प्रचण्ड अहिले प्रधानमन्त्री नबन्ने

प्रचण्ड अहिले प्रधानमन्त्री नबन्ने


काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति स्थापना र संविधान निर्माण प्रक्रिया नटुंगिएसम्म आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। शनिबार नयाँबजारस्थित निवासमा सञ्चारकर्मीसँग दाहालले आफू पुनः प्रधानमन्त्री बन्ने भन्ने हल्ला असत्य भएको बताए। माओवादी नेतृत्व सरकार रहँदासम्म बाबुराम भट्टराई नै प्रधानमन्त्री रहिरहने उनले स्पष्ट पारे। “तत्काल सरकार परिवर्तनको कुरा छैन, शान्ति र संविधान निर्माण प्रक्रिया नटुंगिएसम्म म प्रधानमन्त्री बन्दिनँ, अहिले मेरो सबै ध्यान शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनेमा केन्द्रित छ,” उनले भने। प्रचण्ड प्रधानमन्त्री बन्दै छु भनेर शान्ति र संविधान निर्माण प्रक्रियामा बखेडा झिक्ने काम गरेको उनले बताए। “कहाँबाट यो कुरा आयोरु सरकार चेन्ज हुँदैन, मेरोविरुद्ध गरिएको हल्ला हो यो, बाबुराम र मबीच फुट गराउन, शान्ति-संविधान निर्माण प्रक्रियालाई प्रभाव पार्न गरिएको हल्ला हो,” उनले भने।
नेपालमा शान्ति स्थापना र संविधान निर्माण प्रक्रिया अघि बढिरहेकोबारे वांकी मुनलाई प्रष्ट पार्ने उनले बताए। “सेना पुनर्स्थापनाका लागि पैसा चाहिने भएकाले त्यसबारे कुरा गर्छु, अन्य दातृ संस्थाहरूसँग पनि सहयोग माग्छु,” उनले भने। लुम्बिनीको विकासमा काम गर्ने हल्ला गरिएको एपेकलाई संस्थागत गर्न अमेरिका भ्रमण गर्न लागेको भन्ने भनाइ झुठो भएको दाहालले बताए। “एपेकबारे महासचिव मुनलाई राम्ररी थाहा छ, यहाँ भने भ्रम फैल्याउन खोजिएको छ, म एपेकका लागि जान लागेको होइन,” उनले भने।
लुम्बिनी विकासमा सबै अन्तर्राष्ट्रिय पक्ष सहभागी हुनेबारे मुनसँग छलफल गर्ने उनले बताए। न्युयोर्क उड्नुअघि विमानस्थलमा दाहालले सञ्चारकर्मीहरूसँग लुम्बिनीको समग्र विकासबारे छलफल हुने बताएका थिए। लुम्बिनी विकास राष्ट्रिय समितिको निर्देशकमा सरकारले अध्यक्ष दाहाल र सदस्यमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र नेकपाका नेता मङ्गलसिद्धि मानन्धरलगायतलाई नियुक्ति गरेपछि उक्त टोली लुम्बिनीको विकासमा केन्द्रित रही अमेरिका भ्रमणमा गएको हो।-देब, मेस, काठमाण्डौ