लण्डनमा गान्धीको शालिक देख्दा…

लण्डनमा गान्धीको शालिक देख्दा…


– राजेन्द्रप्रसाद पाठक

प्रजातन्त्रको जननी भनेर ब्रिटेनलाई त्यसै भनिएको होइन । सन् २००८ ताका पङ्क्तिकार बेलायततिरै थियो । घुमघामका क्रममा एकदिन एउटा ऐतिहासिक भवनमा नजर पुग्यो । वैम्ब्ली स्टेडियमकै सामुन्नेमा रहेको गान्धी भवनको प्रसङ्ग हो । माहात्मा गान्धीको पूर्णकदको अर्धनग्न सालिकसहितको बडेमानको भवन रहेछ त्यहाँ । स्थानविषेशको नाम नै गान्धीभवन प्रचलित रहेछ । त्यतिबेला पङ्क्तिकारको मानसपटलमा प्रश्न उब्जियो कि ब्रिटिस साम्राज्यविरुद्व भारत छोडो आन्दोलनको अगुवाई गरेर सफल पार्ने गान्धीको शालिकसहितको बडेमान भवन उनैको ‘शत्रु देश’मा बेमतलवले किन उभियो होला ? किन विरोधिप्रति पनि किन यत्रो सद्भाव ? यस्तै कुतूतुहल मनभित्र आइरह्यो ।

एकपटक पुनः ऐंग्लो–नेपाल युद्व, जसलाई हाम्रो इतिहासमा सतलज नदीपारिको देउथलको युद्व भनेर चिनाइएको छ, त्यसैतिर ध्यान तानियो । कर्णेल अक्टरलोनीको फौजसँग नेपालतर्फबाट भक्ति थापाको फौजले धावा बोलेको थियो । बेलायती कमाण्डरको तोप उतैतिर फर्काएर पड्काउने अलौकिक साहस प्रदर्शन गर्दागर्दै गोर्खाली कमाण्डर भक्ति थापाले शहादत प्राप्त गरे । उनको पार्थिव शरीरमा दोसल्ला आढाई अन्त्येष्ठी गर्दैगर्दा विरोधि बेलायती सेनाले समेत राजकीय सलामी (गार्ड अफ अनर) दिएको इतिहासमा उल्लेखित छ ।

आफूले खाइपाई आएको साम्रज्यबाट हटाउनेको नाममा शालिकसहितको भवन बनाउने, आफैलाई मार्न आउनेलाई मारिसके पश्चात दोसल्लासहितको सलामी अर्पण गर्ने आदि कार्यले विरोधि पक्षको पनि अब्बल क्षमतालाई दिएको सम्मानले आगामी पुस्तालाई अझै अब्बल बन्न प्रेरित गर्दै योग्यता र क्षमतामाथिको उच्च सम्मान प्रकट गर्न सक्नु आफैमा गुणकारी चरित्र रहेछ उनीहरूसँग । बेलायत, अमेरिका जस्ता सम्पन्नशाली देशले संसारका सबैजसो शत्रु, मित्र राष्ट्रहरूबाट क्षमतावानहरू सबैलाई आफ्नो देशमा सेवा सुविधासहित स्वागत गरेका छन् । यसको सार पनि यही होला । त्यसैले त आज ती देश सदा–सर्वदा उच्चस्थानमा कायम रहन सक्षम भएका छन् ।

अब हाम्रो समाज र देशको चरित्रलाई समेत त्यसैसँग जोडेर हेर्न खाजियो भने परिणाम नितान्त फरक पाइन्छ । हाम्रो देशमा पनि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र नाममा सबै छ । त्यही प्राप्तिका लागि लाखौं बिधवा भए, लाखौं बालबालिका टुहुरा भए । धैरै अपाङ्ग भए । हजारौँले सहादत प्राप्त गरे । आफ्नै कारणले हाम्रो आफ्नै देशभित्र रगतको खोलो बग्यो । तर सारमा हामीलाई वास्तविक लोकतन्त्र प्राप्त भएकै छैन भन्दा अत्यूक्ति नहोला । किनकि हामी क्षमतावान विरोधीलाई त के आफ्नै पक्षमा पनि आफुभन्दा तल्लो स्तरको ब्यक्ति अब्बल निस्किन खोज्यो भने त्यसलाई गर्भमै तुहाउने काममा गरिन्छ । लोकतन्त्र आवधिक निर्वाचन र लोकमतको आधारमा गरिने सत्ता हस्तान्तरण साथै त्यसैबाट खारिएको नेतृत्वले जनसेवाको आधारलाई मुल्याङ्कन गरेर जो अब्बल ठहर्छ सोहीलाई आधार मानेर सञ्चालन हुने शासन पद्वति हो भन्दा फरक नपर्ला ।

