– ममता शर्मा नेपाल
तीज आउन अझै एक साताभन्दा बढी समय बाँकी छ तर त्यसको रमझमले नेपाली चेलीलाई छपक्क छोपिसकेको छ । अहिले शहरबजारमा हिन्दू महिलाहरू राम्राराम्रा रङ्गीचङ्गी वस्त्र, आकर्षक श्रृंगार र महँगा गरगहनाले सजिएर दर खानका लागि साथीसङ्गी तथा आफन्तकोमा हिँडेको देख्न सकिन्छ । त्यस्तै तीजबजारमा पनि महिलाहरूको भिड बढेकोबढ्यै छ ।
भाद्र शुक्ल तृतीयाको दिन मनाइने तीजलाई हरितालीका पनि भनिन्छ । यो चार दिनसम्म मनाइने चाड हो । पहिलो दिन दर (दह्रो-पौष्टिक खाना) खाने, दोश्रो दिन भगवान शिवको उपासनामा उपवास बस्ने, तेश्रो दिन उपवासको पारायण (बिहानै नुहाएर पूर्णपात्रो गरि तुलसीको पात राखेको केरा खाएर) गर्ने र चौथो दिन ऋषि पञ्चमीको पूजा गरि नाचगान गरेर यो चाड सकिन्छ । यसैले सरकारले पनि हिन्दू नेपाली नारीको महान चाड भनेर तीजको दिन बिदा दिने गरेको छ ।
नेपाली समाजले तीज पर्वलाई सामाजिक र सांस्कृतिक चाडको रुपमा पनि लिएको छ । हिन्दू मिथ अनुसार भगवान शिवलाई पतिको रुपमा पाउन बुवासगँ विद्रोह गरेर पार्वतीले घना जङ्गलमा अन्न जल त्यागेर उपवास बसिन् जसबाट शिव प्रसन्न भएर पार्वतीलाई पत्नीको रुपमा ग्रहण गरे । यही धार्मीक प्रसङ्गको जगमा हिन्दु नारीले पनि भगवान शिव जस्तै असल पतिको कामना गर्दै तीजको व्रत बस्न थालेको कुरा हिन्दू पुराण तथा साहित्यमा उल्लेख छ । अहिले विवाहित नारीले पतिको सुवास्थ्य, दीर्घायु र सम्बृद्धि तथा परिवारको कल्याणको कामना गर्दै ब्रत बस्दछन् भने अविवाहित युवतीले असल पतिको कामना गरि ब्रत बस्दछन् भन्ने आम मान्यता रहेको छ ।
तीज धार्मिक हिसाबले मात्र होइन समाजशास्त्रीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ । वास्तवमा तीज र्धािमक चाड मात्र होइन । तीजको अर्को मुख्य आधार समाज र संस्कृतिसगँ जोडिएको छ । नारीको जीवनको व्यक्तिगत पक्ष जसमा उनका सुख, पीडा र संघर्षलाई अभिव्यक्त गर्ने स्वतन्त्रताको रुपमा लिइएको पाइन्छ । यो चाडका लागि वर्षदिनसम्म माइती जान नपाएका चेलीले पनि माइती जाने अवसर निहित छ । माइती वा जन्मघर चेलीहरूका लागि प्रिय थलो मानिन्छ । यहाँ उनीहरू निर्धक्कसगँ हाँस्न, खान, नाच्न, रमाउन पाउने स्वतन्त्रता सुनिश्चित भएको ठानिन्छ । माइतीले आफ्नो सामथ्र्यअनुसार उपहार दिने चलन छ । यो नै यस चाडको एउटा विशेष र महत्वपूर्ण पक्ष हो । माइतीबाट आमाबुवा वा दाजुभाइको निम्ता नआएसम्म चेलीहरू माइती जाँदैनन् । केहीगरी निम्ता आएन भने माइतीले आफूलाई उपेक्षा गरेको ठानी दुख मान्दछन् । यो नेपाली समाजको संस्कृति र मूल्यव्यवस्थाको अनुपम उदाहरण हो ।
शहरी क्षेत्रका महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरू शिक्षा, चेतना, र सुख–सुविधाका हिसाबले पछाडि छन् । यसले उनीहरूको स्वतन्त्रताको विषय पनि तुलनात्मक रुपले पछाडि परेको छ । फलस्वरुप त्यस्ता महिलाले परम्परावादी र रुढीवादी साङ्लोलाई छिनालेर यसबेला पूर्णरुपले स्वतन्त्रता उपभोग गर्न लालायित हुनु स्वभाविकै हो ।
