सूर्य नारायण कोल्टे पर्दै लोरा राइडको चट्टानले बनेको सानो पहाडलाई नाँघ्दै पश्चिमतिर उन्मुख थियो । मलाई ती डाँडामाथिका घामका किरणहरुले चित्रे माथिको पञ्चासे पर्वतको अभास दिलाइरहेको थियो । शीतल हावा नदी किनारमा प्रवाहित भइरहेको शान्त वातावरणमा एउटा ठूलो क्रुज आएर किनारामा रोकियो । त्यहाँबाट निकै पर्यटकहरु उतरे हामी ठीक चार बजेर चालीस मिनट जाँदा त्यस क्रुजमाथि चढेका थियौं । राइन नदीमाथि हामी एक घण्टाजति पानी जहाज (क्रुज)को सफर गर्दै तल बोपार्डमा साँझ बास बस्ने भ्रमण कार्यक्रम तालिका रहेको थियो । क्रुजभित्र सबै कुराहरु राम्रो व्यवस्थित थियो । कैन्टिन तथा आरामसाथ बसेर यात्रा गर्ने सिटहरु सबै पानी जहाजहरुमा जस्तै थिए । हामी क्रुजको माथिल्लो छानामा गएर बाहिरका दृष्यहरु राम्रोसँग अवलोकन गर्नका लागि गयौं । जतिबेला हामी माथिल्लो छतमा पुग्यौं, जहाजका क्याप्टेनले राइन नदीको वरिपरि रहेका ऐतिहासिक महत्व रहेका कुराहरु जर्मनी र अंग्रेजी भाषाहरुमा भ्रमणकारीहरुका जानकारीको लागि उद्घोष गर्दै भनिरहेका थिए । हामी सेनगोवास्थित जहाजको फेरीबाट चढेर अझ दुई स्टेशन नदीको माथिल्लो भागतिर गएका थियौं । त्यसपछि जहाज फर्केर दाहिनेहुँदै फेरि बोपार्डतिर बिस्तारै गति लिएको थियो ।
जहाज माथितिर जाँदा राइन नदीमा अर्को नदी आएर मिस्सिइने दोभान थियो । त्यस दोभानको सँगमस्थलको बीच भागमा एकजना नवयौंवना, महिलाकी मूर्ति स्थापना गरिएको देखे । जहाजका क्याप्टेनले त्यस मूर्तिको बारेमा भ्रमणकारीहरुलाई जानकारी दिँदै …तपाईंहरुको दाँयापट्टि देखिने मूर्ति रहष्यमयी सुन्दरी लोरा राइडकी हुन् र बाँयापट्टिको चट्टानको पहाड तीनै सुन्दरीको नाममा लोरा राइड राखिएको हो … भनेर हामीलाई लोरा राइडबारे भनेका थिए । किम्बदन्तिअनुसार धेरैअघि एकजना रुपवती रहष्यमयी युवती त्यस चट्टानमाथि आएर सुमधुर स्वरमा गीत गाउँथिईन् रे । धेरै जहाजका यात्रुहरु ती युवतीको रुप र गीतमा सम्मोहन हुँदा जहाज दुर्घट्नाग्रस्त भई मरेका थिए रे । त्यसपछि त्यही चट्टानको बाँयापट्टि एउटा गिर्जाघर निर्माण गरेपछि बल्ल ती युवती त्यहाँबाट लुप्त भएकी थिईन् रे । यस कथाले मलाई कता-कता हाम्रो देशमा उहिले-उहिले भन्दै आएको चुँडैलनीको कथाको सम्झना गरायो । सन् १९४५मा एकजना रुसी मूर्तिकारले लोरा राइडको काल्पनिक मूर्ति बनाएर नदीको त्यस दोभानमा स्थापित गरेका रहेछन् ।
