रहीमको पक्षमा ३० प्रदर्शनकारीले गुमाए ज्यान

रहीमको पक्षमा ३० प्रदर्शनकारीले गुमाए ज्यान


गैरनाफामुलक सामाजिक तथा आध्यात्मिक संस्थाको रुपमा भारतभर चिनिएको डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी भारतका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या करिव ३० पुगेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र कैयौँ घाइते भएका विभिन्न समाचार माध्यमले जनाएका छन् ।

हरियाणामा दशौैँ हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् भने शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइसकेको भारतीय अधिकारीले जनाएका छन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फाएर समेत गरिएको थियो । तर, राम रहीमका समर्थकहरुले चाहिँ जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी गरेका छन् ।

ज्ञातव्य छ, गुरुमीत राम रहीममाथि डेढ दशकअघि आश्रममै युवतीलाई बलात्कार गरेको आरोपमा मुद्दा चल्दै आएको थियो । अदालतले उनी दोषी रहेको फैसला सुनाएपछि उनका समर्थकहरु भड्किएका छन् ।


रासस/एएफपी