अपरम्पार तिलिचोको सुन्दरता ! (फोटो-फिचरसहित)

अपरम्पार तिलिचोको सुन्दरता ! (फोटो-फिचरसहित)



छविलाल बगाले

सेता हिमालको बीच भागमा निलो ताल । हिमालकोे माथि पनि निलै आकाश । चारैतिर सेता हिमाल अनि त्यही हिमालका हिउँ पग्लिएर बनेको तिलिचो ताल, जो संसारकै सबैभन्दा अग्लो स्थानमा अवस्थित तालको रूपमा सुपरिचित छ । हिमाली श्रङ्खलाको बीच भागमा अवस्थित यस तालले आज संसारको मन खिचेको छ, लोभ्याएको छ ।

४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल आज विश्वको ‘आश्चर्यजनक’ गन्तब्य बन्ने गरेको छ । केवल पुस्तकमा लेखिएको पढेको र एकपटक आएर फर्किएकाहरूबाट थाहा पाएको भरमा आज विश्वका विभिन्न मुलुकबाट विदेशी पर्यटकहरू लाखौँ खर्च गरी ज्यानको बाजी राखेर तिलिचो ताल पुग्ने गरेका छन् ।

‘एक टुक्रा निलो आकाश कसरी हिमालको बीचमा आएर तस्बिर झैँ बस्यो होला ?’ पहिलोपटक तिलिचो ताल पुगेकाहरू यसरी आश्चर्य ब्यक्त गर्दै भन्छन्, ‘यस्तो स्वर्ग अन्यत्र पाउन÷देख्न मुश्किल छ । हामीहरू प्रकृति हेर्नको लागि दार्जलिङलगायतका भारतका विभिन्न ठाउँहरूमा ठूलो धन राशी खर्च गरेर पुगेका छौँ । तर, त्योभन्दा कयौँ गुणा बढि प्राकृतिक सौन्दर्य हाम्रै मुलुकभित्र रहेछ ।’

तिलिचोको निलो पानीमा प्रतिविम्बित बादलका टुक्राहरू तालमा जादु गरी तैरिरहन्छन् । तीव्र गतिमा बहेको हावाको वेगसँग जिस्किरहने पानीको गति उस्तै अव्यक्त र रहस्यमय भएको मनाङका सांसद एवम् पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङ बताउँछन् । ‘वरिपरी हिमालले घेरिएको तिलिचो तालको दृश्य प्रकृति नभई कुनै चित्रकारले पोतेको सुन्दर पेन्टिङ झैँ लाग्छ ।’ उनले भने, ‘सङ्लो प्रवाहमा फैलिएको हिमताल वरिपरिको कञ्चन कहानी शब्दमा वर्णन गरिसाध्य छैन, यो अथाह छ । यसको बयानका लागि कुनै शब्द नै छैन ।’

हिमालपारीको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाको खाङसारमा रहेको तिलिचो तालले विश्व–प्रसिद्धि कमाइरहेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङको भनाई छ । ‘संसारको सबैभन्दा अग्लो स्थानमा रहेकोले तिलिचो ताल घुम्नका लागि सात समुन्द्रपारीका हजारौँ विदेशी पर्यटकहरू तिलिचो ताल पुग्ने गर्दछन् ।’ पर्यटन ब्यवसायी गुरुङले भने, ‘हामी अरु देशको प्रकृति हेर्न लाखौँ रकम खर्चेर जाने गरेका छौँ । तर स्वदेशमै भएका सम्भावनाहरूलाई हामीले समात्न सकिरहेका छैनौँ ।’

४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो तालमा पुगेका पर्यटकहरू आफुहरू तालमा आइपुगेकोले जीवनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउँछन् । किनकि पर्यटकहरू जोखिम मोलेर तालसम्म आइपुग्नु निकै कठिन कार्य पनि हो । हिमालको हिउँलाई टेकेर संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेपछि पर्यटकले संसारै जितेको अनुभुति गर्दछन् ।

विश्वकै उत्कृष्ट गन्तव्य चक्रीय अन्नपूर्ण पदमार्ग र यसको पनि उत्कृष्ट गन्तव्यका रूपमा तिलिचोलाई लिने गरिन्छ । तिलिचोको निलो पानीमा प्रतिविम्बित बादलका थुप्राहरू तालमा जादु गरी तैरिएर बसेको दृश्य देख्दा नेपाल पर्यटनको भण्डार रहेको जर्मनी नागरिक क्यूरेनले बताए । ‘नेपालमा किन विकास हुन सकेन ?’ क्यूरेनले भने, ‘जताततै पर्यटकीय सम्भावना छन् । यसलाई राज्यले किन चासो लिएन ?’ निकै जटिल भूधरातलमा रहेको तिलिचोमा रात काट्ने सुरक्षित स्थान नभएकोले पर्यटकहरू ताल पुगेर पुनः बेसक्याम्प नै फर्कने गर्दछन् ।