सेनगोवा रोन नदी किनारमा अवस्थित छ । नदीका दुबैपटि्ट २ वटा ऐतिहासिक क्यासलहरु छन् । त्यसमध्येका राइनफेष्ट क्यासलमा एकैचोटि २०००जना सम्मको फौज राख्न सक्ने ठाउँ छ भनेर क्याप्टेनले बताएका थिए । त्यस क्यासलको मुनिबाट चार किलोमीटर लामाय सुरुङको बाटो हुँदै पहाडको अर्को भागमा रहेको खुला मैदानमा निस्कँदो रहेछ । यी क्यासलहरु शताब्दियौंपहिले सामरिक महत्वलाई लक्ष्य गरेर निर्माण गरेका रहेछन् । विशेष गरी त्यस क्षेत्रको सुरक्षाकालागि बाहृय आक्रमणबाट बच्नलाई बनाइएका रहेछन् । नदीका दुबै किनारमा ठाउँ ठाउँमा गिर्जाघरहरु थिए । हाम्रो जहाजअघि बढिरहेको बेलामा हामी एउटा अचम्मको गिर्जाघरलाई पार गरेर गइरहेका थियौं, जहाजका क्याप्टन भन्दै थिए … त्यो दाँया किनारामा देखिने गिर्जाघरभित्र जाँदा पब (मदिरा बेच्ने भट्टी) भएर जानुपर्छ अर्थात् गिर्जाघरभित्र पस्दा पबको द्वारबाट प्रवेश गरेपछि मात्र गिर्जाघरभित्र पस्न सकिन्छ र निस्कँदा पनि त्यही पब भएर निस्कनुपर्छ । गिर्जाघर पबसित नै जोडिएको थियो । मैले केहीबेर सोँचे धार्मिक अनुष्ठानसँगै मदिरा बेचेर पिउने पसल ? मान्छेले रक्सी सेवन गर्दै गएपछि नशामा बहकिन सक्छ, झगडा हुनसक्छ किन गिर्जाघर यसरी निर्माण गरिएको होला भनेर केहीबेर सोँचे, तर, मलाई यस कुरामा सोँचेर केही गर्नुछैन भनेर ध्यान दृश्यहरुमा केन्द्रित गरे । क्याप्टेनले त्यति मात्र भनेका थिए, तर, मैले यसबारे उनलाई केही पनि सोधिनँ ।
त्यसपछि हाम्रो जहाज नदीको बाँयापट्टि सानो सुन्दर गाउँ बेतसालती भएर जाँदै थियो । जहाजका क्याप्टेनले त्यस गाउँको पानीको महत्वबारे भन्दै थि्ए, “हेर्नुहोस् त्यो बेतसालती गाउँ ..त्यहाँको पानीबाट हजारौ वर्ष पहिलेदेखि साइटिका (नशासम्बन्धी रोग भएका) रोगीहरुका उपचार भइरहेको छ .. त्यहाँको पानीको सेवनले साइटिकाको बिमारी निको हुन्छ भन्ने विश्वास छ.” । हामी राइन नदीमा केवल एकघण्टाका लागि सफर गरिरहेका थियौं । उसरी राइन नदीको सफर जहाजबाट गर्ने हो भने अन्तिम समुन्द्रसम्म पुग्नका लागि केहीदिन लाग्न सक्छ । यसरि नदीको सफर गर्दै जाँदा अहिले हामी एउटा मारिया नाम गरेको गिर्जाघरलाई छाड्दै गइरहेका थियौं । यो गिर्जाघर वरिपरिका रोमन क्याथोलिकहरुका लागि वर्षेनी आउने तीर्थधाम रहेछ । यहाँ वर्षमा कम्तीमा साढे दुईलाखभन्दा बढी मानिसहरु तीर्थयात्री बनेर आउने कुरा जहाजका क्याप्टेनले भनेका थिए । यस्तै सुन्दर दृश्यहरु हेर्दै ऐतिहासिक महत्वका कुराहरु सुनिरहँदा हामी मध्येका