायत व्यवस्थाको विरुद्धमा नेपाली काङ्ग्रेसद्वारा सञ्चालित सशस्त्र आन्दोलनसमेतलाई दृष्टिगत गरी भन्नुभएको थियो भनी अनुमान गर्न गाह्रो पर्दैन । विभिन्न कालखण्डमा नेपाली काङ्ग्रेसका स्व. वीर गणशमान सिंह, स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुवर्णशमशेर जबरा तथा अन्य नेताहरूले देशमा सङ्कट आइपरेको घडीमा जनआन्दोलनहरूको नेतृत्वदायी भूमिका र अन्य योगदानहरूलाई पनि राष्ट्रले बिर्सन हुँदैन ।
नेपाली काङ्ग्रेसको अग्रसरता देशको स्वतन्त्रताका लागि मात्र नभएर दिगो विकास र परिवर्तनका लागि आवश्यक राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य तथा अन्य क्षेत्रहरूमा पनि रहेको छ । २०१६ सालमा आफ्नै पहिलो जननिर्वाचित सरकारद्वारा ऐनको तर्जुमा गरी सहकारी आन्दोलनको सूत्रपात, गुठी उन्मूलन, क्रान्तिकारी भूमिसुधार र रजौटा उन्मूलनजस्ता उल्लेखनीय र लोकप्रिय कार्यक्रमहरू काङ्ग्रेसकै हो ।
मुलुकका राजनीतिक दलहरू गरिमामय प्रधानमन्त्री पदको निर्वाचनको हतारोमा परेका छन् । नेपाली काङ्ग्रेस भने आफ्नै प्रत्याशीलाई निर्वाचनमा विजय गराउने र काङ्ग्रेस नेतृत्व चयनलगायत नीति र कार्यक्रम बनाई महाधिवेशन सम्पन्न गर्ने दोहोरो चटारोमा परेको छ । बाह्रौं ‘काङ्ग्रेस’ अथवा महाधिवेशनको तयारीको क्रममा अधिराज्यभर व्यापक जनसहभागिता जुर्टाई गाउँ, नगर, जिल्ला तथा क्षेत्रहरूमा भएका मिनी अधिवेशनहरू सम्पन्न भई निर्वाचन परिणाम आउने कार्य करिब-करिब समाप्त हुँदासम्म पनि नेपाली काङ्ग्रेसलगायत राजनीतिक क्षेत्रमा मात्र नभई समुच्चा जनमानसमा हलचल, उत्साह, उमङ्ग र जागरण उत्पन्न भएको छ । ४० प्रतिशतभन्दा बढी युवा निर्वाचित भई आउनुलाई केवल संयोग मात्र नभई यथास्थितिवादी र बूढाहरूको पार्टी भनी अरूले दोषारोपण गर्ने गरेका समावेशी चरित्रको ऐतिहासिक जेठो काङ्ग्रेसमा अब थप ऊर्जा प्राप्त भई तन्नेरीहरूको दल बन्नेमा कुनै शङ्का गरिरहनुपर्ने ठाउँ रहन गएको देखिँदैन ।
‘गिरिजा नै काङ्ग्रेस र काङ्ग्रेस नै गिरिजा’ भन्ने अवस्थादेखि एकल नेतृत्वद्वारा हाँकिएको नेपाली काङ्ग्रेस गिरिजाबाबु जीवित र जीवन्त रहनुहुँदाको समयमै नेपाली काङ्ग्रेसमा पार्टीलाई सामूहिक नेतृत्वको थालनी गर्ने अभ्यास सुरु भइसकेको हो । अब, यो आउने अधिवेशनमा त्रिपक्षीय भिडन्तको नतिजा कस्तो आउने हो । हार्नेहरूको प्रतिस्थापन, व्यवस्थापन हुन नसके नेकपा एमालेमा विग्रह पैदा गरेजस्तो प्रतिक्रया लिएर काङ्ग्रेसको उठिबास गराउन सक्ने कुरामा शीर्षस्थ नेतृत्व वर्ग युवाहरूसहितले समय रहँदै सचेत हुन आवश्यक छ ।
नेपालमा मात्र होइन भारतमा पनि निर्वाचनको समयमा राजनीतिक घरानाको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ । संविधानसभा प्रत्यक्षतर्फको निर्वाचनमा ‘बीपीपुत्र- शशांक कोइराला, गणेशमान पुत्र- प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधि पुत्र- विमलेन्द्र निधि’ समेत आ-आफ्ना स्वर्गीय पिताश्रीहरूको आशीर्वाद र गुडविलको उपयोग गर्दै आ-आफ्ना कुशल नेतृत्व क्षमताको परीक्षणका साथ विजयी हुनुभएको हो । यो आन्तरिक निर्वाचनको दङ्गालमा उहाँहरूको पनि पुनः परीक्षा हुनेछ । नेपाली काङ्ग्रेस विचार र दृष्टिकोणले अत्यन्त सम्पन्न र परिपक्व ऐतिहासिक राजनीतिक दल हो । यसले धनी, मध्यम वर्ग तथा गरीव जनतासमेतको प्रतिनिधित्व गर्छ । यस दलका लोकप्रिय जननेता स्वर्गीय विशेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादी धारणालाई समयसापेक्ष रुपमा सुधार गरी लागू गर्न अति जरुरी छ ।
राजनीतिमा कोही पनि स्थायी रूपमा शत्रु हुँदैन । ‘शत्रु मित्र र मित्र शत्रु’ बन्ने सम्भावना सधैं रहन्छ । यो आन्तरिक निर्वाचनमा पनि यही नीति लागू हुन्छ । धर्म भनेको व्यक्ति तथा समाजको आस्थामा भरपर्ने कुरा हो । जो कोही पनि छोटो बाटो समातेर आफ्नो मुक्ति चाहन्छन् । यसलाई स्वतः सञ्चालन हुन दिन मार्ग प्रशस्त गर्नु आवश्यक छ । आफ्नो ठम्याइमा धर्म निरपेक्षता धार्मिक स्वाधीनताको सही मार्ग हो । यो संवेदनशील विषयमा विवाद गरिरहनु उचित हुने छैन । कार्यकर्ताहरू नेता समर्थक मात्र नभई, विभिन्न गुट-उपगुट नबनाई, काङ्ग्रेसमुखी भई यो प्रजातान्त्रिक स्वस्थ प्रतिस्पर्धामा भाग लिई क्षमतावान र सशक्त केन्द्रीय नेतृत्वको छनोट हुनुपर्छ । मुलुकमा यो अधिवेशनबाट राम्रा-राम्रा नीति तथा कार्यक्रम आओस् । सामूहिक नेतृत्वको माध्यमबाट यो दोस्रो पुस्ताले आफ्नो सही गन्तव्यको खोजी गर्नुपर्छ । यसैमा काङ्ग्रेसको भविष्य सुरक्षित रहनेछ ।