म एउटा निमित्त मात्र हुँ-प्रा डा. गोविन्दराज भट्टराई

म एउटा निमित्त मात्र हुँ-प्रा डा. गोविन्दराज भट्टराई


प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य साहित्यकार तथा प्राध्यपक डा. गोविन्दराज भट्टराई बेलायत आएका अवसरमा काङमाङ नरेशले लिएका अन्तरवार्ताको सारसंक्षेप ।

प्र. तपाई बेलायत आउनुको मुख्य उद्देश्य के हो ?
उ. म बेलायत आउनुको मुख्य उद्देश्य अ.ने.सा.स.ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा अतिथिको रुपमा एउटा कार्यपत्र प्रस्तुत गर्दै सहभागी हुन आएको हुँ ।
प्र. अरु कुनै कार्यक्रम पनि छ कि ?
उ. अन्य कार्यक्रमहरु पनि छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गर्ने साहित्यिक अन्तरक्रिया कार्यक्रममा मेरो सहभागिता हुने छ । त्यस्तै फ्रान्समा एउटा कार्यक्रम छ, त्यसमा मेरो सहभागिता हुने छ र अन्य व्याक्तिगत भेटघाटहरु पनि छन् ।
प्र. तपाई नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुहुन्छ । अहिले नेपाली साहित्यको स्थिति कस्तो छ ?
उ. नेपाली साहित्यको स्थिति विगतको तुलनामा अत्यन्तै उच्च रहेको छ । सबै विधामा शीर्ष लेखनहरु भइरहेका छन् । सम्भावनाको स्थिति पनि धेरै राम्रो छ । धेरै स्रष्टाहरु जन्मिएका कारणले पनि धेरै उत्साहजनक स्थिति छ ।
प्र. नेपाली साहित्यकारहरुको आर्थिक पक्ष कस्तो छ ? के अब लेखेर बाँच्न सक्छन् लेखकहरु ?
उ. अहिलेको समयमा राम्रो लेख्न सक्ने स्रष्टाहरुले लेखनबाटै आफ्नो जीविकोपार्जन गर्ने स्थिति आएको छ । शिक्षित वर्गहरु भर्खरै बढ्दै गरेको मुलुकमा यो सकारात्मक भन्नु पर्छ ।
प्र. तपाईको विचारमा कति प्रतिशत नेपालीहरुले किनेर पुस्तक पढ्छन् होला ?
उ. तपाईले वास्तवमा ज्यादै महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामीले यसको तथ्यांक राखेका छैनौं तर पनि के बुझ्न सकिन्छ भने एउटा कृतिको राम्रो सम्पादन गरेर हरेक कौशल पूरा गरी निकालेको कृति छ भने एक वर्षमा एक संस्करण थपिँदै गएको छ । उपन्यास, संस्मरण, कथा, नियात्रा, जीवनी जस्ता कृतिहरु धेरै विक्री हुन थालेको छ । एक कृति बराबर ५० देखि ६० हजारले पढिरहेका छन् । त्यसैले पनि नेपालीहरुले पुस्तक किनेर पढ्ने बानी बढिरहेको बुझ्न सकिन्छ ।
प्र. उत्तर आधुनिकवाद अथवा पोष्ट मोर्डनिज्म नेपाली साहित्यमा ल्याउने मध्यको तपाई पनि एक हुनु हुन्छ, यसले नेपाली साहित्यमा कास्तो महत्व र प्रभाव राखेको छ ?
