– जयप्रकाश आनन्द
कोशी हाम्रा आफन्त हुन् । हामीलाई दुःख पनि दिने र खुशी पनि पार्ने । सनकी राज्यको चरित्र छ– ‘कोशी’को, अनाहकमा दण्डित गर्ने अनि जनताको समुन्नतिको दायित्व पनि निर्वाह गर्ने खालको । प्रख्यात भारतीय आँचलिक साहित्यकार फनिस्वर नाथ रेणुले कोशीको प्रपातलाई ‘ऋण जल–धन जल’ भन्ने उपमा दिँदै एक चर्चित पुस्तक नै लेखेका छन् । मेरा पैतृकहरूको कोशी सम्बन्ध पनि ‘ऋण जल–धन जल’कै रहेको छ । मेरा हजूरबुबाका पैतृकहरू उ बेलाको धनधान्यले परिपूर्ण ‘चेँगहा’ गाउँ कोशीमा जल समाधि लिएपछि आजको कञ्चनपुरमा बसाई सरी आएका हुन् । भनिन्छ, चेँगहा अहिलेको सुनसरी मधुवनको पश्चिममा थियो, अब किम्वदन्ती भएको त्यो मुकाम समुन्द्रमा श्रीकृष्णको द्वारिकाझैँ जल समाधीस्थ छ । यसपछि नयाँ बसाईका लागि कञ्चनपुरको खोजी भएको हो, जुन त्यस बखतको अग्लो तथा सुरक्षित ठाउँको रूपमा खोजिएको थियो । मेरा पिताजीको उमेर ८५ बर्ष नाघेको छ, अहिलेको बाढी हेरेर उहाँले भन्नु’भो– ‘बाजेहरूले सुरक्षित भन्ठानेर खोजेको यो गाउँ पनि निरापद रहेन । कोशीले आफुबारे नयाँ रूपमा सोच्न सबैलाई बाध्य पारेको छ ।’
कोशीबारे म पनि सोचमग्न भएको छु । विराटनगर विमानस्थल समुन्द्र सतहबाट २ सय ३६ फिटको उचाईमा छ । जनकपुरदेखि पूर्वको सिरहा, सप्तरी र सुनसरीको मैदानी भाग विराटनगरकै समान उचाइमै रहेको छ । अहिले तराईका लगभग सबै जिल्ला समान रूपमा बाढीबाट आक्रान्त छ । राजनीति–अप्रभावित भई प्राविधिक दृष्टिबाट मात्र हेर्ने हो भने मुलुकका सबै ठूला नदीहरू जो तराईका जिल्लाहरू भई बग्छन्, त्यसको तल्लो तटीय बहावको क्षेत्र बाढीबाट प्रभावित रहेको छ । तर, यहाँ म खासगरी कोशी क्षेत्रको बारेमा केन्द्रीत भै संक्षिप्त चर्चा गर्न चाहन्छु । यो क्षेत्र अहिले बाढीबाट बढी प्रभावित रहेकोले चर्चामा छ । साथै बाढीको यस दुष्प्रभावले मुलुकको अन्तदेशीय भू–राजनीतिलाई समेत चर्चामा तानेको छ । हुँदा–हुँदा नेपालका परराष्ट्र मन्त्रीले समेत भारतनियन्त्रित कोशी बैरेजका सबै ढोकाहरू नखोलिएको कारणले सप्तरी जिल्ला डुबानमा परेको गुनासो भारतीय राजदूतसमक्ष गरेको समाचार छ । राष्ट्रपति महोदयाले पनि भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीलाई प्रधानमन्त्रीलाई यस्तै सन्देश दिनुभएको छ । यो हो प्रकृतिमा राजनीतिको प्रवेश ।
सातवटा नदीको संगम कोशीको उपल्लो क्षेत्र अत्यन्त ठूलो एवं फराक छ । अर्को शब्दमा कोशीको जलाधार क्षेत्रले मुलुकको अन्य कुनैपनि नदीको तुलनामा धेरै जिल्लाहरूलाई समेटेको छ । काठमाडौंपूर्वका केही उत्तरी हिमाली जिल्लाहरू, मध्य पहाडी जिल्लाहरू र भित्री मधेसका जिल्लाहरू समेत हुँदै कोशी तल्तिर झरेको छ । यो भन्दा ठूलो जलाधार क्षेत्र नेपालको अन्य कुनै पनि नदीको छैन ।
राजनीति–अप्रभावित भई प्राविधिक दृष्टिबाट मात्र हेर्ने हो भने मुलुकका सबै ठूला नदीहरू जो तराईका जिल्लाहरू भई बग्छन्, त्यसको तल्लो तटीय बहावको क्षेत्र बाढीबाट प्रभावित रहेको छ ।
