राम रहीम दोषी ठहरिएपछि भारत तनावग्रस्त

राम रहीम दोषी ठहरिएपछि भारत तनावग्रस्त


डेरा सच्चा सौदा प्रमुख गुरमित राम रहीमलाई १५ वर्ष पुरानो मामलामा दोषी ठहर्याइएपछि पञ्जाब र हरियाणामा ब्यापक हिंसाका घटना भएका छन् । राम रहीमका समर्थकहरुले ताण्डव मच्चाउन थालेपछि हिंसा फैलिएर दिल्लीसम्म पुगेको छ ।

डेरा सच्चा सौदाका प्रमुख गुरमीत एक यौनहिंसाको घटनामा मुछिएका थिए । उनका भक्तहरुले सो इन्कार गर्दै आएकोमा अदालतले यौनहिंसामा राम रहीम दोषी रहेको फैसला गरेको थियो । उनलाई पक्रिएर सेनाको हिरासतमा राखिएको छ । उनीमाथि अन्तिम फैसला आगामी २८ तारिखमा हुनेछ ।

अदालतको फैसला आएलगत्तै पक्राउ परेका रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा हरियाणामा मात्रै एक दर्जन बढी मानिसको मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल लैजान प्रहरीलाई हम्मे-हम्मे परिरहेको छ भने प्रहरीहरु पनि घाइते भएका छन् ।

हरियाणा र पञ्जाबमा राम रहीमका समर्थकले बमसमेत प्रयोगमा ल्याएका र निकै घरहरु आगजनी गरेर ध्वस्त तुल्याएका छन् । सरकारी भवनलाई तारो बनाएर आगजनी गरिएका समाचार प्रकाशमा आएको छ । स्कूल कलेजहरु बन्द गरिएका छन् । हिंसाले उग्र रुप लिएपछि दुबै प्रान्तका केही स्थानमा कफ्र्यु लगाएको छ भने दिल्लीमा समेत हिंसा भड्किन लागेपछि व्यापक सुरक्षा संयन्त्र परिचालन गरिएको छ । दिल्लीमा सात स्थानमा राम रहीमका समर्थकले आगजनी गरेका छन् । झडपका घटना व्यापक भएका छन् । घाइते हुनेको संख्या सयौँ रहेको छ ।