उ. अघिको नेपाली साहित्य राजनीति विभाजनभित्र पर्ने मात्र हुन्थो । उत्तर आधुनिकताको धारणा विश्वब्यापी भएको र त्यो धारणा प्रवेश गराइसकेपछि हामीलाई धेरै विभाजन गर्न सजिलो भयो । जस्तो कि, तपाईको लेखन प्रयोगमा के छ ? अथवा पारम्परित शैलीमा सुन्दरता आउँछ कि ? तपाईको लेखनमा युद्ध क्षेत्रबाट आएको युद्ध साहित्य अथवा सैन्य साहित्य छ कि ? तपाईको लेखनमा डायस्पोरिक समुदायको पृष्ठ भूमिमा लेखिएको छ कि ? तपाईको लेखन साइवर जगतको नजिकवाट इलेक्ट्रोनिक छेउछाउ हुने गरी लेखिएको छ कि ? हरेक दृष्टिकोणहरुबाट पो लेखिएको छ कि ? जीवन अनेक दृष्टिकोणको भएकोले गर्दा धेरै दृष्टिको मान्छेहरुको बसाइ हुने गरेको यो धरातलमा धेरै धेरै हाँगाहरु लेख्ने जीवनको सम्भावनाहरु उत्तर आधुनिकताले खोलिदियो । यो वहुलतामा, विविधतापूर्णका जीवन हुन्छ भन्ने मान्यताहरु स्थापना गरिदियो । त्यस्तै इथ्निक समूहबाट लेखिएने साहित्यको अर्कै सोन्दर्य हुन्छ । इथ्निक अध्ययनले यसको हेरचाह गर्दछ । यस्तो विभिन्न किसिमबाट साहित्यलाई केलाउने हाँगाहरु नै उत्तरआधुनिक साहित्य हो । पहिला २ वटा हाँगाहरु थिए अहिले १२ औं १५ औं हाँगाहरु भएका छन् ।
प्र. नेपाली साहित्यमा मकै पर्वदेखि अहिलेसम्म धेरै साहित्यिक आन्दोलन र वादहरु आए, यो हुनु राम्रो हो कि साहित्यलाई केन्द्रिय करण गर्नु राम्रो हो ?
उ. विश्व साहित्य र नेपाली साहित्यलाई हेर्दा यस्ता वाद र आन्दोलनहरु आएनन् भने पलाउन छाडेको वृक्ष जस्तै हुँदो रहेछ । केही पुराना पातहरु हरेक सिजनमा झर्दै जान्छन् नयाँ पातहरु पलाउदै आउँछन् । भाषा साहित्यको, लेखन शैलीको र विचारको एउटा जीवन्तताको निरन्तरताको लक्षण नै नयाँ विचार र नयाँ आन्दोलनहरु थपिँदै जाने कुरो रहेछ । जस्तै हामीले लेखिने भाषामा संस्कृत भाषामा कुनै नयाँ कुरा खोलौं भन्दा पनि नयाँ कुरा खुल्दैन, त्यो वृक्ष सुकिसकेको छ । त्यसैले यो जीवन निरन्तरताको लक्षण हो ।
प्र. डायस्पोरिक नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?
उ. यसको भविष्य अत्यन्तै राम्रो छ । अंग्रेजी र अन्य साहित्यले विश्लेषण गरेको हेर्ने हो भने आफ्नो जन्म भूमिबाट अलग भएर कर्म भूमिमा बसेर पनि अनेक किसिमको साहित्य, संगीत र कलाको सृजना गर्ने धेरै भाषाहरु छन् । झण्डै-झण्डै विश्वको एक चौथाइ जनसंख्या अन्य भूमिमा गई बसेर आफ्नो कला, साहित्य र संगीतको परिचय दिने गरेका छन् । यो एउटा परिचयको कर्म हो । मैले झण्डै २०० पृष्टभन्दा वढी डायस्पोरिक साहित्यको बारेमा डायस्पोरिक साहित्यको पठनपाठनको बारेमा लेखें होला । त्यसलाई त्रि.वि.वि.ले स्वीकार गरिसकेको छ । अहिले डायस्पोरिक साहित्यको सानो युनिट पढाइ भइरहेको छ, जस्तै तपाई र मिजासले सम्पादन गरेको सीमाहीन विम्वहरु, हङ्कङ्का कविताहरु आदि पढाइ भइरहेको अवस्था छ । यो एउटा नेपाली साहित्यको भेराइटी हो । यस्ता कयौं भेराइटीहरु मिलेर मात्र मूल साहित्य बन्दछ । यो समग्र नेपालीहरुको पहिचान हो ।
प्र. गैरआवासीय साहित्य र डायस्पोरिक नेपाली साहित्यमा के भिन्नता छ ?
