नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता

नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता


भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

एजेन्सीका अनुसार भोलि (१५ अगस्त) मनाइने भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको हो । नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ ।

नयाँ दिल्ली गेटवरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ । सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्नुहुने विशेष कार्यक्रम रहेकोले यस क्षेत्रको सुरक्षामा विशेष ध्यान दिइएको बताइन्छ ।

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापनसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ । भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको पाकिस्तानले सोमबार नै (अगष्ट १४ मा) स्वतन्त्रता दिवस मनाएको छ ।