‘कानुनी सल्लाहकार’बाट च्युत भएपछि ‘डोपिङ विशेषज्ञ’

‘कानुनी सल्लाहकार’बाट च्युत भएपछि ‘डोपिङ विशेषज्ञ’


राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको कानुनी सल्लाहकारको जिम्मेवारीमा रही ‘वादी र प्रतिवादी’ दुवै भूमिका निभाएर विवादित पात्र बन्न पुगेका ओम थपलियाले कथित ‘डोपिङ विशेषज्ञ’ बनेर फेरि नौलो ‘कीर्तिमान’ कायम गरेका छन् । सर्वोच्च अदालतद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीमार्फत डोपिङसम्बन्धी एक कार्यक्रममा डा. सरोजकृष्ण श्रेष्ठसँगै थपलिया भुटानको थिम्पु लागेपछि उनको थप ‘विशेषज्ञता’ प्रमाणित भएको हो । प्राप्त जानकारी अनुसार दुई दिनको डोपिङ प्रशिक्षण क्लासमा सहभागी भएकै भरमा थपलियाले आफूलाई ‘डोपिङ विशेषज्ञ’को रूपमा चिनाउन थालेका छन् । उनको यो हर्कत यतिबेला खेलकुद क्षेत्रका चर्चाको विषय बन्न पुगेको छ ।

अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको शक्तिको आडमा राखेपको कानुनी सल्लाहकार बनेका थपलियाले विनाहाजिरी वर्षौं तलब खाएका थिए । राखेपबाट विनाहाजिरी मासिक ५० हजार बुझ्दै आएपछि थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अख्तियारको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले उपसचिव महेश्वर शर्माको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले ०७२ सालदेखि हाजिरी नगरि तलब खाएको प्रतिवेदन राखेपमा बुझाएपछि थपलियाले राखेपको कानुनी सल्लाहारको पदबाट हात धुनुपरेको थियो ।

प्राप्त जानकारी अनुसार तत्कालीन खेलकुदमन्त्री सत्यनारायण मण्डलको सोझोपनको फाइदा उठाउँदै थपलियाकै ग्र्याण्ड डिजाइनमा जीवनराम श्रेष्ठले डोपिङको कार्य गर्न डाक्टर सरोजकृष्ण श्रेष्ठ र थपलियालाई अधिकार दिएका थिए । थपलियाले डोपिङसम्बन्धी अधिकार पाएपछि अहिले आफूलाई कानुन व्यवसायीभन्दा डोपिङ विशेषज्ञको रुपमा दाबी गर्दै आएका छन् । उनले आफूबाहेक नेपालमा अर्को डोपिङ विशेषज्ञ नभएको भ्रमको खेती गर्दै आएको देख्नेहरू ‘….लाई भन्दा देख्नेलाई लाज’को अवस्थामा रहेका छन् । स्मरण रहोस्, डा. सरोज श्रेष्ठ र थपलिया जीवनरामका निकटजन हुन् ।