नेपाल-भारत सम्बन्ध र मेरो भ्रमण-डा. बाबुराम भट्टराई, प्रधानमन्त्री

नेपाल-भारत सम्बन्ध र मेरो भ्रमण-डा. बाबुराम भट्टराई, प्रधानमन्त्री


(भारतीय दैनिक पत्रिका द हिन्दूमा भारतीय यात्राको अवसरको बिहीवार प्रकाशित प्रधानमन्त्रीको लेखको भावानुवाद)
आजबाट शुरु भएको मेरो भारत भ्रमणको ठूलो ऐतिहासिक महत्व छ । नेपाल मुख्य राजनीतिक संक्रमणबाट गुजि्रहेको छ । हामी विगत ६० वर्षदेखि सामन्तवादी निरंकुशता तथा राजतन्त्र विरुद्ध र सामाजिक आर्थिक रुपान्तरका लागि लड्यौँ । यो लडाइ कहिले शान्तिपूर्ण रह्यो भने कहिले हिंसात्मक रह्यो । तर जुन प्रकारको संघर्ष रहे पनि आखिर एक मात्र लक्ष्य भनेको सामन्तवादी निरंकुशता र राजतन्त्रको अन्त्य गर्नु तथा राज्य र समाजलाई प्रजातान्त्रिकरण गर्नु थियो । यसकै लागि सन् २००६ मा मुख्य राजनीतिक पार्टी, माओवादी र परम्परावादी संसदीय पार्टीहरु बीच महत्वपूर्ण सहमति भयो । त्यो सहमति संविधानसभाबाट राजतन्त्रको अन्त्य र प्रजातन्त्रलाई संस्थागत गर्नका लागि थियो ।

शान्ति, संविधान र भारत

हामी राजतन्त्र अन्त्य गर्न सफल भयौँ र नयाँ प्रजातान्त्रिक युगमा प्रवेश गर्यौँ । अहिले हामी संविधानसभाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र सामाजिक आर्थिक रुपान्तरणका साथै राज्यको संघीय पुनर्संरचना गर्ने प्रक्रियामा छौँ । माओवादी र तत्कालिन सरकारबीच सन् २००६ मा भएको वृहत शान्ति सम्झौताअनुसार अहिले हामी सेना समायोजन लगायत शान्ति प्रत्रियाका अरु महत्वपूर्ण विषयहरुको टुंगो लगाउने प्रयास गरिरहेका छौँ । यसका साथै हामीले संविधानसभाबाट संविधान लेख्ने कामलाई पनि पूरा गर्ने प्रयास गरिरहेका छौँ । यी सबै प्रक्रिया पूरा गरेपछि मात्र अहिलेसम्म प्राप्त गरिएका उपलब्धी संस्थागत हुनेछन् र हामी विकास र परिवर्तन सहित नेपालमा प्रजातन्त्रको नयाँ युगमा प्रवेश गर्नेछौँ ।

यो प्रक्रियामा भारतको भूमिका निकै महत्वपूर्ण रहन्छ । नेपाल र भारतबीच अद्धितिय सम्बन्ध छ । नेपाल दुई ठूला देशहरु भारत र चीनको बीचमा छ । र खासगरी हामी भारतबाटै तीनतिरबाट घेरिएका र खुल्ला सीमा भएकाले पनि भौगोलिक रुपमा भातरबाटै घेरिएका छौँ । हाम्रा अधिकांश आर्थिक सामाजिक सम्बन्ध भारतसँगै गाँसिएका छन् । हाम्रो वाषिर्क व्यापारको दुई तिहाइ व्यापार भारतसँगै हुने गरेको छ र १० प्रतिशत मात्र चीनसँग हुन्छ । भारतसँगको यो ऐतिहासिक झुकावका कारण पनि हाम्रो दुईपक्षीय सम्बन्ध अद्वीतीय छ । जब बढी सामिप्य हुन्छ बढी समस्या र तनाव पनि उत्पन्न हुन्छ । अहिले नेपाल र भारतको सम्बन्धमा विभिन्न विषयमा केही भ्रम तथा फरक बुझाइ छन् । त्यसमध्ये केही सही पनि छन् र केही शंकाको आधारमा उत्पन्न भएका छन् ।

