रहश्य तेस्रोलिङ्गीको : आशिर्वाद लिने कि श्राप, रोजाई तपाईंको !

रहश्य तेस्रोलिङ्गीको : आशिर्वाद लिने कि श्राप, रोजाई तपाईंको !


सुनिलबाबु पन्त

मान्यता यस्तो छ कि यदि कुनै तेस्रोलिङ्गीले कसैलाई आशीर्वाद दिन्छ भने आशिर्वाद पाउने व्यक्तिको भाग्य परिवर्तन भएर उसको जीवनमा शुभलाभ हुन्छ। तर यसविपरीत तेस्रोलिङ्गीले कसैलाई श्राप दिएमा त्यस ब्यक्तिलाई दुर्भाग्यले सताउन थाल्दछ। यस अलावा पनि तेस्रोलिङ्गीबारे यस्ता अनेक रहस्य छन्, जसको बारेमा धेरैलाई जानकारी नरहेको हुन सक्छ।

परम्परागत रुपमा तेस्रोलिङ्गीहरुको रहनसहन समाजका अन्य मानिसको भन्दा निकै अलग हुन्छ। तेस्रोलिङ्गी आफ्नो दैनिक जिन्दगीमा के के गर्छन्, कसरी बस्छन् भन्ने बारे धेरैलाई राम्रो जानकारी छैन।

धार्मिक आख्यान अनुसार जब भगवान श्रीराम १४ वर्षका लागि बनवास जाँदै थिए, तब उनले आफ्नो पछिलागेका सबै प्रजासँग बिदा लिँदै भनेका थिए कि सबै नरनारीहरु आ(आफ्नो घर फर्केर जानु, अब हाम्रो पछि लागेर नआउनु । यसमा कुनै दुविधा थिएन कि तेस्रोलिङ्गीको गन्ती न नरमा होस् न त नारीमा नै, किनकि उनीहरु यी दुबै नर(नारीहरु भन्दा अलग किसिमका मानिस हुन्।

त्यसैले त्यतिबेला भगवान् श्रीरामले तेस्रोलिङ्गीलाई उल्लेख गर्न भुले । यस्तोमा तेस्रोलिङ्गीहरु चौध वर्षसम्म उही ठाउँ नदिकिनारमा भगवान रामलाई पर्खेर बसीरहे।

जब भगवान राम फर्केर आए, १४ वर्षपछि, तेस्रोलिङ्गीहरुलाई उही स्थानमा पर्खेर बसेको दखेपछि उनले तेस्रोलिङ्गीलाई सोधे “किन तिमीहरु घर नफर्केका अहिले सम्म पनि ?”

तेस्रोलिङ्गीहरुले जवाफ दिए, “हजुरले हामीलाई घर जान भनेर भन्नुभएकै थिएन, नर र नारीलाई मात्र घर जाऊ भन्नुभएको थियो ।” तेस्रोलिङ्गीको यस्तो भक्तिभावना देखेर भगवान् श्रीरामले उनीहरुलाई वरदान दिए कि यदि तिमीहरुले कसैलाई साँचो मनले आशीर्वाद दियौ भने उसको जीवन सफल हुन्छ र यदि तिमीहरुले कसैलाई श्राप दियौ भने ऊ कहिल्यै पनि खुशी रहन पाउने छैन ।”

यसको अलावा यस्तो पनि मान्यता छ कियदि तपाईंले कुनै तेस्रोलिङ्गीलाई उसको मृत्यूपश्चात उसको लाश जलाएको वा गाडेको देख्नुभयो भने तपाई धनवान बन्नुहुन्छ रे। यसो त निकै कमले मात्र तेस्रोलिङ्गीको लाश जलाएको वा गाडेको देख्ने मौका पाउँछन्, किनकि परम्परागत रुपमा ऊनीहरुको दाहसंस्कार मध्यरातमा मात्र हुने गर्दछ जतिबेला अरु सबै सुतिराखेका हुन्छन् र ऊनीहरुको लाश पनि एकान्तमा तेस्रोलिङ्गीहरुले मात्र जलाउने गर्दछन्। त्यसैले जसले तेस्रोलिङ्गीको दाहसंस्कार देखेको छ ऊ धनवान बनेको छ भन्ने विश्वास गरिन्छ।

तर पनि आजको दुनियाँमा धेरै यस्ता व्यक्ति छन् जो तेस्रोलिङ्गीहरुको अपमान गर्दछन्। सायद मानिसहरुले बिर्सिसके कि भगवानले सबैलाई बाँच्न पाउने बराबर हक दिएका छन् । यस्तोमा मानिसहरु तेस्रोलिङ्गीको आशीर्वाद लिएर आफ्नो जिन्दगीमो खुशहाल ल्याउनुको साटो उनीहरुको अपमान गरेर जीवनमा दुःखको आमन्त्रण गरिरहेका हुन्छन्।