तेक्वान्दो संघल रोक्यो ‘राष्ट्रिय टीम’को प्रशिक्षण

तेक्वान्दो संघल रोक्यो ‘राष्ट्रिय टीम’को प्रशिक्षण


नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङको निर्देशनमा तेक्वान्दोको राष्ट्रिय टीमको प्रशिक्षण रोकिएको छ । गत शुक्रबार अर्थात् साउन २० गतेदेखि रोकिएको राष्ट्रिय तेक्वान्दो टीमको प्रशिक्षण अहिलेसम्म सूचारु हुन सकेको छैन । तत्कालीन मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले गत महिना महासचिव गुरुङविरुद्ध दर्जनौँ आरोप लगाउँदै राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा राखेपले देवकुमार अधिकारी (बद्री)को अध्यक्षतामा ६ सदस्यीय छानविन कमिटी गठन गरेको थियो । छानविनका क्रममा उक्त छानविन कमिटीले महासचिव दीपराज गुरुङलाई पत्राचार गरेपछि गुरुङले आफ्नो शक्ति प्रदर्शन गर्दै तेक्वान्दोको राष्ट्रिय प्रशिक्षण रोकेको जानकारीमा आएको छ । साथै उनले राखेपको विरुद्धमा संघर्ष समितिको गठन गरेको समेत खृुलासमा भएको छ ।

प्राप्त जानकारीका अनुसार राखेपबाट गठित छानविन कमिटीले नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा र दीपराज गुरुङसँग संघको हरेक हिसाव कितावको माग गरेको थाहा हुन आएको छ । जसमा राखेपको मुख्य प्रशिक्षक र अन्य प्रशिक्षक हुँदाहुँदै विश्व तेक्वान्दो च्याम्पियनसिपमा विदेशी कोरियन भोलेन्डियर प्रशिक्षक लगेको, प्रत्येक चार महिनामा अधिराज्यभरि हुने तेक्वान्दोको ग्रेडिङवाट उठेको हालसम्मको लाखौं रकम, विदेशबाट अनुदानमा आएको हजारौं डलर सहितको खर्च विवरण र अटिट रिपोर्टका शिर्षकहरु प्रमुख रुपमा रहेका छन् ।

तर तेक्वान्दो संघ र महासचिव गुरुङले परिषदबाट गठित छानविन समितिको अस्तित्वलाई चुनौंति दिँदै गतसाता छानविन कमिटीको बिरुद्धमा संघर्ष समिति गठन गरेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार महासचिव गुरुङले आफ्ना आसेपासेलाई भेला गरेर राखेप घेराउ गर्ने योजनासहितको कार्यक्रम बनाइएको बुझिएको छ । सो भेलामा गुरुङले आफ्ना कर्तुतको पर्दाफास हुने सन्त्रासले तेक्वान्दोलाई समाप्त पार्न एउटा गिरोह लागेको भन्दै त्यसको प्रतिकार गर्न संघर्ष समिति बनाउन आवश्यक भएको चर्चा गरेको स्रोतले दावी गरेको छ । महासचिव गुरुङले गरेको भेलामा राखेपका जिम्मेवार स्थायी, अस्थायी र करारका कर्मचारीहरुको उपस्थिति रहेको थियो । रोजीरोटीको कुराले गर्दा ति कर्मचारीहरुको नाम यहाँ उल्लेख गरिएको छैन ।

त्यस्तै महासचिव गुरुङको निर्देशनमा तेक्वान्दोको राष्ट्रिय टीमको प्रशिक्षण बन्द भएपछि राष्ट्रिय टीममा आबद्ध तेक्वान्दो खेलाडीहरुले उक्त कदमको विरोध जनाउँदै राखेपमा निवेदन दर्ता गराएको स्रोतले दावी गरेको छ । उक्त निवेदनमा राखेपले संचालन गरेको नियमित प्रशिक्षण रोक्ने अधिकार गुरुङलाई कस्ले दियो, राष्ट्रले लगानी गरेको तेक्वान्दोको विकास र स्तरियताको लागि संचालित प्रशिक्षण कसैको व्यक्तिगत स्वार्थ पुरा गर्न रोक्न मिल्छ ? प्रश्न गरिएको छ । त्यस्तै राष्ट्रिय प्रशिक्षण रोक्न मुख्य प्रशिक्षक नन्दु राईको पनि हात रहेको भन्दै उनलाई कारवाहिको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

पूर्व सदस्यसचिव युवराज लामाले गुरुङको दोहोरो नागरिकताको सम्वन्धमा गठित छानविन समितिले प्रशासन विभाग मार्फत खेलकुद विकास विभागमा प्रतिवेदन बुझाएको थियो । वर्तमान अवस्थामा छानविन कमिटीले उक्त प्रतिवेदनको सक्कलप्रति लागि वारम्वार ताकेता गर्दापनि खेविविले मौनता साँध्नु विडम्बना भएको छ । यसर्थमा कि छानविन समितिको एक सदस्यमा खेविविका प्रमुख कुलवहादुर थापा पनि रहेका छन । यसरी छानविन समितिमै रहेका सदस्यले गुरुङको छानविनमा असहयोग गरेपछि छानविन समिति प्रभावित बन्न पुगेको छ ।