गोकर्णेश्वरमा भक्तजनको भीड : यस्तो छ धार्मिक विश्वास

गोकर्णेश्वरमा भक्तजनको भीड : यस्तो छ धार्मिक विश्वास


भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा भक्तजनहरको घुइचो लागेको हो ।

गोकर्णमा लाग्ने भीडका कारण यो पर्वका दिन बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको करिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये पुण्य तीर्थ बोधिसत्वका रुपमा मानी पूजाआजा गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले यस दिन गोकर्णमा पितृ उद्धारका लागि १००८ दीप दान गर्छन् ।

गोकर्णेश्वर महादेव मन्दिरमा आज लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि प्रचारप्रसारकै अभावमा अरु बेला भने सुनसान हुने गरेको छ । शास्त्रीयरुपमा वर्णन गरिएको उत्तरगया यही भए पनि त्यसलाई बुझाउन नसक्दा ओझेलमा परेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष दीपक रिसालले बताए ।

बाबु हुनेले घरमै राम्रो खान लाउन दिई खुशी बनाउने गर्छन् । बाबु दिवंगत भएका भक्तजनले भने रत्नपार्कबाट ११ किमीको दूरीमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा आएर सम्झना गर्ने चलन छ । भाद्रकृष्ण औँशीका दिनमा गोकर्णेश्वरमा आई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले घर, मामाघर र ससुरालीतर्फका सात/सात गरी २१ पुस्ताका पितृहरु तर्छन् अर्थात् मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ । यही धार्मिक विश्वसका कारण हरेक वर्ष भाद्र कृष्ण औँशीको अघिल्लो दिन बिहानैदेखि वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लाग्ने गर्छ ।

सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ । यसैकारण यस दिन मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले बताउछन् । आज बिहान ३ बजेदेखि नै मन्दिरको ढोका खोलिएको उनले जानकारी दिए ।

भगवान् विष्णुको दायाँ पाउ रहेको स्थानमा प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९११ मा आमा रक्षाकुमारीको नाममा गदाधर नारायणको मन्दिर निर्माण गरिदिएपछि यो स्थल केही व्यवस्थित भएको हो । यस स्थानमा भगवान् विष्णुले असुर नाम गरेका राक्षसलाई पाउले किचेर मारेकाले पनि पवित्र मानिएको हो । यस ठाउँमा अहिले विष्णुपादुका बनाइएको छ । विष्णुपादुकामा श्राद्ध गरे पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।

भारतमा भएको गया दक्षिणगया र भरतखण्डको उत्तरतर्फ रहेको सात पर्वतले घेरिएको नेपालको राजधानी काठमाडौँमा रहेको गया उत्तरगया भएको शास्त्रीयरुपमा प्रमाणित भए पनि सरकारको बेवास्ताका कारण विश्वका पर्यटकको आँखामा यो स्थल ओझेलमा परेको गोकर्णेश्वरका विषयमा खोज अनुसन्धानरत ‘वेदमणि’ बताउछन् ।

बीरेन्द्र केएम, गोकर्णेश्वर /काठमाडौं