सुनिलबाबु पन्त
हामी नेपालीहरु नेपाली-नेपाली बीचको भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका विविधतामा गर्व गर्छौं र भन्छौं- नेपाल विविधताले भरिएको देश हो । तर अन्य केहि आधारका विविधतामा गर्व गर्ने ठाउँ भने अझै बनिसकेको छैन नेपाल, जस्तै : लिङ्ग, जात-जाति, यौनिक तथा लैङ्गिक पहिचान, अपाङ्गता, परम्परागत पेशा, भौगोलिकता आदिका आधारमा अझै पनि हेला-होचो भावको सामना गर्नुपर्ने हुन्छ विभिन्न समुदायका मानिसले। आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहले आज भन्दा करिव ३०० वर्ष अगाडि ‘यो देश चार जात छत्तिस वर्णको फूलवारी हो’ भन्नु कुनै क्रान्ति भन्दा कम थिएन। तर यस भनाईले विविधताको स्विकार्यता मात्र संकेत गर्छ, समावेसीको कुनै ग्यारेन्टी गर्दैन। साना-साना राज्यहरुलाई एकीकरण गर्नका लागि बाहुन-क्षेत्री युवा पुरुषहरु साथसाथै जनजाति युवा पुरुषहरुको सेनामा भर्ति नगरी सम्भव थिएन । त्यसैले पृथ्वीनारायण शाहको त्यो भनाईले बाहुन-क्षेत्री र जनजाति पुरुषहरुको समावेसी त्यो पनि सेनामा भर्तिका लागि, सुनिश्चितता त गरेको थियो होला तर ‘वैश्य र शुद्र’जातका पुरुषहरुको कत्तिको समावेशी भयो यसै भन्न सकिन्न र सेनावाहेक अन्य क्षेत्रमा समावेशीको कुरा त झनै परको विषय भै हाल्यो। र, महिला र तेस्रोलिङ्गीहरुको समावेशीको त प्रश्न आउने कुरै भएन त्यतिबेला ।
समावेशी के हो र नेपालमा यसको न्यायोचित प्रयोग कसरी हुन सक्छ भन्ने पाटो हेर्नुभन्दा पहिला सीमान्कृतता र समावेसिताको पौराणिक प्रसङ्ग जोड्न चाहन्छु । महाभारत युद्ध जित्नका लागि पाण्डवहरुले इच्छामृत्यूको वरदान पाएका भिष्म पितामहलाई मार्न नसके पनि रणभूमिबाट जसरी पनि हटाउनुपर्ने हुन्छ । भिष्म पितामह महिलाको अगाडि शस्त्रअस्त्र नचलाउने भएकाले कुनै महिला अगाडि ल्याउनुपर्ने हुन्छ उनलाई युद्धमा जित्नका लागि । तर महिलालाई लडाईमा समावेश गर्ने प्रचलन त्यतिबेला नभएकाले द्रौपदीले आफू भिष्मपितामहको अगाडि कुरुक्षेत्रमा उभिने कुरा गर्दा पाण्डवहरुले स्विकार्दैनन् । त्यसैले शिखण्डीलाई अघिसार्ने कुरा हुन्छ। शिखण्डी जन्मदा महिला (शिखण्डिनी) भएर जन्मेको भएता पनि पछि कारणवस पुरुषको रुप धारण गरेका हुन् (जसरी आजकल धेरै तेस्रोलिङ्गीहरुले लिङ्ग परिवर्तन गरेर महिला वा पुरुषको रुप धारण गर्ने गर्छन्) । कृष्णलाई शिखण्डीको पछिल्लो रुप (शिखन्डिनी)बाट शिखण्डी बनेको रुप स्विकार गर्न र युद्धमा समावेश गर्न कुनै समस्या भएन, तर भिष्म पितामह शिखण्डीको पछिल्लो बनेको ‘पुरुषको’ रुपलाई स्विकार गर्दैनन् र शिखण्डी महिला ‘शिखन्डिनी’नै हो भन्ने अडानमा रहन्छन् । यस रुढीवादी अडानको परिणाम भिष्म पितामहले वाण नै वाणको मृत्यूशैय्यामा बाँकी जीवन घायल बनेर झेल्नु परेको थियो।