केही वर्ष यता तीज चाड ज्यादै भडकिलो भइरहेको छ । तीज आउने दुई महिना अगाडीदेखि नै महँगा होटल, रेष्टुराँ वा पार्टी पैलेसमा दर खाने र महंगा लुगा तथा गहनाको प्रदर्शन गर्ने होडबाजी चलेको छ । यसले विकृति निम्तिएको भनेर महिलाले नै विरोध गरेका छन् । सञ्चारमाध्यममा पनि यसबारे निकै समाचार र टिप्पणीहरू प्रचार र प्रसारण भएका छन् । कुनै पनि दृष्टिले यो प्रवृत्तिलाई राम्रो भन्न मिल्दैन । तीजलाई भड्किलो बनाउन हुँदैन भनेर वकालत गर्नेहरूमा चेतनशील महिलाहरूको ठूलो पङ्ती छ । उनीहरूले यो चाडलाई गरिमामय बनाउन दिएका सुझाव पक्कै पनि मननयोग्य छन् । यही प्रभावले हुनसक्छ गत वर्षदेखि चेतनशील महिलाहरूको तब्काले यो चाडलाई निकै रचनात्मक अवसरका रुपमा लिन थालेका संकेत पनि आएका छन् ।
तीजको समाजशास्त्रीय पक्षलाई अनुशीलन गर्दा यसका सकारात्मक आयाम पनि धेरै छन् । खास गरी सिमान्त किनारमा धकेलिएको महिला स्वतन्त्रताको महाआख्यानलाई न्याय दिने हो भने यस पर्वका राम्रा पक्षबारे भन्न सकिने कुरा मनग्य छन् । त्यसैले यस विषयमा सकारात्मक विवेचना पनि गर्न सकिन्छ । उदाहरणका लागि तीज नेपालका हिन्दू महिलाको मात्र चाड नरहेर समाजका अन्य क्षेत्रका ग्रामीण वा शहरी महिलाको पनि पर्व बनेको छ ।
शहरी क्षेत्रका महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरू शिक्षा, चेतना, र सुख–सुविधाका हिसाबले पछाडि छन् । यसले उनीहरूको स्वतन्त्रताको विषय पनि तुलनात्मक रुपले पछाडि परेको छ । फलस्वरुप त्यस्ता महिलाले परम्परावादी र रुढीवादी साङ्लोलाई छिनालेर यसबेला पूर्णरुपले स्वतन्त्रता उपभोग गर्न लालायित हुनु स्वभाविकै हो । फेरि उनीहरूको त्यति ठूलो माग र चाहना पनि होइन । वर्षमा एकदिन आमा, दिदीबहिनी र साथीसङ्गीसित नाच्ने गाउने । गीत र नृत्यका माध्यमबाट पारिवारिक तथा सामाजिक विषयका भनाइ तथा अपेक्षाहरू प्रस्तुत गर्ने । त्यसैगरि उनीहरूमाथि भएका भेदभाव तथा उनीहरूको संघर्षको कथा अभिव्यक्त गर्ने । यसरी हेर्दा यो चाड उनीहरूले गीतका माध्यमबाट आफ्ना पीडा र आवाज उठाउने अवसर पनि हो । यसरी उनीहरूले खोजेको स्वतन्त्रता नाजायज हो त ? कुनै पनि न्यायप्रेमीले यसलाई वाहियात या अनावश्यक भन्न सक्दैन ।
यसरी अहिले आएर तीज एउटा सम्प्रदायको चाड मात्र रहेको छैन । विशेष गरी नेपाली समाजको बहुराष्ट्रिय चरित्र र आपसी सद्भावको विकासले एउटा समुदायको चाडपर्व अर्को समुदायले मनाउने प्रचलन विकसित हुँदै गएको छ । छठ पहाडीले मनाउने र इदमा हिन्दूहरू सामेल भएका उदाहरण छन् । यही क्रममा तीजलाई अन्य जातजातीका युवतीले पनि निकै रहर र उत्साहका साथ मनाएको पाइन्छ । यसले तीजलाई सामाजिक र सांस्कृतिक रुपले अझ संवृद्ध र फराकिलो बनाएको छ ।
समय परिवर्तनसँगै तीजको उपवासबारे केही बहस पनि चल्ने गरेको पाइन्छ । धार्मिक आस्थावानहरूले यसलाई अन्धानुसरण गरिरहेको भए पनि नयाँ पुस्ताका युवतीहरूले उपवासलाई समय सान्दर्भिक छैन भन्ने गरेका छन् । उनीहरू भोको बसेर श्रीमानको आयु बढ्दैन भन्ने तर्क अघि सार्छन् तर पूर्णरुपले विद्रोह पनि गर्न सकेका देखिदैनन् । वास्तवमा चाड आफ्नो खुशी र चाहनाले मनाउनु पर्छ न कि कसैको दवावले । मुख्य कुरा यो चाड पितृसत्ताको षड्यन्त्र र दबाबबाट निरपेक्ष रहनुपर्छ । त्यस्तो स्थितिमा उपबास गर्नु वा नगर्नुले केही फरक पार्दैन ।
प्रतिक्रिया