बिराटनगर विमानस्थलको यस्तो छ अवस्था : हेर्नुस् तस्विरहरु

बिराटनगर विमानस्थलको यस्तो छ अवस्था : हेर्नुस् तस्विरहरु


लगातारका कारण आएको बाढीले  जलमग्न बनेको बिराटनगर विमानस्थलको धावनमार्गमा पुरै हिलो जमेको छ भने हिलो पखाल्न कम्तिमा चार दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

नागरिक उड्यन प्राधिकरण कार्यालय बिराटनगरका अनुसार चार दिनयता बिराटनगर विमानस्थलमा दैनिक उडानसमेत बन्द छ । विमानस्थल खुल्न अझै केही दिन लाग्न सक्ने छ ।

सुरक्षाकर्मीहरुले दमकलको सहाराले पखाल्न थालेका छन् । धावनमार्गको हिलो पन्छाउन सुरक्षाकर्मीले बेल्चा लगायतका सामाग्री प्रयोग गरी सफा गरिरहेका छन ।

मंगलबारदेखि हेलीकोप्टर अवतरण गराउने गरी काम थालिएको र केहीदिनभित्रै विमान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरण बिराटनगरका प्रमुख सुरेशमान श्रेष्ठले विमानस्थल सञ्चालन गर्ने विषयमा अझै अन्योल रहेको बताए ।

उनले भने- ‘मंगलबारसम्म अफिसियल्ली बन्द गरिएको छ, एयरपोर्ट सामान्य अवस्थामा सञ्चालन गर्न अझै ७२ घण्टा लाग्न सक्छ ।’

हिलो पखाल्नका लागि १५० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु खटिएका छन् । धावनमार्गमा आधा फिटसम्म हिलो जमेको छ । श्रेष्ठले मंगलबार हेलिकप्टर अवतरण गर्न मिल्ने गरी एयरपोर्ट तयार हुने बताए ।

धावनमार्गको हिलो पखालिसकेपछि त्यहाँको विद्युत एवं उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरिनेछ ।

स्थानीय खोलाको भेल बिराटनगर ४ स्थित आयल निगम र बिराटनगर विमानस्थल क्षेत्रमा पसेको थियो । विमानस्थलसँगै रहेको नेपाल आयल निगमको डिपोको करिव २ मिटर काम्पाउण्ड वालसमेत भत्काएर बाढी विमानस्थलको धावन मार्ग र कार्यालय परिसरमा प्रवेश गरेको थियो ।