लण्डन । सन् २००९ मा विश्व प्रसिद्ध गायक माइकल ज्याक्शन ५० वर्षको उमेरमा ड्रगको परिमाण बढी भएर अल्पायुमा नै मृत्यु भएका थिए । उनको मृत्युले उनका करोडौ फ्यानहरुलाई ठूलो आघात पुगेको थियो । उनी मरेर गए, तर, लण्डनमा जुलाइ २००९मा आयोजना गरिएको ओटू, ग्रिनिचको भव्य प्रोग्रामको आयोजकलाई मिलियनौ पाउण्डको घाटा पनि व्यहोर्नु परेको थियो । आफ्नो भिन्नै नृत्यकला र गायनकलाबाट सारा विश्वलाई आकर्षण गर्न सक्ने क्षमता भएका ज्याक्शन संगीत जगतको लिजेण्ड नै हुन् ।
जीवनमा धेरैचोटि कैयौं स्क्याण्डलहरुबाट गुज्रेका यी महान कलाकार, माइकल ज्याक्शनको अन्तिम दिनहरुमा डाक्टर कोन्राड मुरे उनका व्यक्तिगत चिकित्सकको रुपमा खटिएका थिए । ज्याक्शनको मृत्युपछि उनका मृत्युको कारणको खोजबिन र पोस्टमार्टमबाट प्राप्त प्रतिवेदनलाई लिएर उनका फ्यानहरु र परिवारले डाक्टर कोनराड मुरे ज्याक्शनको मृत्युको कारण हो भनेर आरोप लगाएका थिए । त्यसपछि उनलाई यस आरोपमा मुद्धा दायर गरेका थिए । डाक्टर मुरेका वकिलहरुले ज्याक्शन पेनकिलर खानेकुरामा एडिक्ट भएका थिए भनेर कोनराडलाई बचाउने कोशिस गरे तापनि उनीहरु त्यस कुरामा विफल भए । २ वर्षसम्मको अनुसन्धान, प्रमाण, साक्षीहरु र ज्यूरीहरुका निर्णयले डाक्टर कोनराड मुरे नै ज्याक्शनको मृत्युको कारण रहेको अन्तिम फैसला दिएका छन् । हिजो रातिको बहुप्रतीक्षित निर्णयले अन्ततोगत्वा माइकल ज्याक्शनको उक्त डाक्टरलाई जेल चलान गर्ने भएको छ ।
डाक्टर कोनराडले शक्तिशाली एनेस्थेटिक ड्रगको बढी मात्रा दिएर ज्याक्शनको मृत्यु भएको कुरा सावित भएको छ । ५८ वर्षीय डाक्टर मुरेलाई ज्यूरीहरुको निर्णय सुनाउँदा उनका अनुहारमा कुनै प्रतिक्रिया भएको थिएन जबकि ज्यूरीको भर्डिक्ट सुनाएपश्चात सन्नाटालाई चिर्दै एउटी महिला कराएकी थिईन् । अदालतबाहिर हजारौं फ्यानहरु खुशी मनाइरहेका थिए । डाक्टर मुरेलाई हथकडी लगाएर अदालतबाट बाहिर लगिएको थियो । उनलाई अब २९ नोभेम्बरको दिनमा चार वर्षसम्मको जेलचलान गर्ने आदेश दिइनेछ साथै चिकित्सा पेशाको उनको प्रमाणपत्र पनि खारेज हुने सम्भावना रहेको कुरा बताइएको छ । ६ हप्तासम्म लसएन्जेल्समा चलेको ज्यूरीहरुका छानबिनमा डाक्टर मुरेलाई लापरवाही गरेको र गायक ज्याक्शनलाई प्रोपोफोलको सांघातिक असर हुँदा त्यतिकै छाडेर हिँडेको आरोप पनि लागेको थियो । -सुमल, मेस ।
प्रतिक्रिया