भारतमा रेल दुर्घटना : २३ को मृत्यु, ४० घाइते

भारतमा रेल दुर्घटना : २३ को मृत्यु, ४० घाइते


भारतको उत्तर प्रदेशमा रेल दुर्घटना भएको छ । शनिबार भएको दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको र अरु ४० जना घाइते भएका सिन्ह्वालाई उद्धृत गर्दै राससले जनाएको छ । यात्रु उतार्ने क्रममा १४ डिब्बाको रेल दुर्घटनामा परेको र घाइतेहरुको अवस्था गम्भीर रहेको छ । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीदेखि झन्डै एक सय किलोमिटर टाढा पर्ने मुजफ्फानगर जिल्लामा दुर्घटना भएको हो ।

‘रेलको लिकबाट बाहिर गएपछि रेल दुर्घटना भएको हो,’ उत्तर प्रदेशको प्रान्तीय प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ । वक्तव्यमा २३ जनाको मृत्यु, ४० जना घाइते भएको र घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ ।

क्षतीग्रस्त रेलको डिब्बाभित्र अरु केही व्यक्ती पुरिएको हुन सक्ने आशंका गर्दै मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । घाइतेलाई खताउली, मिरुत र मुजफ्फर्नगरका अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रहरी र उद्धारकर्ता घाइतेहरुलाई उद्धारका लागि घटनास्थलमा तत्काल खटिएका थिए । उनीहरुले क्षतीग्रस्त रेलका डिब्बाहरु काटेर घाइतेलाई बाहिर निकालेका थिए । एउटा क्रेन पनि उद्धारका लागि प्रयोग गरिएको थियो । भारतीय टेलिभिजनले दुर्घटनाका विभत्स दृश्य देखाएका छन् । स्थानीय समयअनुसार शनिबार बेलुका ५ः४५ मा दुर्घटना भएको हो ।

रेलमार्ग मन्त्रालयले अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइनसकेको जनाएको छ । मन्त्रालयले घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिएको बताएको छ । भारतीय रेल मन्त्री सुरेश प्रभुले दुखद् घटनाको अनुसन्धान गरी कारण पत्ता लगाउने व्यवस्था गरिसकेको जानकारी दिनुभयो । उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै घटनालाई नजिकबाट नियालीरहेको बताउनुभएको छ ।