संयुक्त लोकतान्त्रिक मोर्चाको विज्ञप्ति

संयुक्त लोकतान्त्रिक मोर्चाको विज्ञप्ति


संयुक्त लोकतान्त्रिक मोर्चा नेपालले भर्खरै एक विज्ञप्ति प्रकाशित गरेको छ, जसमा गत २०५५ साल असार १० गते ओखलढुंगाका सर्वसाधारण नागरिक उज्जनकुरमार श्रेष्ठको गोली हानी विभत्स सत्या गरेको अपराधमा २०६६ पुस १९ गतेको सम्मानित सर्वोच्च अदालतको फैसलाबमोजिम सर्वस्व हरण र जन्मकैदको सजाय पाएका एमाओवादी सभासद बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रीपरिषदको हालैको निर्णयले मोर्चालाई स्तब्ध एवं क्षुब्ध बनाएको बारे विरोध गर्दै उक्त संस्थाको अध्यक्ष महेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित निम्न प्रकारको विरोधसहितको माग सार्वजनिक गरेको छः-

२०५५ साल असार १० गते ओखलढुंगाका सर्वसाधारण नागरिक उज्जनकुरमार श्रेष्ठको गोली हानी विभत्स सत्या गरेको अपराधमा २०६६ पुस १९ गतेको सम्मानित सर्वोच्च अदालतको फैसलाबमोजिम सर्वस्व हरण र जन्मकैदको सजाय पाएका एमाओवादी सभासद बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रीपरिषदको हालैको निर्णयले यस मोर्चालाई स्तब्ध एवं क्षुब्ध बनाएको छ । व्यक्तिगत रिसइवीका कारण भएको उक्त गैरन्यायिक जघन्य हत्यालाई राजनीतिक आवरणले छोपेर अदालतको फैसलालाई स्वीकारै नगरेर बसेका हत्यारालाई उन्मुक्ति दिने सरकारको उक्त कुत्सित निर्णयको यस मोर्चा घोर भत्सर्ना गर्दछ र तत्काल सो निर्णय रद्द गर्न र अदालतको फैसला कार्यान्वयनमा अवरोध नपुर्‍याउन समेत जोडदार माग गर्दछ ।
मानव हत्या जस्तो जघन्य अपराध र अपराधीलाई पार्टीगत राजनीतिको नाममा यसरी माफी दिइएमा अरु पनि सयौं हत्याराहरुले उन्मुक्ति पाउने बाटो खुल्ने भएको हुँदा सरकारको उक्त नियोजित निर्णय विरुद्ध सशक्त रुपमा उत्रन हुन र आवश्यक परे यस मुद्दालाई अपराधसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालयमा लैजान हुनसमेत मानव अधिकार क्षेत्रमा कृयाशील सबै संघ-संस्था र व्यक्तित्वहरुसमक्ष यस मोर्चा हार्दिक अपिल गर्दछ । सरकारको उक्त निर्णय नेपालको अन्तरिम संविधानको माफीसम्बन्धी धाराको मर्म र भावनाविपरीत भएको हुँदा सो निर्णय कार्यान्वय नगर्न नगराउन संविधानका संरक्षक एवं परिपालक गणतन्त्र नेपालका महामहिम राष्ट्रपतिसमक्ष समेत जोडदार माग गर्दछ ।
संयुक्त लोकतान्त्रिक मोर्चा नेपालको तर्फबाट
महेश्वर श्रेष्ठ, अध्यक्ष