किन यस्तो भयो तिज ? -बबिता बस्नेत

किन यस्तो भयो तिज ? -बबिता बस्नेत


नेपाली महिलाको चाड तिजको रमझमले केही समयदेखि पूरै मुलुक रङ्गीन भएको छ । भलै अधिकांश महिला आफ्नो व्यक्तिगत जिन्दगीमा रङ्गीनको ठीक उल्टो संसार बाँचिरहेका किन नहुन् । यो देखावटी दुनियाँ हो, एउटाले गरेपछि अर्कोले गर्नैपर्ने, मन खुसी होस् या नहोस् बाहिर मुस्कुराउनैपर्ने । तिजमा हुने महिलाको चहलपहलमा पनि केही हदसम्म यस्तै प्रकारको वास्तविकता लुकेको पाइन्छ । ‘जिन्दगीमा लानु के छ र केही क्षण भए पनि रमाइलो गरौँ न भनेर कार्यक्रमको आयोजना गरिएको हो’ तिज कार्यक्रमका आयोजकहरू प्रायः यसै भन्ने गर्छन् । संस्कृतिलाई निरन्तरता दिन या यसको जगेर्ना गर्न भन्नेहरूको सङ्ख्या पनि ठूलो छ । तिज भड्किलो बन्दै गएको चर्चा पनि यो वर्ष राम्रैसँग चलेको छ । विगतमा एक दिन खाइने दर एक महिना अघिदेखि खान थालिएपछि र तिजको ब्रतको दिन एक दिन नाचिने नाच धेरै अगाडिदेखि नाच्न थालेपछि तिज भड्किलो देखिनु स्वाभाविकै हो । कुनै जमाना थियो, महिला माइत जान तिज पर्खिएर बस्थे र आफ्ना दुःखसुख बाँड्ने पर्वका रूपमा तिजलाई प्रयोग गर्थे । माइतमा दरखाने र चौतारामा धितमरुञ्जेल नाच्ने-गाउने तिजको विशेषता थियो । टाढा माइती भएका या माइती नभएका महिला घरमै तिज मनाउँथे र माइत जान नपाएको पीडा गीतमार्फ पोख्थे । यो त्यो जमानाको कुरा हो जतिबेला महिलाको संसार घर, भात-भान्सा, घाँस-दाउरा र मेलापातमा सीमित थियो । समय पनि अहिलेजस्तो थिएन, शिक्षा, बाटोघाटो, यातायात केही पनि अहिलेजस्तो थिएन । पुरुष र महिलाको अवस्थाबीचको भिन्नता यति धेरै थियो कि पुरुषहरू विवाह भएको लामो समय बितिसक्दा पनि श्रीमतीको मुखमा हेरेर बोल्दैनथे, महिलाले हेर्ने त झन कुरै भएन । बच्चा जन्मिएको छ महिनापछि मात्रै बाबुहरूले बच्चालाई छुने गरेको भनाइ हाम्रा हजुरआमाहरूको छ । त्यसभन्दा अघिको पुस्तामा झन् कस्तो चलन थियो होला अनुमान गर्न सकिन्छ । खान्दानी परिवारमा विवाह भएका बुहारीहरूले भुसको ढिँडो खाएर काम गर्नुपरेको भन्नेसम्म सुनिएको हो । बुहारीलाई घरको सदस्यका रूपमा नभएर काम गर्ने कुमारीका रूपमा भित्र्याउने चलनका कारण पनि उनीहरूमाथिको थिचोमिचो कतिसम्म अन्यायपूर्ण थियो भनेर अन्दाज गर्न सकिन्छ । त्यस्तो बेलामा बुहारीहरूको जीवनलाई अगाडि बढाउने एक मात्र सहारा माइत जान पाउने आशा हुने गथ्र्यो ।
अहिले समय परिवर्तित भएको छ, समयसँगसँगै महिलाको हैसियत र उनीहरूलाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन आएको छ, हरेक क्षेत्रमा महिला अगाडि बढ्नेक्रममा छन् । शिक्षा, स्वास्थ्य, परराष्ट्र, सञ्चार, राजनीतिलगायत सबै क्षेत्रमा महिलाको प्रवेशले उनीहरूको संसारलाई फराकिलो बनाउँदै लगेको छ, यद्यपि महिलाको क्षितिजलाई अझ व्यापक बनाउन आवश्यक छ । महिलाहरूमा बढेको चेतनाको स्तर, प्राप्त अवसर, निर्वाह गरिरहेका फरक भूमिका आदिका कारण चाडबाड र संस्कृतिलाई हेर्ने दृष्टिकोणमा फरकपन आउनुलाई त्यति धेरै अस्वाभाविक मान्नु हँुदैन । अहिले नै पनि महिला फरक-फरक भूमिकामा छन् । खेतिपाती गर्ने कृषक महिला र अस्पतालमा काम गर्ने डाक्टर महिलाको दिनचर्या मात्रै फरक हुँदैन, उनीहरूको जीवनशैली, व्यवहारलगायतका कुराहरू पनि त्यत्तिकै भिन्न हुन्छन् । यो पुरुषहरूमा पनि लागू हुने कुरा हो । उनीहरूले