परिवार, समाज र राज्यमा विद्यमान विविध व्यक्तिहरुको, उनीहरुको चाहना र क्षमता अनुसार सहज र सम्मानजनक सहभागितालाई नै सामान्य अर्थमा समावेशी भनेर बुझ्न सकिन्छ। तर समावेशीता त्यति सरल नभै निकै क्लिष्ट विषय हो। जस्तै भौगोलिक आधारमा आफूलाई सिमान्तकृत र बहिष्कृत ठान्ने मधेशी समूदाय भित्र पनि जात, लैङ्गिकता आदिका आधारमा यस समुदायका केहि तप्का थप बिभेदित भइरहेको हुन सक्छ। त्यस्तै बाहुन, क्षेत्रि, नेवार भनेर अधिकारसम्पन्न समुदायका रुपमा चिनिने यस समुदाय भित्र पनि थप जातिय विभाजन, लिङ्ग वा यौनिक पहिचानका आधारमा बिभेद भईराखेको हुन सक्छ। दलितभित्रै पनि, महिलाभित्रै पनि, जनाजातिभित्रै पनि, अपाङ्गता भएका समुदायभित्रै पनि र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र पनि एकआपसमा विभेद र सिमान्तिकरण विद्यमान रहेको हुन सक्छ।
त्यसरी नै अलग-अलग पृष्ठभूमिका आधारमा अलग-अलग ‘विशिष्ट वर्गहरु’ समाजमा हुने गर्दछन् । त्यसैले ‘विशिष्ट वर्ग’ भनेर खास जातिलार्इ मात्र औंला देखाउनु समाजको गहिरो अध्ययन नगरिकन हचुवाको भरमा आफ्नो पनि जिम्मेवारी अरुमा थोपर्नु मात्र हो।
विविधतालाई पनि नस्विकार्ने राज्य प्रणाली वा समाजलाई एकात्मक नश्लवादी वा एकात्मक जातिवादी वा एकात्मक धर्मवादी राज्य वा समाज भनेर चिनिन्छ। यी सबै नश्ल, जात, धर्म वा लिङ्गको आधारमा नेपालमा रहेका विविध समुदायहरुलाई खास गरीकन २००७ को प्रजातन्त्र आएदेखि नै क्रमिक रुपमा स्विकारिदै आएको हो, तर नयां संबिधान-२०१५ लागु भएपछि औपचारिक रुपमै र बृहद रुपमा नै यी विविधतालाई स्विकारेको छ नेपालले। तर के विविधतालाई स्विकार्दैमा समाबेशिको ज्ञारेन्टि पनि हुन्छ तरु हुंदैन । विविधतालाई स्विकार गर्नु र समावेशी सामज र राज्यसंयन्त्र स्थापना गर्नुको विचमा निकै ठूलो फरक हुने गर्दछ।
धेरैलाई लाग्ने गर्छ कि सिमान्तकृत वा बहिष्करण नै समाजीक समस्या हुन् भनेर । तर सिमान्तकृत वा बहिष्करण आफैमा समस्या होइनन्, यी त समाजलाई आफ्नो नियन्त्रणमा लिन सफल र हालीमुहालि गरी रहेका समाजका विशिष्ट बर्गहरुको ईगो (अहङ्कार) संग जोडिएका विषय हुन्, यसै अहंकाररुपी समस्या (या कमजोरि)का परिणाम मात्र हुन् । यहि अहङ्कारले ‘डर’लाई जन्म दिन्छ, कि कतै ‘मेरो वा हाम्रो नियन्त्रण खोसिने त होइन वा कतै मैले वा हामीले पाएको विशिष्ट स्थान, प्रतिष्ठा वा सुविधा गुमाउनु पर्ने त होइन ? यस डरले नै यी वर्गहरु अनेक वितण्डा