भारतले नेपालको शान्ति प्रक्रिया तथा प्रजातन्त्र तर्फको संक्रमणमा सकारात्मक भूमिका खेलेको छ । अहिले जुन समयमा मैले भारतको भ्रमण गर्दैछु यो समयमा नेपालको शान्ति प्रक्रिया पूरा हुने चरणमा छ, त्यसैले पनि यो भ्रमणले ठूलो अर्थ राख्छ । नेपालको शान्ति प्रक्रियाका सुत्रधार नेपालका राजनीतिक दलहरु नै हुन् र उनीहरुले नै यसको अगुवाइ गरिरहेका छन् तथापि यसको सफलताका लागि अन्तर्राष्ट्रिय समुदाय खासगरी हाम्रो छिमेकी भारतको सदासयता आवश्यक हुन्छ ।

सुरक्षा र विकास

नेपाल र भारत दुबैसँग जोडिएको महत्वपूर्ण द्वीपक्षीय विषय राजनीति र सुरक्षासँग सम्बन्धित छ । हिमालयको दक्षिणमा अवस्थित नेपाल एसियाका दुई ठूला देशहरुसँग सिमाना जोडिएको छ । त्यसैले भूराजनीतिक यथार्थलाई पनि हामीले ध्यान दिनुपर्छ । अवश्यपनि हाम्रा छिमेकीहरुको हामीसँग राजनीतिक तथा सुरक्षासम्बन्धी चासो हुन्छ, जसलाई नेपालले पनि साझा हितका लागि ध्यान दिइरहको छ । नेपालले छिमेकी देशका विरुद्ध हुने गतिविधिका लागि आफ्नो भूमि कसैलाई प्रयोग गर्न दिनेछैन । अर्को मुख्य विषय भनेको आर्थिक विकाश र साधन श्रोतको विकाश हो । अहिलेको वर्तमान विश्वमा हरेक देशको अर्थतन्त्र अर्को देशसँग अन्तरसम्बन्धित हुन्छ । यदि हामी सम्बृद्ध बन्न चाहन्छौँ भने त्यसका लागि अरुसँग सहकार्य गर्नैपर्छ । छिमेकमा भएको गरीबी र पछौटेपनले अवश्य पनि अर्को देशको विकासलाई असर गर्छ ।

भारत र चीनले तीब्र आर्थिक विकास गरिरहेका छन् । यसरी दुईवटा तीब्र रुपमा आर्थिक विकास गरिरहेका देशको बीचमा रहेको नेपाल पनि पछौटे र अविकसित भएर रहन सक्दैन । त्यसैले हामीले हाम्रा दुबै छिमेकी र खासगरी भारतसँग सहकार्य गर्न चाहन्छौँ । हामीले नेपाल र भारतको साझा फाइदाको लागि आर्थिक सहकार्यको क्षेत्र पत्ता लगाउनु आवश्यक छ । यसमध्ये एउटा क्षेत्र भनेको दुबैको फाइदाको लागि जलश्रोतको उपयोग हो । अर्को नेपालमा भारतीय लगानी भित्र्याउनु हो र हामीले नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न सुरक्षा प्रदान गरी लगानीको वातावरण सिर्जनामा ध्यान दिइरहेका छौँ । दुई देशबीचको व्यापार अहिले असन्तुलित छ । भारतसँगको हाम्रो व्यापार घाटा उच्च छ । आयात निर्यात अनुपानत ७स्१ छ, जुन दिगो होइन ।

व्यक्तिगत रुपमा भन्नुपर्दा मैले भारतमा अध्ययन गर्ने अवसर पाएँ र मेरो रुचीको क्षेत्र आर्थिक विकास हो । त्यसैले भारतसँगको मेरो सम्बन्धलाई मैले द्धिपक्षिय सम्बन्ध विकास र आर्थिक हितका लागि प्रयोग गर्नेछु । यदि नेपालले तीब्र गतिमा विकाश गर्न सक्यो भने भारतसँग विकाश साझेदार बन्न सक्छ । भारतका लागि पनि विकसित नेपाल उसको सुरक्षाको लागि उपयुक्त हुनेछ । किनकि विकाश, शान्ति र स्थिरता भयो भनेमात्र सुरक्षा सम्भव हुन्छ । सुरक्षा चासोलाई अलग गरेर हेर्न सकिँदैन र यसलाई समग्रतामा हेर्नुपर्छ । सुरक्षा र आर्थिक विकासलाई सँगसँगै हेर्नु आवश्यक छ ।