यसरी नै कोशीको तल्लो प्रवाह पनि उत्तिकै फराक छ । बागमतीदेखि पूर्वका प्रायसः सबै नदीहरू कुनै न कुनै रूपमा कोशीको उपल्लो जलाधार क्षेत्रबाट नै निसृत भएको पाइन्छ । लालबकैया, चकनाहा, सिपरी, कोला, लखनदेई, करेह, कमला, त्रिवेणी, धुर्मी, बलान, भुतही बलान, त्रियुगा, खाडो, महुली, सुन्दरी, गंगाजली, पोडा, मरिया, सुनसरी– कोशी क्षेत्रका यी नदीहरूको बहावका स्थान बाढीबाट किन बारम्बार प्रभावित भैरहन्छ ? यी सबै नदीका बाढी अत्यन्त उछृङ्खल र सत्यानासी प्रकृतिको किन छ ? पोहोर साल सप्तरीको तिलाठी बढी चर्चामा रह्यो । तिलाठीको शिक्षाले कुनै सुधार भएन । बरू, यसले दिएको प्राकृतिक सन्देश कथित राष्ट्रवादको मुद्दामा कचल्टियो । अहिले कोशी ब्यारेजको ३६ ढोका मात्र खोलियो, ५६ वटै कपाट किन खोलिएन भनेर सप्तरीको बाढी बिध्वंशको कारण खोजिँदैछ । हुँदा-हुँदा उद्धार र राहतको प्राथमिकता भारतसँग सन् १९५० को संन्धी, कोशी र गण्डक सम्झौताको माखेसाङ्ग्लोमा पुगेको छ ।
यहाँ यी सब सतही कुरा भन्दा केही तथ्यमा जानु उपयुक्त हुने ठान्दछु । यसर्थ फेरि दोहोर्याउन चान्हन्छु । विराटनगर विमानस्थल समुन्द्र सतहबाट २ सय ३६ फिटको उचाईमा छ । जनकपुरदेखि पूर्व सिरहा, सप्तरी र सुनसरीको मैदानी भाग लगभग समान उचाइमै रहेको छ । जबकि, कोशी नदीको मुख्य उदगम स्थल समुन्द्र सतहबाट १८ हजार फिट अग्लो छ । यहीँ यो तथ्य विचारणीय छ कि, कोशीका सबै भंगालाहरू भारतको बिहार राज्यमा प्रवेश गरी अन्ततः गंगा नदीमा मिसिन्छ । यो गंगा मइयाको उदगम स्थल समुन्द्र सतहबाट १० हजार ३ सय फिट अग्लो छ । कोशीको भन्दा कम, स्वभावतः कोशीको तल्लो तटीय प्रवाह, जो अन्ततः गंगामा मिसिन्छ, उक्त गंगा कोशीको उदगम स्थलभन्दा ७७०० फिट ओरालो छ । यसर्थ कोशी र यसका सबै सहायक नदीहरू बढी तेजिलो वा गतिमान हुनेमा कुनै शंका रहनु हुँदैन । कोशी नदी पहाडी क्षेत्रहरूबाट तल झर्दै गर्दा यसको उतारको गति प्रतिमाइल ७५ फिटको दरले तल झर्दछ ।
भर्खरैको अत्यधिक वर्षा लामो समयपछिको एक अपवाद हो । तर, यस तथ्यलाई इन्कार गर्न सकिँदैन कि कोशीको जलाधार क्षेत्र वा भनौं यसको हिमालीय प्रवाह क्षेत्रमा प्रायसः १७० इञ्चसम्म वर्षा हुने गर्दछ । यसमा हिम ग्लेशीयरबाट आउने पानीको मात्रा समावेश छैन । कोशीमा हिउँदको महिना चैत्र–बैशाखमा बाढी आउँछ । मानिसहरू छक्क पर्छन् । प्रचण्ड गर्मीले हिमतालहरू पग्लेर आउने बाढी तल तराईको कोशी ब्यारेज भई गुज्रिने यात्रीले हेर्दा अचम्म मानेका हुन्छन् ।
जो–कोहीलाई यदि सप्तरीको कोशी खण्डको सामान्य ज्ञान पनि छ भन्ने उसले सजिलै बुझ्न सक्छ कि यसपटकको सप्तरीको डुबानमा कोशीको ऋणात्मक योगदान नगण्य छ, गोबरगाढा र थोरै एकाध ठाउँको अपवाद बाहेक । सप्तरीको डुबान वा बाढीको मूल कारण त कोशीका सबै सहायक नदीहरूको भू–सतह बढेर जानु हो ।