मच्चाउंछन्, अनेक बखेडा खडा गर्छन्। कहिले धर्म जोगाउने नाममा त कहिले राष्ट्रियता जोगाउने भनेर। आमाको नामवाट सन्तानलाई नागरिकता दिंदा राष्ट्रियता कमजोर हुन्छ भन्ने तर्क होस् वा तेस्रो लिङ्गिलाई अधिकर दिनु भनेको कलियूगको प्रतिक मान्नु वा दलित मन्दिर छिरे धर्म नष्ट भएर जान्छ भन्नु वा महिनावारि हुंदा महिला अपवित्र हुन्छन् भन्नु समाजका ‘विशिष्ट वर्ग’का यीनै डर वा अशुरक्षा भावका उपज हुन्। र यस्ता डर वा अशुरक्षा भावले वसालेका ‘सिमान्तकृत गराउने वा बहिष्कारमा पार्ने’ ठूला-साना थुप्रै उदाहरणहरु समाजमा व्याप्त छन् । जस्तै महिलाले पुरुषले जति काम गर्न सक्दैनन् वा परुष जति दिमाग लागाउन सक्दैनन् भन्नु, वा वाटो हिन्ने बेला तेस्रो लिङ्गिलाई देख्यो वा दलित लाई देख्यो भने साइत पर्दैन भन्नु, वा महिलाले ‘समाजमा’ बोल्न हुंदैन, बोल्नै परे पनि सानो स्वारमा बोल्नु पर्छ (पोथी बास्यो) भन्नु, वा मर्दकी दशबाट भन्नु, वा लेंडे मगर भन्नु (जनजाति बुद्दु हुन्छन् भन्नु), छोराले मात्र पितृ तार्न सक्छन् भन्नु, आदि इत्यादि यीनै समाजका ‘विशिष्ट वर्ग’का मनिसका डर वा असुरक्षाका भावहरु प्रणालिगत रुपमा समाजका रितिरिवाज वा प्रचलननै बन्न गएका मात्र हुन् ।
यस्ता विभेद, समान्तिकरण र बहिष्करणका रितिरिवाज र प्रचलनहरुलाई कानुन, शिक्षा, राज्यसंयन्त्र र आर्थिक प्रणालिले पुष्ट पारेका हुन्छन् । जबसम्म यस्ता रितिरिवाज र प्रचलनहरुलाई पुष्ट पार्ने कानुन, शिक्षा, राज्यसंयन्त्र र आर्थिक प्रणालिहरुको परिवर्तन हुदैन तव सम्म यस्ता विभेद, सीमान्तीकरण र बहिष्करणका रितिरिवाज र प्रचलनहरुले निरन्तरता पाइ नै रहन्छन्, र नेपालमा पाइ नै राखेका छन्।
त्यसैले नेपालमा विविधताको स्विकार्यता भएता पनि समाबेशिको प्रयोग भने भरखर सुरुवाति अबस्थामानै छ। पुरानै अडानमा रहने र विविध समुदायलाई समावेश नगर्ने केहि भिष्मपितामहहरुको पतन हामीले केहि वर्ष अघिमात्र नेपालमा देखेकै हौं। आफूलाई भिष्मपितामहको तप्कामा राखेर पतन तिर लाग्ने कि कृष्णले जस्तो समावेशिलाई अंगालेर माहाभारत जित्ने, एक पटक सबै ‘विशिष्ट बर्ग’ले सोच्नैपर्छ।
परिवार, समाज र राज्यमा विद्यमान विविध व्यक्तिहरुको, उनीहरुको चाहना र क्षमता अनुसार सहज र सम्मानजनक सहभागितालाई नै सामान्य अर्थमा समावेशी भनेर बुझ्न सकिन्छ। तर समावेशीता त्यति सरल नभै निकै क्लिष्ट विषय हो। त्यसरी नै अलग-अलग पृष्ठभूमिका आधारमा अलग-अलग ‘विशिष्ट वर्गहरु’ समाजमा हुने गर्दछन् । त्यसैले ‘विशिष्ट वर्ग’ भनेर खास जातिलार्इ मात्र औंला देखाउनु समाजको गहिरो अध्ययन नगरिकन हचुवाको भरमा आफ्नो पनि जिम्मेवारी अरुमा थोपर्नु मात्र हो।
