जेलमुक्त भइन् द. कोरियाकी प्रथम महिला प्रधानमन्त्री

जेलमुक्त भइन् द. कोरियाकी प्रथम महिला प्रधानमन्त्री


गैरकानुनी राजनैतिक कोष स्वीकार गरेको अभियोगमा दुईवर्षे जेल सजाय भोगेर दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुक बुधबार रिहा भएकी छिन् । त्रिहत्तर बर्षीय नेतृ सुकले सन् २००६ को अप्रिलदेखि एक बर्ष दक्षिण कोरियाको प्रथम प्रधानमन्त्रीका रूपमा तत्कालिन राष्ट्रपतिको रोह मु ह्युनको मातहतमा रहेर काम गरेकी थिइन् भने दक्षिण कोरियाको इतिहासमै जेल जाने पहिलो पूर्वप्रधानमन्त्री पनि उनी नै बनिन् ।

हानमाथि सन् २०१५ मा सात लाख ६० हजार अमेरिकी डलर बराबरको रकम आफ्नो दलको राष्ट्रपतीय निर्वाचनको मनोनयनका लागि एक व्यापारीबाट सन् २००७ मा गैरकानूनी रूपमा लिएको अभियोगमा अदालतले दुई बर्षको जेल सजाय सुनाएको थियो । तर उनले तत्कालिन अनुदारवादी सरकारले सरकारी अभियोजकलाई प्रयोग गरी आफ्नो ख्यातीलाई बदनाम गराउन दोषी ठहर गराएको भन्दै आरोपको खण्डन गर्दै आएकी छिन् ।

हिजो बुधबार विहान जेलमुक्त हुँदा नेतृ सुकको स्वागत गर्न उनका हजारौँ समर्थक तथा कैयौँ राजनैतिक सहकर्मी सोलको बाहिरी क्षेत्रमा रहेको जेल परिसर बाहिर भेला भएका थिए । कोरियाली समाचार संस्था योन्हापले सुकको भनाईलाई उद्धृत गर्दै भनेको छ, ‘दुई बर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो । अन्ततः नयाँ संसार पाएको र यसप्रति आभारी छु ।’

तस्बिर : गुगल