भ्रमणटोलीका सबैभन्दा बृद्धा जोडी, ८२ वर्षीय साउथ अफ्रिकन जोन र उनकी ७३ वर्षीया प्रेमिका (केटीसाथी) अनिज्जीले जहाजको छानामाथि त्यो रमाइलो वातावरणलाई थप रमाइलो पार्न युगल नृत्य गर्न थाले । ती दुबैले जर्मनी गीतको धुनमा बलडान्स गरेका थिए । श्रीमती भन्दै थिईन् … ओहो बुरा यस उमेरमा पनि कति जोश र जाँगर कति रोमान्टिक जोडी … त्यसपछि सबैका सामु दुबैजनाले चुम्बन गरेर माहौल अझ रौनक बनाइदिएका थिए । २ वर्ष अघिमात्र जोनलाई अनिज्जीले प्रस्ताव राखेकी थिईन् । अहिले यस उमेरमा पनि उनीहरु युवाहरुलाई मात दिने प्रेमीप्रेमिका बनेर हाम्रो भ्रमणको अभिन्न हिस्सा बन्दै हामीलाई प्रेमको मिसाल दिँदै छन् । रोमान्सलाई उमेरले छेक्दैन भन्ने उदहारण थिए उनीहरु ।
हामी मस्त हुँदै, रमाइलो गर्दै सुन्दर गिर्जाघरहरु, नदी किनाराका सुन्दर गाउँहरु र दृश्यहरु हेर्दै अघि बढिरहँदा पर नदी किनारमा आजको हाम्रो वास बस्ने गन्तव्य बोपार्ड देखिन थालेको थियो अर्थात् जर्मनीको यो छोटो राइन नदी क्षेत्रका उपत्याकाको हाम्रो भ्रमण टुङ्गदिै थियो । यतिबेला साँझको पाँच बजेर पैंतालीस मिनट भएको थियो । बोपार्डको बारेमा पहिले कहिल्यै सुनेको थिएन । वास्तवमा यो सानो घाटबाट जहाजहरुका फेरीमा विकसित हुँदै सुन्दर शहरमा परिणत भएको प्रतीत भयो मलाई । पानी जहाज किनारमा रोकेपछि हामी जहाजको ग्याङवेबाट निस्क्यौं । केहीपर हाम्रो बास बस्ने होटलअघि कोच र ड्राइभरहरुलाई देख्यौं । अहिलेसम्म रात बिताएका होटलहरुभन्दा यो होटल हामीलाई राम्रो लाग्यो । ठूलठूला अलिशान कोठाहरु सबै आधुनिक सुविधायुक्त भएको होटलमा आउँदा मन प्रफुल्ल भयो । आज बेलुकि होटलमा हाम्रो विशेष प्रोग्राम थियो । गाइडले हामीलाई सबैले आ-आफ्नो राष्ट्रिय झल्काउने अर्थात् राष्ट्रिय पहिरन गरेर आउने अनुरोध गरेकी थिईन् । यसमा राम्रो पहिरन वालालाई पुरस्कार पनि दिने घोषणा पनि गरेकी थिईन । आजको डिनरलाई उनले नेशनलिटी डिनरको संज्ञा दिएकी थिईृन् ।
हामीहरु जम्मा १३ राष्ट्रका ३४जना भ्रमणकारीहरु थियौं । श्रीमतीले … के लगाउने होला बुरा भनिन्… मैले … साडी लगाऊ… म शुट लगाउँछु … भनेँ । बुरियाले एकजोर साडीब्लाउज लगेकी थिईन् । हामीलाई नेशनलिटी डिनर हुन्छभन्ने पूर्वसूचना थिएन । गाइडले आफ्नोतर्फबाट मनोरञ्जनका लागि कार्यक्रम बनाएकी रहिछन् । नुहाइवरी हामी तयार भएर डिनर हलमा जाँदा सबैजना पहिले नै गइसकेका रहेछन् । हामी त्यहाँ पुग्दा तालीको गडगडाहटले