उ. विश्वमा झण्डै २०० वटा डायस्पोराहरु छन् । त्यहाँ एउटा भारत वर्षमा मात्रै २८, ३० वटा भाषा छन् । ती भाषाले बनाएको भिन्नभिन्नै डायस्पोराहरु छन् । जस्तै नेपाली बेलायती डायस्पोरा, गुजुराती क्यानेडियन डायस्पोरा, केरालाइट अमेरीकी डायस्पोरा, यस्ता डायस्पोराहरु विश्वमा झण्डै २०० वटा छन् । यसमा भाषाको बेग्लै स्वरुप, राजनैतिकको बेग्लै स्वरुप, जीवन चक्रको बेग्लै स्वरुपको अध्ययन भइरहेको छ । यो एउटा हाँगा जस्तो हो । कुनै कुनै फूल, वृक्षमा २, ३ रंगका फूलहरु फुलेका हुन्छन् । फूल र वृक्ष त एउटै हो तर त्योबाट पलाएर फुलेका फूलहरुको रंग अर्कै भए जस्तो यो तेस्रो भिन्न प्रकारको साहित्य हो ।
प्र. तपाईले भूमिका लेख्नु भएको धेरै कृतिहरुले मदन पुरस्कार पाएको छ, तपाईलाई कस्तो लाग्छ, आफुले भूमिका लेखेको कृतिले पुरस्कार पाउँदा तर आफूले नपाउँदा ?
उ. मलाई रमाइलो लाग्छ । मैले भूमिका लेखेको जम्मा ५ वटा कृतिहरुले यसपालिसम्म यो पुस्कार पायो । यसपालिको झमकको जीवन फूल कि काडाँले मदन पुरस्कार पाउँदा म धेरै खुशी भएँ, त्यो खुशी जत्तिको खुशी मैले पाएँ, भने पनि हुन सक्दिनँ होला । म एउटा निमित्त मात्र हुँ । एउटा माली जस्तो मात्र हुँ जस्तो लाग्छ ।
प्र. मदन पुरस्कार त निष्पक्ष दिइँदैन भन्ने हल्ला जहिले पनि चलिरहन्छ, तपाई कस्तो लाग्छ ?
उ. त्यस्तो टिप्पणी म गर्न सक्दिनँ । पुरस्कारको लागि ४०० देखि ५०० प्रत्यासी कृतिहरु हुन्छन्, प्रत्येक वर्ष । सबै कृतिहरु राम्रा नै हुन्छन् तर सबैलाई पुरस्कृत गर्न नसकिने हुन्छ । सकेसम्म कमिटीले निष्पक्ष भएर नै काम गरेको पाएका छौं । यति पुरानो संस्था चुक्न र नझुक्न पर्ने हो । मलाई चाँहि निष्पक्ष नै भए जस्तो लाग्छ ।
प्र. साहित्यमा लाग्नु भएको कति वर्ष भयो ?
उ. २०३१ सालमा मुग्लान भन्ने उपन्यास मेरो पहिलो कृति हो त्यसैले ३७ वर्ष भएछ ।
प्र. यति लामो नेपाली साहित्यमा योग्दान दिनु भयो, मदन पुरस्कार पाउँछु भन्ने लाग्दैन ?
उ. हास्नु हुन्छ । पाउँछु जस्तो त लाग्यो होला तर मेरो कृति अरुको भन्दा कमजोरी होला भन्छु र चुपचाप बस्छु ।
प्र. तपाईको हातमा कतिवटा कृति भूमिकाको लागि स्रष्टाहरुले थमाइदिएका छन् ?
उ. त्यस्तै ४१ वटा जति कृतिहरु थमाइदिएका होलान् ।
प्र. अन्तमा के भन्न चाहानुहुन्छ ?
उ. यहाँ ४ वटा साहित्यिक संस्थाहरु सकृय भएर लागिरहेको रहेछ । सम्भव भएमा ठाउँ-ठाउँमा नेपाली पुस्तकालयहरु खोल्न सके राम्रो हुन्छ । नेपाली बस्तीहरु भएको ठाउँहरुमा नेपाली पठन पाठनको शुरु गर्नसके भविष्यमा नेपालीहरुको लागि राम्रो हुन्छ जस्तो लाग्छ । नेपाली साहित्यलाई अनुवाद गर्न आवश्यक छ, त्यसैले अनुवाद गरेर नेपाली साहित्यलाई विश्वामा चिनाउन आवश्यक छ । तपाई र मिजासले सीमाहीन विम्वको अनुवाद गराउँदै हुनुहुन्छ, हो यस्ता खालका कृतिहरुको अनुवाद गर्न आवश्यक छ । यो कामको शुरुवात गरिसक्नु भएकोले डायस्पोरामा रहेका साहित्यकारहरुले नै यसलाई निरन्तरता दिनुहोस् भन्न चाहान्छु ।
-काङमाङ नरेश