भारत पाकिस्तानबीच सीमाक्षेत्रमा गोली हानाहान

भारत पाकिस्तानबीच सीमाक्षेत्रमा गोली हानाहान


भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ । दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ ।

काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ । सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५ः३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको जनाइएको छ ।

यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइएको सिन्ह्वालाई उद्धृत गर्दै राससले जनाएको छ ।

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो । बताइएअनुसार भारतप्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ ।

यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन् । बुधबार (३२ साउन)को घटनामा पनि एकले अर्कोलाई आक्रमणको दोष दिएका छन् ।