यसरी गरौँ तीजको सदुपयोग

यसरी गरौँ तीजको सदुपयोग


– निर्जला कक्षपति

तीजको दर खाने क्रम बढ्दै जाँदा देशका केही भू–भागमा गएको बाढी–पहिरोका कारण, धेरै दिदी–बहिनीले यसपालि तीजमा दर खाएर तामझाम गर्नुभन्दा बाढी पीडितलाई सहयोग गर्ने निधो गरे । यो निधोलाई धेरैले स्वागतयोग्य माने । तर, धेरै पहिले नै निश्चित गरिएका र निम्तो पठाइसकेका कार्यक्रमहरूलाई रद्द गर्न गाह्रो पर्ने भएकाले कतिपय सङ्घ–संस्थाले कार्यक्रम गरेरै छाडे । यसलाई पनि पहिले नै निश्चित गरिसकेको कार्यक्रम भएको हुनाले नराम्रो मान्न सकिने अवस्था रहेन र पहिले नै निश्चित भएको कार्यक्रम हो, बोलाएको ठाउँमा जानुपर्छ भन्दै कतिपय महिला दिदीबहिनीहरू तीजको दर खाने कार्यक्रममा सरिक भएको पाइयो ।

दर खाने कार्यक्रममै सहभागी हुन यो पङ्क्तिकारलाई पनि एउटा स्कूलले आमन्त्रण गरेको थियो । पहिलो त स्कूलले किन अभिभावकलाई तीज कार्यक्रममा बोलायो भनेर छक्कै परेकी थिएँ, दोस्रो स्कूलले चाहिनेभन्दा नचाहिने कुरालाई जोड दिन थालेको हो कि भन्ने मनमा शङ्का थियो । मन नलाग्दा–नलाग्दै कार्यक्रममा सहभागी भएँ तर त्यहाँ पुगेपछि त यस्तो लाग्यो कि बरु नआएको भए केही कुरा सिक्ने र बुझ्ने मौका छुट्ने रहेछ ! स्कूलले त विशेषगरी आमाहरूलाई जम्मा पारेर ‘बढ्दै गएका छोराछोरीहरूको उमेरसँगै उनीहरूमा देखिने परिवर्तन अनि आमाबाबुले आफ्नो छोराछोरीलाई गर्नुपर्ने व्यवहारका बारे’ महत्वपूर्ण कक्षा लिएको थियो । सुन्दा निकै नै सामान्य लाग्ने यो विषय उत्तिकै गहन पनि छ । कुन उमेरका केटाकेटीसँग कस्तो व्यवहार गर्ने भन्ने ज्ञान हामी धेरै अभिभावकलाई थाहा छैन । आफ्नो छोरा या छोरी भनेर कसैले बढी माया गर्ने गर्छन्, कसैले बढी स्वतन्त्र छाडिदने गर्छन् कसैले बिग्रने हो कि भन्ने डरले नियन्त्रण गर्छन् । फेरि हामी अभिभावकहरू, छोराछोरीको अगाडि कस्तो कुरा गर्ने कस्तो नगर्ने भन्ने सामान्य हेक्का पनि राख्दैनौँ ।

त्यसैले यी सब कुराको ज्ञान हुनु त आवश्यक छँदैछ । तीज सेलेब्रेसनको मौका छोपेर स्कूलले आयोजान गरेको त्यो कार्यक्रम देखेर मेरो मन खुसीले गद्गद् भयो । अन्य थुप्रै विषयवस्तु र समस्याहरू छन् भेलामा जम्मा भएको बेला किन छलफल नगर्ने भन्ने प्रश्न पनि उब्ज्यो । अनि यस्तो छलफल गरे त महिलाहरू एक महिना अगाडिदेखि तीजकोे दर खाएर र नाचेर मात्र हिँड्छन् भन्नेहरूको पनि मुख टालिन्छ होला नि भन्ने जस्तो पनि लाग्यो । हुन पनि हामी महिलाका कति धेरै समस्या हुन्छन् घरको कुरा बाहिर लैजाँदैनौँ । समाज, सुसंस्कृत र सभ्य देखिए पनि पढेलेखेको घरमा पनि सासु बुहारीबीच मेल छैन । हामीहरू मानसिक तनाबमा हुन्छौँ तर पनि साथीभाइसँग अथवा आफन्तजनसँग कुरा सेयर गर्ने मौका पाइरहेका हुँदैनौँ ।

तीज, खाली खाएर र नाच्ने कार्यक्रम मात्र होइन । यसको धार्मिक र सांस्कृतिक महत्व पनि छ । पछिल्लो समयमा तीज कार्यक्रमको आयोजना गरेर केही जनचेतना फैलाउने कार्यक्रमहरू पनि भैरहेका छन् । यो निकै नै सकारात्मक छ । धर्मका आडमा महिलामाथि कसरी विभेद भैरहेको छ, अथवा महिलाको शरिरलाई अछुतो मान्ने हाम्रो धर्म अनि ऋषिपञ्चमीमा ३ सय ६५ चोटी नुहाएर शुद्ध भई ऋषिहरूको पूजा गने परम्परा कत्तिको सही भन्ने विषयमा बहस चल्नु निकै नै सकारात्मक पक्ष हो ।

