कश्मीरलाई स्वर्गजस्तै बनाउनुपर्ने धारणा

कश्मीरलाई स्वर्गजस्तै बनाउनुपर्ने धारणा


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गोली र गाली’ बाट कश्मीरको समस्या समाधान नहुने बताएका छन् । भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किल्लामा बोल्दै प्रधानमन्त्री मोदीले पृथकतावादीहरुले काश्मीरमा ‘षड्यन्त्र रचिरहेको’ दाबी गरे । धर्मका नाममा हिंसा गराउने कतिपय समुदायलाई सम्बोधनमा कटाक्ष गर्दै प्रधानमन्त्रीले मोदीले जातिवाद र साम्प्रदायिक हिंसा मच्चाइनु राष्ट्रको उत्थानमा समस्या हुने बताए ।

कश्मीरमा देखिएका समस्याको समाधान मिलेर गर्नुपर्ने तर्क गर्दै उनले आरोप वा हतियारकोे भरमा समस्या समाधान नहुनेमा जोड दिए । कश्मीरको समस्याको पहिचान गर्न सम्बद्ध सबैको इमान्दार प्रयास चाहिने मोदीको धारणा थियो । कश्मीरीहरुसँग मिलेर उक्त स्थानलाई ‘पुनः स्वर्ग जस्तै बनाउनुपर्ने’मा उनले जोड दिए ।

सलमान समुदायको बसोबास रहेको काश्मीरमा भारत र पाकिस्तानबीच दशकौंदेखि कायम सीमा विवादको केन्द्रमा रहँदै आएको छ । पाकिस्तानले आफ्नो ७० औँ स्वतन्त्रता दिवस १४ अगस्तमा मनाउने गर्छ । पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलिपल्ट भारतले भव्य कार्यक्रमसहित आफ्नो स्वतन्त्रता दिवस मनाएको हो ।

मोदीले आफ्नो सम्बोधनमा उत्तरी भारतमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषयमा बोल्दै देशलाई उनीहरुका परिवारको पीडामा एकताबद्ध हुन पनि अपील गरे। उनको सम्बोधनलाई भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सम्बोधनस्थलमा पनि ठूलो भीड स्वतन्त्रता दिवस मनाउन सहभागी बनेको पीटीआईले जनाएको छ ।