पत्रकारको लागि फिलिपिन्स खतर्नाक !

पत्रकारको लागि फिलिपिन्स खतर्नाक !


फिलिपिन्समा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । दुई छुट्टाछुट्टै घटनामा पत्रकार मारिएका घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक खतरा भएको मुलुकका रुपमा चिनिन लागेको टिकाटिप्पणी हुन थालेको छ । फिलिपिन्सको पत्रकार सङ्घकी महासचिव दावेत पानेलोलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको हो ।

गत बर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको बताइएको छ । दुवै घटनामा पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए ।

हत्या गरिएका दिअज ६० बर्षका थिए जो मनिला ताब्लोइद बालितामा संवाददाता र एउटा स्थानीय सामुदायिक पत्रिकाका स्तम्भकार थिए । उनको हत्या राष्ट्रपतिको दक्षिणी सहर क्विरिनोमा सोमबार भएको हो । पुर्वप्रहरी समेत रहेका दिअजले राजनीतिक भ्रष्टाचार, अवैधानिक जुवातास, लागु औषध लगायतका बारेमा समाचारहरु लेख्दथे ।

हत्या गरिएका अर्का पत्रकार अलिकावे ४७ वर्षका थिए । उनले स्थानीय डिएक्सपिवी रेडियोमा साप्ताहिक अन्तर्बार्ताको कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई आइतबार मोलाभे सहरमा हत्या गरिएको हो । दुवै पत्रकारको हत्या भएका स्थान इस्लामिक लडाकू, कम्युनिष्ट छापामार र राजनीतिक नेताहरु बढी सक्रिय भएको क्षेत्रमा पर्ने सिन्ह्वाले जनाएको छ ।