लगाउने पोसाक, खानपानको तौरतरिका निश्चय नै फरक हुन्छ । व्यावसायिक महिलाले गाउने गीत र गृहणीले गाउने गीत फरक हुनु स्वाभाविक नै हो । पढ्न नपाएका महिलाको सङ्ख्या अहिले पनि धेरै छ, उनीहरूले तिजका गीतमार्फ पढ्न नपाएको गुनासो गर्लान्, काम गर्ने वातावरण राम्रो नहँुदा कार्यालयमा भेदभावको सिकार भइरहेका कामकाजी महिलाले गीतमार्फ त्यस्तै कुरा व्यक्त गर्लान्, त्यसैले समयको परिवर्तनसँगै सांस्कृतिक पर्वहरूमा पनि परिवर्तन आइरहेको छ, आउँछ ।
क्षेत्री महिला समाजले मनाएको तिजलाई यस वर्ष निकै तडकभडक र खर्चिलोको संज्ञा दिएको पाइयो । आफू प्रत्यक्ष सहभागी नभएका कारणले कस्तो थियो यसै भन्न सकिएन तर केही मिडियाले भने यसैगरी प्रस्तुत गरे, चन्दा उठाएर तिज मनाएको कुराले निकै स्थान पायो । वास्तवमा यो मुलुकमा जब जातजातिको मुद्दा उठ्यो त्यसपछि क्षेत्री ब्राह्मणहरू पनि आफ्नो संस्कृतिको संरक्षणका बारेमा अलिकति सचेत भएको पाइएको छ । अन्य विभिन्न जातजातिहरूले पनि आफ्ना चाडपर्वमा र्‍याली निकाल्दा होस् या भोज गर्दा एक-अर्काबीच सहयोग जुटाएर नै गर्ने गरिएको छ । अझ आदिवासी जनजाति दिवसहरूका लागि त राष्ट्रिय रूपमा मात्रै होइन दातृसंस्थामार्फ अन्तर्रराट्रय रूपमा सहयोग जुटाइन्छ । यो मुलुकमा जे-जति कार्यक्रमहरू हुन्छन् ती व्यक्तिगत रूपबाट गरिएका हुँदैनन्, सहयोग जुटाएरै गरिन्छन्, राजनीतिक दलका अधिवेशन महाधिवेशनदेखि लिएर पत्रकार महासङ्घका महाधिवेशनसम्म सहयोग र चन्दाबाटै गरिन्छ । त्यसैले तिजमा क्षेत्री महिलाहरूले सहयोग जुटाएर भेटघाट गरे भनी त्यति ठूलो मुद्दा बनाएर धुनधान आलोचना गर्नुको खासै अर्थ देखिँदैन । यद्यपि यसप्रकारका सङ्गठनहरू खानपिन र नाचगानका कार्यक्रमहरूमा मात्रै सीमित नभएर सामाजिक रूपान्तरणका कार्यमा पनि त्यत्तिकै सक्रिय हुनु आवश्यक छ । अहिले पार्टीपिच्छेका महिला सङ्गठनहरूले छुट्टै, स्कुल-कलेजहरूले छुट्टै, टोलमा भएका संस्थाहरूले आफ्नै, व्यावसायिक सङ्घ-संस्थाहरूले आ-आफ्नै आयोजनामा छुट्टाछुट्टै कार्यक्रम गरेर तिज मनाउने गरेका कारण यो असाध्यै लामो पर्वझैं पनि भएको छ । दशैं, तिहारजस्ता चाडहरूको निश्चित समय भए पनि तिजचाहिँ जहिलेदेखि मनाए पनि हुन्छ भनेझैं गरेर मनाइन थालिएकोले पनि यसको तडकभडक बढेको हो । होस् कि नहोस् तिलहरी लाउनैपर्ने, सुनका गहनाले झरिझट्ट हुनैपर्नेजस्ता विकृतिहरूबाट भने यो चाडले अब मुक्ति पाउनैपर्छ । पोसाक र गहना प्रदर्शन होइन दुःख भुल्ने, मनोरञ्जन लिने र परिवर्तनका लागि दबाब दिने पर्वका रूपमा तिज अघि बढ्नुपर्छ । हिजो बुहारीहरूका एक खालका दुःखहरू थिए होलान्, आज विभिन्न पेसा र व्यवसायमा भएका महिलाका अर्कै प्रकारका तनावहरू छन् । बिहान-बेलुकाको दौडधुप र अनेक प्रकारका मानसिक/भावनात्मक तनावबीच विभिन्न पेसा र व्यवसायमा रहेका महिलाले घर र कार्यालय धानिरहेका छन् । पुरुषहरूका झैं महिलाका अनौपचारिक सत्रहरू हुँदैनन्, बेलुकाको चिसो चियामा रमाएर पुरुषहरूले -सबैले होइन) आफूहरूलाई ‘पेस’ बनाइरहँदा महिलाहरू भान्सा सम्हालिरहेका हुन्छन्, चाहे ती व्यावसायिक महिला हुन् या गृहणी, तिज महिलाहरूका निम्ति वर्षभरिलाई ‘पेस’ हुने चाड पनि हो । त्यसैले तिजलाई भड्किलो र खर्चिलोभन्दा सिर्जनशील, मनोरञ्जनपूर्ण र परिवर्तनका लागि आवाज उठाउने विशेष समयका रूपमा प्रयोग गरौँ ।