विश्वास र सद्भाव

मेरो भारत भ्रमण नेपाल र भारत दुई देश तथा दुई देशका जनताबीच सुमधुर सम्बन्धको विकासमा केन्दि्रत हुनेछ । त्यसैले यो भ्रमण सद्भावना भ्रमण हो । मैले यसका लागि मेरा समकक्षीहरुसँग खुल्ला रुपमा कुराकानी गर्नेछु । २० औँ सताब्दीमा विकसित सम्बन्ध र भएका सम्झौताहरु अहिलेको २१ औँ शताब्दीको आवश्यकता पूरा गर्न सक्षम हुँदैनन् । त्यसैले पनि सम्बन्धलाई अझ विकशित गर्ने, तथा इतिहासदेखिनै द्धिपक्षिय सम्बन्धमा रहेका भ्रम तथा फरक बुझाइहरु हटाउने कुरामा जोड दिइनेछ । बेलायती उपनिवेशकालदेखि दक्षिण एसियाली देशहरुबीच एक प्रकारको तनाव सिर्जना भयो । तर अहिले त्यसलाई हटाउनु पर्छ र बदलिँदो परिस्थितिमा आपसी सम्बन्धलाई सुधार्नुपर्छ । पूरानो विवादलाई त्यागेर नेपाल पनि अघि बढ्न चाहन्छ र सहकार्यको वातावरण सिर्जना गर्न चाहन्छ ।

अहिले केही महत्वपूर्ण राजनीतिक विषयहरु छन् जसमा धेरै छलफल आवश्यक छ । हामी त्यसका लागि स्वतन्त्र रुपमा र खुल्ला रुपमा छलपलमा बस्नुपर्छ र त्यो छलफल भविष्यमा पनि गर्न सकिन्छ । मुख्य कुरा भनेको दुई देश, यहाँका सरकार र जनताबीच विश्वासको वातावरण सिर्जना गर्नु हो । जब विश्वासको सिर्जना हुन्छ र हामी गम्भीर बन्छौँ कठिन विषय पनि सहजै समाधान हन्छन् ।

एउटा नयाँ युग

फेरि भन्नुपर्दा म कुनै एक खास विषय अघि सार्नुभन्दा यो भ्रमणमा सबै विषयमा साथित्वपूर्ण तरिकाले छलफल गर्न चाहन्छु । यो सरकार बाहेक नागरिक समाज, मिडिया र बुद्धिजिवीको लागिसमेत अन्तरक्रियाको मौका हुनेछ । मेरो दिल्लीसँगको पूरानो सम्बन्धका कारण यहाँ मेरा केही व्यक्तिगत चिनाजानी पनि छन् र अहिले त्यो सम्बन्धलाई नविकरणका लागि समेत यो भ्रमण उपयोग गर्नेछु । म के कुरामा विश्वस्त छु भने मेरो अहिलेको भारत भ्रमणले हाम्रो द्वीपक्षीय सम्बन्धलाई नयाँ युगमा पुर्‍याउनेछ । नेपाल शान्ति प्रक्रिया पुरा गर्ने अन्तिम चरणमा छ र शान्ति र विकासको नयाँ चरणमा प्रवेश गर्ने क्रममा छ । हाम्रो नयाँ द्वीपक्षीय सम्बन्ध जुन बलियो विकासको दायरामा आधारित हुनेछ त्यसले शान्ति र सम्बृद्धि ल्याउनेछ ।

मेरो सपना नेपालमा समावेशी प्रजातन्त्र, दिगो शान्ति र सम्बृद्धि स्थापित गर्नु हो । नेपालले सबै दक्षिण एसियाली देशहरुबीच राम्रो सम्बन्ध विकासका लागि पनि प्रयास गर्नेछ । नेपाल र भारतबीचको सम्बन्ध छिमेकीहरुबीचको सहकार्यको एउटा नमुनाको रुपमा विकसित गर्न सकिन्छ । मेरो भ्रमणपछि नेपाल र भारतका विभिन्न परम्परागत आशंका र विवाद समाधान हुनेछन् र २१ औँ सताब्दीको विकाशका लागि उन्नत साझेदारीको आधारशीला तयार हुनेछ भन्नेमा म ढुक्क छु ।

साभार: प्रम सचिवालय