खेलाडीहरू विदेश प्रस्थान

खेलाडीहरू विदेश प्रस्थान


नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग)का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन क्यानाडाको ओटावा प्रस्थान गरेका छन् । सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । सेमिनारपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन् । त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन् । अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै नेपालकै सर्वाधिक सफल खेलाडी सागका कीर्तिमानी ४ स्वर्ण विजेता र एसियाली खेलकुदका २ कांस्य विजेता तेक्वान्दोका दीपक विष्ट इन्टरनेशनल तेक्वान्दो एसोसिएसन (आईएनटीए)को बैठकमा सहभागी हुन अमेरिकाको पोर्टल्यान्ड प्रस्थान गरेका छन् । बैठक अगष्ट १४ तारिखमा हुँदैछ । आईटीएफको अध्यक्षमा सिओल ओलम्पिकमा काश्य पदक जित्न सफल चर्चित तेक्वान्दो खेलाडी विधान लामा रहेका छन । त्यस्तै उक्त संस्थामा नारायण गुरुङ, सविताराज भण्डारी, किशार श्रेष्ठ, कमल श्रेत्री र रेणुका मगर रहेका छन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले श्रेष्ठ र विष्टलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरेका थिए ।