अहिले तराई, बाढी–पहिरोको डुबानमा छ । तराईका जनतालाई दुःख परेको बेलामा पहाडमा बस्नेले रमाइलो गर्न सक्दैन । यही नै नेपालीपन हो । तराई डुबानमा परेको बेला किन रमाइलो गर्नु भन्ने भावना व्यक्त हुनु राम्रै कुरा हो । तराई रोएका बेला पहाडका जनताको मन दुख्नुपर्छ । अनि पो हामी एक हौँ जस्तो लाग्छ । हुन पनि एक ठाउँमा दुःख परेका बेला अर्को ठाउँका जनताले कसरी रमाइलो गरी बस्न सक्नु ? कुरा बाढी नआउँदैको हो, एक महिनाअघिदेखि नै दिदी–बहिनीहरू तीज कार्यक्रममा सरिक हुँदा धेरैले आलोचना गरेका थिए । यसमा आलोचना गर्नै पो किन प¥यो र ? पुरुषहरू दिनदिनै घरबाट निस्कन्छन् बाहिरै खान्छन्, महिलाले वर्षदिनको एकचोटी रमाइलो गर्दा यसमा आलोचना गर्नुपर्ने आवश्यकता देखिँदैन । फेरि तीजको कार्यक्रम, महिनादिनभर जस्तो देखिए पनि महिनौँ दिनभर नै एकजना महिला दर खान गएकी हँुदैनन् । बढीमा गए दुई ठाउँमा हो । फेरि, एकजना गृहिणी घरबाट निस्कन पाउनु भनेकै ठुलो कुरा हो । साथीभाइसँग भेटघाट गरेर रमाइलो गर्दा उसको जीवनमा महत्वपूर्ण खुसी प्राप्त हुन सक्छ । कसैलाई राम्रो साडी लगाएर खुसी प्राप्त हुन्छ भने त्यो उसले गर्न पाउनुपर्छ । यसैगरि कसैलाई हातभरि चुरा लगाएर हिँड्दामा खुसी प्राप्त हुन्छ उस्ले हातभरि चुरा लगाएर हिँड्न सक्छ । यसमा कसैले आपत्ति जनाउन सक्दैन । एउटा मात्र कुरा के हो भने उसले गरेका क्रियाकलापले समाजमा आडम्बर र विकृत्ति फैलन भएन ।

तीज, खाली खाएर र नाच्ने कार्यक्रम मात्र होइन । यसको धार्मिक र सांस्कृतिक महत्व पनि छ । पछिल्लो समयमा तीज कार्यक्रमको आयोजना गरेर केही जनचेतना फैलाउने कार्यक्रमहरू पनि भैरहेका छन् । यो निकै नै सकारात्मक छ । धर्मका आडमा महिलामाथि कसरी विभेद भैरहेको छ, अथवा महिलाको शरिरलाई अछुतो मान्ने हाम्रो धर्म अनि ऋषिपञ्चमीमा ३ सय ६५ चोटी नुहाएर शुद्ध भई ऋषिहरूको पूजा गने परम्परा कत्तिको सही भन्ने विषयमा बहस चल्नु निकै नै सकारात्मक पक्ष हो । यसले के सन्देश दिन्छ भने महिलाहरूले आयोजना गरेको तीज कार्यक्रममा खाली खाएर र नाचेर मात्र रमाइलो गर्दैनन्, गहन र गहकिलो विषयमा छलफल पनि गर्छन् है भन्ने सन्देश दिन्छ ।

निश्चय पनि कतिपय महिलाहरूमा ज्ञानको कमी छ, यस्ता महत्वपूर्ण विषयमा छलफल गर्नुपर्छ भन्ने ज्ञान नहुन सक्छ । तर कतिपय घर गृहिणी महिलाहरू एक–आपसमा भेटेर आफ्नै कुरा गर्दा पनि ठूलो भारी बिसाएजस्तो हुन्छ । कतिपय मनका कुराहरू आफ्नै घरपरिवारका मानिससँग पनि व्यक्त गरिँदैन । साथीभाइसँग मात्र गरिन्छ । आफ्नो मन मिल्ने साथीसँग भेटेर मनका सबै कुरा गर्दा पनि मन साह्रै हलको हुने गर्दछ । फेरि तीज भनेकै यस्तो पर्व हो, महिलाहरू माइत जाने, अनि घरमा आफूले भोग्नुपरेका दुःख–सुख माइतीसँग बाँड्ने हो । पहिले पहिले चेलीबेटीहरू माइती गइरहन पाउँदैनथे । बाटोघाटो र अन्य कारणले गर्दा मुख्य चाडबाड जस्तो दशैं–तिहार जस्ता महत्वपूर्ण चाडवाडमा मात्र जान पाउँथे । त्यसैले तीजका गीतहरूमा पनि दुःख र गुनासो मिसिएको हुन्थ्यो । महिलाका लागि निकै नै महत्वपूर्ण मानिने तीजमा माइत जान नपाएपछि गुनासोका गीतहरू गाउने चलन थियो । जस्तो, हरिदेवी कोइराला र लक्ष्मी गिरीले गाउनुभएको यो गीत निकै नै सान्दर्भिक लाग्ने गर्दछ ।

वर्ष दिनका तीजमा बाबा लिन आएका, पठाएनन् घरकाले फर्के फरक्क ।
छोरी आइनन् भनेर आमा रुलिन् धरक्क, दशैं र तिहारमा जाम्ला लरक्क ।
अहिलेको तीजैमा माइत जान पाइन म, अहिलेको तीजैमा घरै बस्न पऱ्यो म ।

यसरी दुःख पोखेर गीत गाउने चलन थियो । अब पनि महिलाहरूले तीजको दर खाने कार्यक्रमलाई केवल रमाइलोमा नबिताएर केही सिक्ने, महत्वपूर्ण विषयमा छलफल गर्ने गरी समयको सदुपयोग गर्नुपर्छ ।