कंगोको पहिरोमा दुई सय पुरिए

कंगोको पहिरोमा दुई सय पुरिए


कंगोमा गएको एक भीषण पहिरोमा परेर लगभग दुई सय जनाले ज्यान गुमाएका छन् । गत बिहीबार कंगोको इतुरी प्रान्तमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या आइतबारसम्ममा दुई सयजति पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कंगोका उप गभर्नरले दिएको जानकारी उद्धृत गर्दै समाचारमा जनाइएअनुसार त्यहाँका तीन वटा गाउँमा बाढी र पहिरो गएको थियो भने ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको हो । कम्तीमा सय घरका नागरिकले पहिरोमा ज्यान गुमाएका र थप हजारौँ घर परिवार विस्थापित भएका छन् ।

उक्त पहिरोमा एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि आइतबारसम्म पनि पहाड खस्ने क्रम नरोकिएको र निकै ढिलो गरी उद्धारकर्मीहरु घटनास्थल पुग्न सकेका थिए । घटनास्थलको गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । आन्तरिक द्वन्दमा निकै नागरिकले ज्यान गुमाएको कंगोमा प्राकृतिक प्रकोपले पनि उत्तिकै सताउने गरेको छ ।