हावाको छालसँग जिस्किरहने पानीको गति उस्तै अव्यक्त र रहस्यमय देख्दा पर्यटकहरू झनै भावुक बन्ने गरेको मनाङका सांसद एवं पूर्वश्रमराज्य मन्त्री गुरुङ बताउँछन् । उनका अनुसार मनाङ पर्यटनको अनुपम भण्डार हो ।
तिलिचो यात्रामा नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, बन्यजन्तुजस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने गर्दछ । कहालीलाग्दो उकालो भिरालो पहाड देख्दा केही यात्रामा सकस भए पनि गन्तव्यमा पुगेपछि सायद यात्राको मजा यही हो भन्ने लाग्ने गरेको मनाङका पर्यटन ब्यवसायी भुजुङ गुरुङ बताउँछन् ।

विश्वकै सर्वोच्च उचाइमा आफ्नो परिचय साँटेको तिलिचो ताल ३ दशमलव ८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । पौराणिक किंबदन्तीअनुसार यस ताललाई काग भुसुण्डे तालका नामले पनि चिनिन्छ । ०५१ सालमा भारतका सन्त मुरली बाबाले तालको किनारामा हप्ता दिन होम सप्ताह लगाएर राम चरितमान वाचन गरेकोले तिलिचो तालको महत्व झनै बढि रहेको मनाङका स्थानियहरू बताउँछन् । वर्णित पौराणिक कथा अनुसार तिलिचो तालको डिलमा बसेर कागले कथा सुनाएको कथन अझै रोचक छ ।

सो कथा सुन्न देवताहरू पंक्षी रुप धारण गरेर आउने कुरा कथाले बोल्छ । तालप्रति हिन्दुदेखि बौद्धमार्गीको समान आस्था छ । तालको विशेषताअनुसार भौतिक पुर्वाधार निर्माण गर्नुपर्ने अवस्था देखिए पनि पुर्वाधार विकासको काम भने हुन नसकेको स्थानीयको गुनासो छ ।

वाटर ग्लाइडिङ, र्‍याफ्टिङजस्ता पानीमा खेलिने खेलहरू तालमा सञ्चालन गर्न सके सबै प्रकारका फाइदा जिल्लावासीले लिन सक्ने मनाङस्थित नासोङ गाउँपालिकाका प्रमुख चन्द्र घले बताउँछन् । साथै ताल पर्यापर्यटन, जैविक विविधता, जलीय जीवनचक्र अध्ययन गर्न पनि उपयुक्त मानिन्छ । जैविक, धार्मिक, प्राकृतिक एवम् पर्यटकीय सम्भावना बोकेको यति ठूलो सुन्दरताको खानी मानिएको तिलिचो क्षेत्रको उचित प्रचारप्रसार र बाटोको असहजताले गर्दा यसको सम्भावना हराउँदै गएको छ ।

कसरी पुग्ने तालसम्म ?

तिलिचोमा पुग्ने रहर कसलाई पो हुँदैन र ? तर भौगोलिक विकटताका कारण सबै पर्यटकहरू यहाँ आइपुग्न सक्दैनन् । एकातिर भौगोलिक विकटता छ भने अर्कोतिर यहाँ चल्ने हावा र चिसो बतासका कारण यहाँ पुग्न निकै कठिन छ । तैपनि आन्तरिक होस् या बाह्य पर्यटक नै किन नहोस्, उनीहरू जोखिम मोलेरै भए पनि तिलिचोको यात्रा तय गर्ने गर्दछन् ।

ताल पुग्न अन्नपूर्ण पदमार्गअन्तर्गतको लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको कुल ६५ किलोमिटर लामो बेसीशहर–चामे सडक खण्ड र चामेदेखि पिसाङ, हुम्दे, भ्राका, मनाङ अनि खाङसारसम्म मोटरमा जान सकिन्छ । बेसीशहरदेखि खाङ्सारसम्मको सडकमा सिधा यातायात सेवा सञ्चालनमा छ । खाङ्सारदेखि श्रीखर्क हुँदै तीन घण्टाको पैदल यात्रापछि तिलिचो तालको बेसक्याम्पमा पुग्न सकिन्छ । साँझ बेसक्याम्पमा बास बसेका पर्यटकहरू भोलिपल्ट बिहानै तीन घण्टाको पैदलयात्रापछि तिलिचो ताल पुग्न सकिन्छ । हिँड्न नसक्नेहरूका लागि यहाँ घोडाको पनि ब्यवस्था छ ।

