स्व.आदिकवि हर्कबहादुर गुरुङ अक्षयकोष

स्व.आदिकवि हर्कबहादुर गुरुङ अक्षयकोष


लण्डन । गुरुङहरुका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको स्मरणमा बेलायतवासी तमूहरुले योगेश गुरुङ (भुम्दी) हाल थेम्समिड, लण्डनको संयोजनमा एउटा अक्षयकोष निर्माण गरेर गुरुङ भाषा, साहित्य, संस्कार र संस्कृतिका लागि विशेष योगदान दिने एकजना गुरुङ महिला तथा एकजना पुरुषलाई प्रत्येक वर्ष निर्माण गरिएको अक्षयकोषको ब्याजबाट पुरस्कृत गरिने अभियानमा लागेका छन् । यस कार्यका लागि योगेश गुरुङको संयोजनमा एउटा समितिको गठन केही महिनाअघि गरिएको थियो ।
स्वर्गीय हर्कबहादुर गुरुङले आफ्नो जीवनकालमा गुरुङभाषामा गीत तथा कविताहरु रचेर शिक्षाबाट वञ्चित भएका गुरुङ समुदायलाई जनचेतना जगाउने अथक प्रयास गरेका थिए । उनले रचेका गीतहरु आजभन्दा पाँच दशकअघि अत्यन्त लोकप्रिय भएर गाउँबेसीहरुमा सबैका जनजिब्रोमा झुण्डिएको थियो । स्वर्गीय आदिकवि हर्कबहादुर गुरुङले तमुसमाज र समग्र राष्ट्रलाई ठूलो योगदान गरेर ऋणी बनाएका छन् । उनी तमूजातिको मात्र नभई राष्ट्रकै गौरव र सम्पति हुन् । त्यसकारण तमूधिं नेपालले उनलाई गुरुङहरुका आदिकविको उपाधिबाट विभुषित गरेको छ । स्वर्गीय आदिकवि हर्कबहादुर गुरुङले आफ्नो जीवनको महत्वपूर्ण समयहरु गुरुङजातिका हित तथा देशका लागि समर्पित गरेका थिए । जुन बेला संघसंस्थाहरु स्थापनाको लागि प्रतिबन्धित थियो, न सञ्चार जगतको राम्रो पहुँच थियो, समाजहितका लागि उनी एक्लै हिँडिरहे र एक्लै भौतारिरहेका थिए । त्यतिबेला यातयातको सुविधा थिएन, अहिलेको २१औं शताब्दीमा जस्तो पत्रपत्रिका, एफएमरेडियो र टीभीजस्ता सुविधाजनक सञ्चारको माध्यम थिएन । त्यतिबेलाको एउटा गीत “क्यू दे थुलेन दुःख मुना अगुई हृयुलारी” अर्थात् “पानी पिउँदा पनि दुःख रहिछ अर्काको मुलुकमा” भन्ने गीत यति धेरै लोकप्रिय भएको थियो कि सारा गुरुङ समुदायका युवायुवतीहरुले मेलापात, घाँसदाउरा र आ-आफ्नो दिनचर्याको प्रत्येक पलहरुमा गुनगुनाउँथे ।
गुरुङ समुदायको पहिलो र्सजकलाई अक्षयकोष निर्माण गरेर उनको कामलाई सम्मान गर्ने अभिप्रायले संयोजक योगेश गुरुङ, यस अभियानका सल्लाहाकार सुमल कुमार गुरुङ, सदस्यहरु क्रमशः खड्का गुरुङ, बबिता गुरुङ, सूर्य गुरुङ, हुमान सिंह गुरुङ, जुम प्रसाद गुरुङ तथा पूर्ण गुरुङलगायतका उपस्थितिमा दिनांक ५ नोभेम्बर २०११ को दिनमा प्लमस्टिडस्थित नमस्ते रेस्टुरेन्टमा एउटा बैठक बसेको थियो । बैठकले हालसम्म उठेको रकम उपर छलफल गरेर सो रकम तमूधिं नेपाललाई पठाएर यस अक्षयकोषसम्बन्धी निर्माण गरेको विधानअनुरुप अक्षयकोष सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म जम्मा अक्षयकोषका लागि तीनहजार पाँचसय दुई पाउण्ड रकम संकलन भएको छ । यो अक्षयकोषको रकम समय अनुकुल बढाउँदै लैजाने कुरा बैठकले पारित गरेको छ । सुमल, मेस ।