स्वागत गरे । बुरियाको साडीको पहिरन सबैले मन पराए । बुरिया साडीमा साह्रै राम्री देखेकी थिईन् । सबै दंग परेर जानासाथ बुरियासँग फोटो खिच्न थालेका थिए । त्यसपछि हामीले धेरै परिकारका स्वादिष्ट खाना खायौं । खाना खाइसकेपछि राष्ट्रिय पोशाककालागि जजहरु गाइड र २ जना ड्राइभरहरु बनेका थिए । १३ राष्ट्रबाट राष्ट्रिय पोशाक लगाएर गएका ३४ जना भ्रमणकारीहरुमा आधाजतिले राष्ट्रिय पोशाक लगाएका थिएनन् । सायद म जस्तै पोशाक नै नलगेर होला, तर, १६, १७ जनाले आ-आफ्नो पहिरन गरेर गएका थिए । अन्तिम छनौटमा मेरो बुरिया र एकजना अमेरिकी महिलालाई संयुक्त रुपमा प्रथम घोषित गरेर रमाइलोका लागि एक एक बोतल वाइन पुरस्कार दिएका थिए । यो पनि एउटा जीवनमा प्राप्त रमाइलो र खुशीको अनुभूति थियो । भ्रमणलाई रोचक बनाउने गाइडको यो राम्रो तरिका थियो । सम्पूर्ण यात्राभरि कसैलाई बोर नलागोस् भनेर कहिल्ो क्वीज, कहिले विंगो प्रतियोगिता र कहिले फिल्महरु देखाउँदै यात्रा छोट्याउदै गरेकी थिईन् समीले । समग्रमा भ्रमणटोलीका गाइड, ड्राइभरहरु र भ्रमणटोलीका साथीहरु सबैमा राम्रो तालमेल थियो । अहिलेसम्म कुनै शिकायतबिना हाम्रो दशौं दिन बितिसकेको थियो । रातको डिनरपछि हामी आफ्नो कोठातिर आयौं । त्यसभन्दा पहिले रिसेप्शनको कम्प्यूटर रुमबाट छोराछोरीलाई इमेल गरेर हामी कोठामा आएर सुत्यौं । अब हाम्रो एक दिन र एक रातको भ्रमण बाँकी थियो कारण पर्सिपल्ट हामी लण्डन र्फकँदै थियौं ।
आज हाम्रो भ्रमणको ११औ दिन, हामी अहिले राइन नदीको किनारमा ब्रेकफास्टपछि तयार भएर जर्मनीको पश्चिमी भूभाग हुँदै नेदरल्याण्ड अर्थात् डचल्याण्डतर्फ जान तयार छौं । हामी नेदरल्याण्डको राजधानी आर्मस्टार्ड्याम नजिकैको मानिकेनड्यामको लेकल्याण्डमा एकरात बिताउने त्यसपछि भोलिपल्ट बेल्जियमको ब्रुज हुँदै क्यालेइ अनि इङ्लिश च्यानल पार गरेर डोभर हुँदै क्यानाडा वाटर लण्डनमा साँझ ६ बजे आइपुग्ने भ्रमणतालिका थियो । हाम्रो कोचमा सबै सामान राखिसकेका छौं । बोपार्डलाई अन्तिम बाइ-बाइ गर्दै हामी अहिले डचवासीहरुको राष्ट्रतर्फ गइरहेका छौ । समुन्द्रको सतहदेखि एकदमै कम उँचाइ भएको नेदरल्याण्डका भूभाग समथर र प्रचुरमात्रामा पानीको सुविधा रहेको राष्ट्र रहेछ, तर, ग्लोबल वार्मिङ अर्थात् विश्व जलवायुमा तापको कारणले गर्दा हिम स्खलन हुँदै गएपछि यो राष्ट्र पूर्ण रुपले डुब्ने राष्ट्रहरुमा सबैभन्दा पहिलो राष्ट्र हुन आउँछ भनेर विज्ञहरुले सचेत गरेका छन् ।