पदमार्गमा पैदलयात्रा गर्न चाहनेहरू पहिलो दिन लमजुङको बेसीशहरबाट स्याँगे, दोश्रो दिन स्याँगेबाट ताल, तेश्रो दिन तालबाट तिमाङ, चौथो दिन तिमाङबाट मनाङ सदरमुकाम चामे, पाँचौ दिन चामेबाट पिसाङ, छैंटौँ दिन पिसाङबाट मनाङ, सातौँ दिन मनाङबाट तिलिचो बेसक्याम्प र आठौँ दिन तिलिचो ताल पुग्न सकिन्छ । गाडीको यात्रा भन्दा पैदलयात्रा नै आनन्ददायी हुने पदयात्रीहरू बताउँछन् । मोटरको यात्रा गर्दा हाई लाग्ने मनाङका पर्यटन ब्यवसायीहरू बताउँछन् । यही कारण धेरैजसो आन्तरिक पर्यटकहरू बेसीशहरबाट पैदलयात्रा गर्दै तिलिचो पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको फेरो निकै रमणीय भएकोले आन्तरिक पर्यटकहरू पैदलयात्रामा रमाउने गर्दछन् ।

तिलिचोको प्रचारप्रसारका लागि ‘तिलिचो महोत्सव’को खाँचो
संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालको थप प्रचारप्रसारको लागि मनाङका स्थानीयले ‘तिलिचो महोत्सव’को माग गरेका छन् । उनीहरूले मुलुककै गरिमा बढाएको तिलिचो क्षेत्रको थप प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्नुपर्ने औंल्याएका छन् । ५ हजार ९ सय १९ मिटरको उचाईमा अवस्थित यस तालमा वार्षिक रुपमा ५० हजारभन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने भएकोले तालको थप प्रचारप्रसारका लागि मेलाको खाँचो रहेको नेपाली काङ्ग्रेस मनाङका नेता सुरेन्द्र गुरुङको भनाई छ ।

महोत्सवमा मनाङमा उत्पादन हुने खाद्यवस्तु, यहाँको पोशाक र संस्कृतिको बारेमा पनि उजागर गर्ने मनाङीहरूको चाहना रहेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताउँछन् ।

पुर्वाधारको विकासमा कमी
तिलिचो क्षेत्रको घुमफिरका लागि पुग्ने पर्यटकहरू रात बिताउने र थकाई लागेको समयमा बस्ने सुरक्षित घरहरूको निर्माण नहुँदा पर्यटकहरूले हरेक वर्ष सास्ती खेप्दै आएका छन् । बेलैमा बेसक्याम्प पुगेका पर्यटकहरू चाहेर पनि तिलिचो ताल जान मान्दैनन् । कारण एउटै मात्र छ कि तिलिचो ताल वरिपरि बस्नको लागि कुनै ब्यवस्था छैन । न यहाँ कुनै होटल छ न कुनै पूर्वाधार नै । एकरात तिलिचोको वरीपरि लुकामारी गरी आनन्द लिने पर्यटकहरू धेरै भए पनि पर्यटकहरू चाहेर पनि त्यस्तो स्वर्गीय आनन्द लिनबाट बञ्चित छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटकसँग संरक्षित क्षेत्रभित्र प्रवेशवापत प्रति–पर्यटक रकम लिँदै आएपनि पूर्वाधारको विकासमा एक्याप लागेको छैन । एक्यापले पर्यटकहरूको सुरक्षाका लागि ठाउँ–ठाउँमा बस्ने सामान्य घरहरूको निर्माण गरिदिनुपर्ने भए पनि त्यसप्रति कुनै चासो ब्यक्त गरेको छैन । त्यही सुरक्षित घरहरू नभएका कारण यसअघि विनाशकारी आँधी हुदहुदका कारण अन्नपुर्ण फेरोमा धेरै विदेशी पर्यटकले अनाहकमा ज्यान गुमाउनु परेको थियो ।

तस्बिर : छविलाल बगाले