समावेशीको प्रयोग गर्दा यसका विविध पाटाहरुलाई ध्यान दिनुपर्ने हुन्छस् जस्तै कानुनि, राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आदि ।
कानुनले सवै वरावर भनेर मात्र पुग्दैन, निकै पछाडि रहेका खास-खास समुदायहरु जस्तै तेस्रोलिङ्गि, महिला, दलित आदिलाई विशेष संरक्षणको पनि व्यबस्था गर्नु पर्ने हुन्छ। संबिधान लेख्दा तेस्रोलीङगि समूदायहरु ‘सिमान्तकृत’ हुन् भेनर सुचिकृत गर्ने (अल्पसंख्यकमा नराख्ने), तर राजनितिक(लगायत आरक्षणको कानुन बनाउंदा ‘सुचिकृत अल्पसंख्यक’लाई मात्र पारेर (सुचिकृत सिमान्तकृतलाई होइन) फेरि झुक्याउने काम भएको छस त्यो ‘विशिष्ट वर्ग’को डरको पराकाष्टा नै हो। राजनैतिक रुपमा भरखर मात्र समावेशहुन खोजेका तेस्रोलिङ्गिहरुलाई दलहरुले वेवास्ता गर्ने होइन प्रोतसाहन सहित स्थान पनि दिनु पर्ने हुन्छ, जुन हुन सकिराखेको छैन नेपालमा। शैक्षिक क्षेत्रमा समाबेशिकालागि सबैखाले सिमान्तकृत बर्गहरुलाई निशुल्क उच्च शिक्षा मात्र भनेर हुदैन, उचित वातावरंण पनि तयार गर्नु पर्ने हुन्छ जस्तैस् तेस्रोलिङ्गिहरुलाई कक्षा कोठामा वस्ने उचित व्यवस्था, सौचालयको सुविधा, महिनावारि हुदा छात्राहरुको उचित व्यवस्थापन आदि पनि पर्दछन् । आर्थिक समाबेशी गर्नकालागि तालिम र रोजगारी अवशरहरु, व्यवसाय गर्ने उचित वातावरण जस्तै रिण सुविधा, कर छुट आदिको व्यवस्था गर्नु पर्छ सरकारले । सामाजिक, सांस्कृतिक समावेशिकालागि खास जातजाति लिङ्गका व्यक्ति वा समुदाय, जस्लाई परम्परागत रुपमा सिमान्तकृत गरिएको छ, लाई सहभागिताको सुनिश्चितता गर्ने गराउनेकाम राज्य, समाज र परिवार सबैले गर्नु पर्छ, जस्तै दलितलाई पनि मन्दिरको पुजा बिधि सिकाएर पुजारि बनाउने वा तेस्रोलिङ्गि र महिलाले पनि तर्पण गर्न पाउनुपर्ने आदि।
विविधतालाई स्विकार गरेर वा कानुन बनाएर मात्र समावेशीको ज्ञारेन्टि हुंदैन, खासगरी समाजका ‘बिशिष्ट बर्ग’ले नै आफ्नो डरलाई पहिचान गरी अहंकार त्यग्न सक्नु पर्छ। म वा हामी पनि उ वा ऊनीहरु जस्तै मानिस नै हौंस हामी सबैमा तात्विक फरक केहि पनि छैन, रगत सबैको रातो हुन्छ, चोट लाग्दा सबैलाई दुख्छ र सबै सुखिसंग बाच्न चाहन्छन् भन्ने बुझेर सबैलाई सम्मान गर्न सकियो भने ‘यो विशिष्ट वर्गले’ आफ्नो भेदभाव गर्ने ‘कमजोर मानसिकता वा कमजोरी’माथि विजय पाउन सक्छ। त्यसैले विभेद हुनु भनेको अल्पसंख्यकले दुःख पाउनु त पछिको कुरा, पहिला त यो समाजका ‘विशेष वर्ग’ भनेर चिनिएकाहरुको ‘कमजोरी’ नै हो जो मिथ्या दृष्टिका कारण आफ्नो कमजोरिलाई ‘बल’ ठान्दछन् ।
प्रतिक्रिया