डचवासीहरुका देश चीज, काठको जुत्ता क्लोग र हावाघर अर्थात् विण्डमिलका लागि प्रख्यात छ । हामी जर्मनीको भूभागलाई छाड्दै नेदरल्याण्डमा प्रवेश गरिरहेका छौ । राजधानी आर्मस्टार्ड्याम आर्मस्टर नदी र ठूलो ड्यामको मुखमा अवस्थित भएको हुनाले आर्मस्टार्ड्याम रहन गएको भनाइ छ । आर्मस्टार्ड्याम शहर व्यापार, राजनीति तथा ऐतिहासिक हिसाबमा आफ्नै छुट्टै विश्वमा अस्तित्व बोकेकी शहर हो । इतिहासमा कुनै समय बेल्जियम र नेदरल्याण्ड एउटै राष्ट्र थियो, तर, सन् १८३० पछि भाइकिङ लडाकुहरुले छुट्टै बेल्जियम राष्ट्रको निर्माण गरेका रहेछन् । नेदरल्याण्डलाई हिटलरले दोश्रो विश्वयुद्धमा चढाइ गरेर जर्मनीमा गाभेका थिए । त्यस्तै नेपोलियन बोनापार्टले यूरोपभरि फ्रान्सको साम्रज्य फैलाउँदा उनले नेदरल्याण्डलाई फ्रान्सेली साम्राज्यमा गाभेका थिए । उनले नेदरल्याण्डलाई फ्रान्सेली साम्राज्यमा गाभेपछि उनी आर्मस्टार्ड्याम आएका थिए । त्यतिबेला आर्मस्टार्ड्याममा वेश्यावृत्ति फस्टिइसकेको थियो । भनाइअनुसार आर्मस्टार्ड्याम ा माछा मार्ने माझीहरुलै धेरै माछाहरु मारेर माछाको व्यापार गर्थे रे त्यसबाट आमदानी भएको पैसा खर्च गर्ने ठाउँ नहुँदा रक्सी भट्टीमा गएर रक्सी पिउँदै मनोरञ्जन गर्ने क्रममा महिलाहरुसँगको यौन चाहाना राख्थे रे । यी माछा मार्ने पैसावालाहरुले पैसा तिरेर महिलाहरुसँग यौंन चाहाना पूरा गर्थे, कालान्तरमा खुलेआम वेश्यावृत्तिको चलन यहाँबाट शुरु भएको हो भन्ने भनाइ छ । नेपोलियनको पालासम्म यहाँ वेश्यावृत्ति राम्रोसँग मौलाइसकेका थियो भनिन्छ । नेपोलियनले पनि नारीप्रतिको यौन चाहानामा नै यहाँ आएका थिए भनिन्छ । जुन हिसाबले यहाँ वेश्यावृत्ति फस्टिइसकेको थियो त्यसलाई नेपोलियनले रोक्न कुरा गरेनन् अपितु उनले यस्ता पेशा गर्नेहरुलाई असली पहिचान दिनकालागि प्रत्येक वेश्यालयको अघि रातो लालटेन झुण्ड्याउने आदेश दिएर यस्ता क्षेत्रलाई रातो लालटेन भएको क्षेत्र अर्थात् रेडलाइट एरिया भन्ने प्रचलन शुरु गरेका थिए । अचेल विश्वभरि वेश्यावृत्ति गर्ने ठाउँलाई रेडलाइट क्षेत्र भन्ने चलन रहेको छ । त्यसपछि हिटलर सन् १९४४मा दोश्रो विश्वयुद्धताका आर्मस्टार्ड्याममा आउँदा उनले कानूनी हिसाबमा वेश्यावृत्ति गर्ने पहिलोचोटि बैधानिकता दिएका थिए । विश्वमा अहिले आर्मस्टार्ड्यामको रेडलाइट जिल्ला एकदमै प्रख्यात छ । धन्यवाद … आजलाई यहीसम्म फेरि अर्को एपिसोडमा ।
प्रतिक्रिया