महिला कुट्ने मन्त्रीलाई राष्ट्रपतिको ‘धन्यवाद’!

महिला कुट्ने मन्त्रीलाई राष्ट्रपतिको ‘धन्यवाद’!


रात्री क्लबमा एक महिलालाई कुटपिट गर्ने मन्त्रीलाई दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले हालसम्म राम्रो काम गरेर सरकारलाई सहयोग गरेको भनी धन्यवाद दिएका छन् । महिलामाथि हात छोड्ने मन्त्रीलाई महिला कुटेकै कारण राष्ट्रपतिले धन्यवाद दिएका भने होइनन् । कुटपिटको आरोपमा मुद्धा चलेपछि आरोपित मन्त्रीले आफ्नो व्यवहारले आफूलाई मात्र नभई आफ्नो पार्टी र सरकारलाई पनि लज्जित तुल्याएकोमा प्रायश्चित गर्दै पदबाट राजीनामा दिएपछि राजीनमा स्वीकृत गर्दै राष्ट्रपतिले धन्यवाद दिएका हुन् ।

गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्री दक्षिण अफ्रिकाली उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना सहभागी हुन पुगेका थिए । क्लबमै उनको एक महिलासँग कुनै विषयमा विवाद भयो । एकछिन विवाद चलेपछि आवेग थाम्न नसकेका मन्त्री मनानाले ती महिलामाथि हात छोडे । यसरी मन्त्रीले आक्रोशमा आएर आफ्नो पदीय मर्यादाविपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गरेपछि क्लबमा खैलाबैला मच्चिएको थियो । यस घटनापश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन् ।

यसरी क्लबमा पुगी महिलामाथि हातपात गर्ने उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन् । राजिनामा पत्रमा उनले आफ्नो गैरजिम्मेबार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रका नाममा क्षमायाचना गरेका एजेन्सीहरुले जनाएका छन् ।

सिन्ह्वाले जनाएअनुसार आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजीनामा दिएको उनले स्वीकार गरेका छन् । मनानाको राजिनामा तत्कालै स्वीकृत गर्दै अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तव्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिएका त्यहाँको सरकारी विज्ञप्तिमा जनाइएको छ । साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल कांग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ‘ठीक कार्य गरेको’ ठहर गर्दै मनानालाई धन्यवाद दिएको बताइएको छ।

महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा मुद्दा चलाएको थियो । जसअनुसार अदालतमा पाँच हजार दक्षिण अफ्रिकी ऱ्यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि उनी हिरासतमुक्त भए । अब हुने मुद्दाको सुनुवाईमा मनाना स्वयम् अदालतमा उपस्थित हुनुपर्ने जनाइएको छ ।