हाम्रा नेताहरू आफ्नो हातमा परेको शासन–सत्ता हमेशाका लागि आफ्नै बनिरहोस् । अझ पुस्तैनी हस्तान्तरण प्रक्रियाबाट जानसमेत पछि पर्नेवाला छैनन् । सबैजसो दल र सङ्गठनकाहरू त्यतिबेला लोकतान्त्रिक बन्न खोज्दछन् जतिबेला आफु र आफ्ना दल विपक्षीमा रहन बाध्य भएको होस् । यदि केहीगरी आफुले सत्ता प्राप्त गर्न सफल भए भने उनिहरू समेत लोकतान्त्रिक विधिको पर्वाह नै गर्दैनन् । यहाँ त आफू, आफ्ना र आफन्तले गर्ने ‘प्राप्ति’लाई मात्र लोकतन्त्र भन्न रुचाउने अबस्था हाबी रहेको छ ।

देशभित्र एकाथरी शासक छन् अर्काथरी शासन–सत्ता थामीदिने जमात छ । शासक हुनेहरूको ‘जीन’मा नै एकतन्त्र अथवा जहाँनियातन्त्र फैलिएर आएको छ । उता शासन सत्ता थामीदिनेहरूलाई आफ्ना मालिक वर्गको साझो गर्नु र उनीहरूको हित चिताउनु नै लोकतन्त्र हो भन्ने भान परेको छ । अरु बाँकी जनस्तरको ठूलो हिस्सालाई त्यसको परिभाषामा त कन्फ्यूजन छैन तर उनीहरू पनि कदाचित सत्ता प्राप्त नहुने संकेत पाएपछि ब्यक्तिगत् र पारिवारिक हितकै लागि भएता पनि कि त माथि उल्लेखित शासकीय ब्यवहारलाई नै लोकतन्त्र मानेर भाग खाने, कि त प्रवासी बनेर समृद्व देशमा जीवन निर्वाह गर्ने काम गरिरहेका छन् । देशको बौद्विक भनिने ठुलो हिस्साले सत्ताको सञ्चालन गर्न पाइरहेको छैन ।

घुमीफिरी रुम्जाटार भनेजस्तै उनै विरासतवाला र वैभवशाली जीवनयापन गर्नेहरूकै हातमा सत्ता घुमिरहेको छ । ठुला आर्थिक र सामाजिक उपलब्धि हुने स्थानहरूमा साधारण जनता पुग्न सफल भएकै छैनन् । देश र जनताको सफलतालाई सफलता ठानिएकै छैन । देश र जनतालाई केन्द्रमा राखेर गरिने शासन ब्यावस्था वास्तवमा लोकतन्त्र हो, तर नाममा मात्रै त्यो सीमित छ । सारमा भन्ने हो भने लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भनिने चिजले जनताको घरदैलोसम्म उपस्थित हुनै पाएको छैन । जब सम्म अब्बल विरोधिको उचित सम्मान हुँदैन, सत्ताका लागि नैतिकता बेचिन्छ, शासन–सत्तामा रहनेहरू उचित सल्लाहकारको खोजी गर्दैनन्, आफुखुशी परिचालित हुनुलाई नै सच्चा लोकतन्त्र ठान्दछन्, जबसम्म तीन कोटी जनताको भावनालाई शासकले मुखरित गर्न सक्दैनन्, तबसम्म शान्तिले स्थान पाउँदैन, अशान्तिले छोड्दैन ।