आफैले बनाउँदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बम बनाउँदै गर्दा सामुहिक रुपमा रहेका तालीवानहरु विष्फोटमा परेका हुन् ।
अफगानिस्तानको बालाबुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो । सिन्ह्वाले जनाएअनुसार तालिवान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो ।
आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका एजेन्सीहरुले जनाएका छन् । सो विस्फोटको क्रममा केही आतङ्ककारी घाइते समेत भएका थिए ।
अफगानी प्रहरीले त्यसमा परी अरु धेरै आतङ्ककारी मारिएका हुनसक्ने अनुमान गरेको भए पनि त्यसको बारेमा तालिबानले केही बताएका छैनन् । अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ जना घाइते भइसकेका छन् । यसै सिलसिलामा तालीवानी स्वयम् आन्तरिक दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया