‘हामी नेपाली अनि हाम्रो नेपाल’

‘हामी नेपाली अनि हाम्रो नेपाल’


एकपटक फेसबुकमा भनेको लाग्दछ :‘..बाबुराम भट्टराई प्रधानमन्त्रीमा चुनिएपछि, अचानक आशाहरु सर्वत्र तैरिएझैं महशुस भएको छ । यद्यपि म माओवादी समर्थक पनि होइन ।’ म राजनीति गर्ने मान्छे होइन, मलाई लाग्दछ, म त्यो हुँ, जो मुलुक एक प्रकारले नीतिगत देख्न चाहान्छ र सोही नीतिभित्रको एक नैतिक उपस्थितिमा आफ्नो मत देख्दछ । दुःखेसोहरु कति छन् कति ? अहिलेसम्मको नेपाली परिवेश भनेको अर्काको पीडाले पनि घुत्रुक्कै पार्नसक्ने परिस्थिति हो । मलाई घोँचिनु पर्दैन, तपाईँलाई घोँचिएको सुइरोले पनि मलाई घोँचेको हुन्छ । यो कालमा संसारका कुनाकाप्चातिर कतियौं नेपाली त्यही र त्यस्तै घोंचाइको पीडालाई साम्य पार्ने वा मलहमपट्टी गर्ने प्रयासमा दिनप्रतिदिन झन् दुखेर मर्लान्त नियति बिताउन वाध्य छन् । यही कालमा कतियौं नेपाली अन्य मुलुकका जनताहरुका फलदायी व्यवस्थाहरु हेर्दै सपनाहरुका बिस्कुन सुकाउन वाध्य छन् । बितेका समय र अवसर नदोहोरिने यो कालमा भने नेपालमा त्यही अवस्था र अवसरहरु बाराम्बार दोहोरिरहन्छन् र नेतालगायत आम जनताहरु त्यो अवस्था र अवसरहरुलाई बित्दै गरेको हेर्न लाचार छन् । र योपालि फेरि उस्तै अवस्था र अवसर अगाडि आएको लाग्दैछ, आततायी भएर यातनामयी लागेका माओवादी नेतृत्वले दग्ध भई भत्भतिएको नेपालीहरुका चेतन-अवचेतन समस्त घाउहरुमा संवज्ञसहितको सुखानुभूतिशील थप्कीले थप्थपाउन आँटेका लाग्दैछन् । अचानक आशाहरु झ्याङ्गिन थाल्दैछन् उही र उस्तै अवस्थाका परिवेशीय थाँक्राहरुमा पनि ।

आचरण तथा प्रचलन माटोअनुसार हुन्छ भन्नु गलत हुन्छ । आचरण तथा प्रचलनभरि सामाजिकताको प्रभाव मुख्य रुपमा फैलिएको हुन्छ । सामाजिकतामा व्यक्तिविशेषका चालचलन अवस्थित भएको हुन्छ र त्यही चालचलनले बिस्तारै सो परिवेश अनि माटोको प्रतिनिधित्व गर्दै जान्छ । सायद यो पीर हुनसक्छ, वा यो त्यो अवस्था हुनसक्छ, जसले खासगरी यूकेको रशमोर बोरोहलाई प्रतिनिधित्व गर्ने एमपी जेराल्ड होवार्थलाई भित्रभित्रै खाइरहेको हुनुपर्दछ । यही बेलायतको लागि अनि बेलायतको तर्फबाट लड्दै जीवनको सबैभन्दा ऊर्जाशील समय खर्चेका वृद्ध गुर्खाहरुका सो क्षेत्रवरपर पत्नीसहित भएको नयाँ स्थायी बसोबास र तिनका यापन शैलीसँग स्थानीय आमशैलीमा परेको विभिन्नताले उब्ज्याएको असंयोजित परिदृश्यलाई आधार बनाउँदै स्थानीयबासीहरुका मतलाई लिएर गुर्खाहरुका विरुद्ध ती एमपी खनिएका थिए र त्यही विरोधलाई प्रधानमन्त्री क्यामरुनसम्मुख लगेका थिए । फेरि एकपटक तिनै एमपीले वृद्ध गुर्खा दम्पतिहरुका समूहहरुलाई शरणार्थीहरुलाई जस्तै यूकेका विभिन्न स्थानहरुमा बसोबास गर्न वाध्य गरिनुपर्ने माग राखेका छन् भने आम अनि स्वाभिमानी गुर्खालीहरु एकजुट भएर ती एमपीविरुद्ध खनिएका छन्, विभिन्न कार्यक्रमहरु गरिएका छन् भन्ने नेपाली समाचारहरुमा लेखिएको छ । त्यहाँ पक्कै नै दुख्ने गरेर चोट लागेकै हो । त्यसको अर्को पाटो छ, ‘हामी नेपाली अनि हाम्रो नेपाल’ शीर्षक राखिएको यस लेखमा त्यो पाटो महत्वपूर्ण भएको छ, र तल लेख्दैछु :-

‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा, रगतमा मेरो, पखेरोमा म जन्मे, टाकुरामा म खेलेँ,….’ हो, वास्तवमै वहुसंख्यक नेपालीहरुको परिचय माथिको यत्ति पंक्तिले दिन सक्दछ । डाँडाकाँडा, पाखापखेरा हामी नेपालीहरुको पर्यायवाची परिचयात्मक सम्वन्धन हो । अहिले पनि हामी मूलको पानी पिएको कुरा गर्दछौं, जस्तो मूलको पानी, पानी नभएर भिटामिन होस् । हामी अझै पनि ती पाखा पखेराहरुको कुरा गर्दछौं, जसको प्रसङ्गले हाम्रो शारीरिक सामर्थ्यलाई विज्ञापन गरेको होस्, जसको व्याख्याले हाम्रो निष्कपटपन अनि निश्छलताको प्रमाणलाई पुष्टि गरेको होस् । असामाजिक बन्दै गएको नेपालका सयौं पाखोपखेराहरुबाट सीधासाधा लाग्ने गाउँलेहरुका लश्करहरु मधेश वा शहर पस्न थालेको यता वर्षौं भइसकेको छ, दुई छाक ढुक्कले कमाउने सपनामा त्यही पाखापखेराका जागरणहरु विदेशी भूमिमा बाँच्नकै लागि संघर्षरत छन् । हरियाली गुम्दै गएका नेपाली पहाडी गाउँघरतिर नल र पाइपका धाराहरुबाट हरहमेशा पानी भर्न थालिएको पनि त्यही सन्दर्भमा भन्नुपर्ने हुन्छ, अहिले वर्षौं भइसकेको छ । ‘….म झुक्दै नझुक्ने नेपालको छोरो….’ साँच्चै ? के हामी झुक्दै नझुक्ने खालका छौं ? या त्यस्तो खालका हौं ? या थियौं ? संसार अहिले साँघुरिएको छ, त्यसैले एक आकारलाई सीधा हेरेर बुझ्ने जमाना गइसकेको छ । प्रतिस्पर्धा पनि अहिले विश्वव्यापी भइसकेको छ । खाना चाइनिज भएको छ भने श्रीमतीमा जापानिज, युवतीमा भारतीय, श्रीमान तथा युवकहरुमा पश्चिमेली मूलका छनोटमा उत्कृष्ठ भएका छन् । नेपाली युवतीलाई भारतीय वा जापानिज युवतीहरुसँगको सौन्दर्यतात्मक अनि स्वभावशील प्रतिस्पर्धा भइसकेजस्तै युवकहरु पश्चिमेलीहरुसँग हीनतावोध गर्न थालिसकेका छन् । त्यस्तो परिवेशमा आम स्वभावहरु समयसापेक्ष परिवर्तनशील हुँदै गएका हुन्छन् । यो यही परिवेश हो, जहाँ नेपाली परिवेशजन्य मात्रै बन्न वाध्य हुन्छन् खासगरी विदेशी परिवेशमा भने स्वदेशमा त्यसको व्याख्या भनेको राष्ट्रिय गीतमा गरिने बखान जस्तै हो । यहाँ यूकेमा ती नेपालीपनहरु अपच्य भएका छन्, अपाच्य मानिएका छन् । कत्ति त त्यही पनको अमन बोकेर झोँक्रिन वाध्य छन् । साँघुरिएको संसारमा यहाँ एमपी होवार्थले भने अर्कै ग्रहबाट आएकाजस्ता लाग्ने प्रकारका वीर गोर्खालीको वृद्ध पुस्तालाई देखेकाछन् र उनी त्यसरी नै सबैलाई देखाउन खोज्दैछन् ।

रशमोर बोरोहअन्तर्गत पर्ने अल्डरसटमा कैयौं वृद्ध गुर्खाहरु भत्ताकै लागि भनी बाँकी जीवन गुजार्नका यहाँ बसोबास गर्दैछन् । सडक तथा चउरहरुका आसपास रहेका फलफूलका बोटहरबाट झोलाभरि कटुस, ब्लूबेरीलगायतका फलहरु टिपेर लाने, पार्कहरुमा शोभाका लागि उमारिएका फूलहरु चुँडेर लाने, घरअगाडि सडकमा नै पलेटी कसेर बसी जुम्रा हेर्ने, गफगाफ गर्ने, पार्क तथा झ्याङहरुमा गई दिसापिसाव गर्ने, वथानहरुझैं लश्करै वरपर हिँड्ने या पशलहरुभित्र छिर्ने तर नकिन्ने, आदि प्रकारका व्यवहारहरुलाई एमपी होवार्थलगायतका स्थानीयहरुले स्थानीय आम बसोबासमा अपच्य देखेका हुन् भनिएको छ भने केही वृद्धवृद्धाहरुले पशलबाट मासुलगायतका बस्तुहरुको चोरी गर्दा पक्रिएका पनि सुन्नमा आएको छ । नेपाली स्वाभिमान, वफादारिता अनि कहिल्यै पनि नझुक्ने लोकोक्तीको अर्थ यहाँ यस्तो प्रकारको छ कि नेपालीहरुका केही समूह नै त्यस्ता नेपालीहरु नभएका स्थानमा गई बसोबास गर्न चाहान्छन् भने केही आफूलाई पृथक खालको नेपाली भनाउन खोज्दछन् । ती जीवनको उत्तरार्धमा पुगेका नेपालीहरुका सन्तानहरुलाई स्वाभिमानले गिजोलेन ? के तिनले आफ्ना बाबाआमा वा ती आफन्तहरुलाई यहाँ शैलीहरुको बारेमा बताउन सकेनन् ? चाहेनन् ? सित्तैमा पाइने कुरा नछोड्ने यथार्थमा अचेल आम नेपाली बुझाइ रहेकोझैं लाग्दछ । भर्खरै थाहा लागेअनुसार, यूकेको कुनै समुन्द्री किनारामा त्यस्ता भत्तामा बाँच्ने वृद्धवृद्धा गुर्खाहरुलाई लगेर एउटा शरणार्थी शिविरमा जसरी राखिने र तिनलाई मेसमा जसरी सामूहिक रुपमा खानपानको व्यवस्था गरिने भन्ने प्रस्तावलाई ‘छुट्टै पकाएर खान दिने भए जाने’ भन्ने राय ठूलै जमातका वृद्ध गुर्खाहरुले राखेका छन् । प्रश्न उठ्छ, जीवनको उक्त घडीको प्राप्ति भनेको खाएर बाँच्ने मात्रै नै हो त ? के त्यसका लागि हाम्रो देश नेपाल त्यत्तिको अनुपयुक्त छ त ? त्यो के त्यस्तो तत्व हो, जसले नेपालीहरुका मानसिकतालाई त्यत्तिको नैराश्यतापूर्ण अनि वस्तुवादी बनाएको छ ? ‘हामी नेपाली र हाम्रो नेपाल’ भन्ने भाव किन नेपालीहरुका मानसिकतामा धमिँलिँदै छ ?

हङकङमा अहिले कतिपय आईडीवाला नेपाली दम्पतिहरु छोडपत्र गर्दै आफन्त वा अन्य कसैसँग कागजी विवाह गरेर बीसपच्चीस लाख रुपैंया कमाउने व्यवसायमा लागेका छन् । बीसपच्चीस लाख खर्च गरेर विदेशिन समर्थ पैसावाल नेपालीहरुले किन त्यत्तिको पैसाको लगानी गर्न सकिने सम्भावना नेपालमा देख्दैनन् ? पैसाकै लागि नैतिकहीन बन्न नेपालीहरु किन तयार भए ? यूकेमा दशौं लाख खर्च गरेर विद्यार्थीहरु पढ्ने बाहानामा आउँछन् र हप्ताको बीस घण्टा काम गर्ने अभियानमा लाग्दछन् । बीस घण्टाको कामले न त तिनलाई पढ्नलाई पुग्दछ, न त मज्जाले खानलाई पुग्छ । दशौं, बीसौं माइल पर गई काम गर्नु पर्ने कत्तिका वाध्यता त्यसैभित्र पर्दछ, तब तिनलाई तिनले कमाउने पैसाले खान पनि पुग्दैन । हप्ताको दुई दिन त्यस्तो परिस्थितिमा पढ्ने विद्यार्थीहरुले पढाइमा कस्तो उच्चता हासिल गर्लान् त ? के नेपालमा शैक्षिक स्तर त्यत्तिको खस्केको छ त ? माथि पढ्ने वाहानामा विद्यार्थीहरु आएका यसैले भनिएको हो कि, तिनीहरुमध्ये अधिकांशको ध्याउन्ना भनेको आफ्नो डिपेण्डेड बनाएर श्रीमती वा श्रीमान लाने वा श्रीमान वा श्रीमतीको कागज गरी रकम असुल्ने नै हो, किनकि त्यस्ता डिपेण्डेडहरुले फुलटाइम काम गर्न जो पाउँछन् (यसमा पनि अहिले विशेष कानूनी अवस्था लगाइएको छ) । कतिपय नेपालीहरु विभिन्न कारणहरु देखाएर बेलायत, अमेरिका, फ्रान्सलगायतका मुलुकहरुमा शरणार्थी बन्न आउँदैछन् । तिनले लगाउने गुनासाहरुमा नेपाली राष्ट्रियता थिलोथिलो भएको हुन्छ । यो पनि त्यही सन्दर्भ हो, जहाँ ‘हामी नेपाली र हाम्रो नेपाल’ को भाव लाचार भएर नतमस्तक हुन्छ । किन त्यसरी औसत नेपालीहरुलाई अहिलेको अवस्थामा, यो कालमा नेपालले धकेलिरहेको छ त ? आखिर के हो त्यो कडी, जसको मारले नेपाली आम मानसिकता पेलिएको छ ?

दलहरुबीच राष्ट्रियस्तरमा सहमति भई सात बुँदे सहमतिलाई अहिलेको परिवेशमा अत्यन्तै महत्वपूर्ण मान्नु नै पर्दछ । एउटा जिम्मेवारीको खाका पार्टीमा कोरिन थालिएको लाग्दैछ । समस्या अनि अनिश्चितताले शिथिल परिसकेका आम जनताहरुलाई सानोभन्दा सानो राहत नै काफी हुन्छ, चाहे त्यो सरकारी व्यवहारमा गरिएका परिवर्तनहरु नै किन नहोस् । बाबुराम भट्टराईको नेतृत्वमा अहिलेका सरकारले मुलुकमा केही पक्कै नै गर्ने पक्का भएको छ । एउटा सम्भावनाका लहरहरु र्सवत्र चलेका छन् । प्रधानमन्त्रीबाट भर्खरै विद्यार्थीहरुलाई अनि जनशक्तिहरुलाई नविदेशिनका लागि आहृवान गरिएको छ । यो एउटा शुरुवात त साँच्चै नै हो । यद्यपि मुलुकभित्रै राष्ट्रियता आम मनहरुबाटै हराउँदै गएको लाग्दछ भने नेतृत्व वर्गहरुमा मुलुकको स्वाधीनताप्रति केही ज्यादा नै खुकुलो नीति विद्यमान भइसकेको लाग्दछ र त हरेक सन्दर्भहरुमा ती भारत र चीनबाट निर्देशित भएका लाग्दछन् । यो यस्तो अवस्था हो जो बिग्रनु र भत्किनुको ठीक केन्द्र रेखामा अवस्थित छ, ‘हामी नेपाली अनि हाम्रो नेपाल’ को एक पक्का आधारशीला बन्न सक्ने समयको यो घुम्ती एकतातिरबाट स्पष्ट जस्तै देखिन्छ भने अर्कोतर्फ छिन्नभिन्न हुनसक्ने शशंकित पाटो देखिन्छ । राष्ट्रियताको लागि राष्ट्रिय सहमति आफ्नो या आफ्नो पार्टीको, पक्षको लागि मात्र नसोँच्ने हो भने यो एउटा यस्तो समय हो, जसमा इतिहासले राम्रो मोड पाउने छ, नत्र यही खण्डले देशको स्वाधीनतालाई सदाकै लागि गुमाउन सक्ने पक्का जस्तै लाग्दछ ।

देशको माया शब्दहरुमा होइन, भनाइ तथा लेखाइहरुमा होइन, समय र परिवेशजन्य व्यवहारहरुमा देखिन जरुरी छ । मजस्ता हजारौं अनि लाखौंहरु गैरमाओवादी हुँदाहुँदै पनि वर्तमान हालातमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको प्रधानमन्त्रित्वमा गठित सरकारको सफलताको हार्दिक कामना गर्दछन् । यो समयको माग हो भन्ने निम्न रुपमा म सोँच्दछु र लाग्छ, यो सरकारको विकल्प छैन । ‘हामी नेपाली अनि हाम्रो नेपाल’ भन्ने र ठान्ने आम राष्ट्रवादी नेपालीहरुलाई यो सरकारको सफलताको कामना गर्नु र साथ दिनुबाहेक अन्य विकल्पै छैन ।