एक अध्ययनअनुसार बर्षा याममा कोशीको जल प्रवाहको गति प्रतिघण्टा १६ माइल हुन्छ । सामान्य अवस्थामा यसको बेग राजबिराज शहरमा कुदने रिक्साको गति जस्तो हुन्छ– प्रति घण्टा ३ माइल । आफ्नो यही प्रवाहका कारणले कोशीको जलधार पहाडी क्षेत्रमा नियन्त्रित रहे पनि भित्री मधेस र तराईमा यो अनियन्त्रित हुन्छ । करिब १५० बर्षको इतिहासमा कोशीले तल तराईमा पूर्व–पश्चिम गरी करिब १२० किमी फराकमा धार परिवर्तन गरेको पाइन्छ । भारत, बिहार प्रदेशमा कोशीका धारहरू १४० किमीको फराकमा स्वच्छन्द विचरण गरेको तथ्यांक छ । म हाई स्कूल पढ्दाको बखत कोशीको मुख्य धार मेरो गाउँ कंचनपुरको पुगनपुग २ किमी पूर्व पथरी भै बग्दथ्यो । जबकि, अहिले सो ठाउँबाट हवाई दुरीको १६ किमी पश्चिम सुनसरीको कुशहालाई छोएर बग्दछ ।
अर्को पनि तथ्य छ, सन् १८१० भन्दा पहिला कोशी चतराबाट तल आउनासाथ दक्षिणतिर प्रवाहित नभै सोझै पूर्वतिर बग्ने गर्दथ्यो । यदि त्यो धार कायम नै रहेको भए आज कोशी इटहरीको मुख्य बजार हुँदै संभवतः कंकाईमा मिसिने थियो र पूर्वांचलको नक्सा नै अर्कै अकल्पनीय बन्ने थियो । सन् १८१० पछि मात्र कोशी चतराबाट दक्षिणको बाटो समात्यो, फलतः कोशी आज यहाँ छ । मेरो छिमेकी भएको छ ।
आफ्नो प्रवाहसंगै बालुवा बगाएर ल्याउने र समतल मैदानमा थुपार्ने चरित्रका कारणले कोशी संसारकै नदीहरूमा अद्वीतीय रहेको छ । कोशीको गंगा प्रवेशका बिन्दुमा बर्षेनी सतह उँचो हुँदै जाने कारणबाट नेपाली क्षेत्रमा कोशीको धार परिवर्तन भैरहन्छ । केही बर्षपहिले बंगलादेश प्रवेशको नजिक गंगाले बगाएर लगेको बालुवा थुप्रेर यौटा टापु नै निर्माण भएको बडो चर्चा हुने गर्थ्योस ‘न्यू मुरल्याण्ड’ नामाकरण गरिएको थियो । प्रायसः सबै हिमाली नदीहरूको बालुवा, ढुंगा तथा माटो बगाउने यही विशेषताका कारणले उक्त टापू बन्न गएको हो ।
पिपलको पात संझिनुस् वा चौरीको पुच्छरको कल्पना गर्नुस्, माथी र तल सानो डाँढ र तल मसिनो हुँदै जाने, अनि पेटको भागचाहिँ दुबैतिरबाट अर्धचन्द्राकार झैँ छ कोशीको प्रवाह । कोशीको बालुवा, ढुंगा–गिट्टी तथा माटो बगाउने उही चरित्रका कारणले मूल कोशी र यसबाट निसृत हुने सबै सहायक नदीहरूको भू–सतह माथी उठ्दै गएर नदीले संग्रह गरी बगाउने जल भण्डारण बाहिर फालिने प्रवृति अब प्रकट हुन थालिएको छ ।
जो–कोहीलाई यदि सप्तरीको कोशी खण्डको सामान्य ज्ञान पनि छ भन्ने उसले सजिलै बुझ्न सक्छ कि यसपटकको सप्तरीको डुबानमा कोशीको ऋणात्मक योगदान नगण्य छ, गोबरगाढा र थोरै एकाध ठाउँको अपवाद बाहेक । सप्तरीको डुबान वा बाढीको मूल कारण त कोशीका सबै सहायक नदीहरूको भू–सतह बढेर जानु हो । मैले माथि चर्चा गरेको कोशीको पानीढलोको प्रबल बेगलाई त भगवान इन्द्रबाहेक अरू कसैले नियन्त्रण गर्न सक्दैन । हामीले गर्ने त अब हरेक बर्ष अवश्यम्भावी बाढीबाट हुने क्षतिको नियन्त्रण र उद्धारको तयारी मात्र हो । कोशीको मुहानमा यदि नपखालिने कुनै बस्तु फ्याँकिदिने हो भन्ने केही घण्टामै कोशी बैरेजमा आइपुग्ने कोशीको तल्लो बहावको तेजलाई बुझ्नेले यस तथ्यमा असहमत हुने ठाउँ छैन ।
कोशी बैरेजको ढोका खोलिएन भन्ने लम्फू विषय भन्दा भारतले एकतर्फी रूपमा निर्माण गर्दै लगेको बाँधको बिषय हो । जलप्रकोपको सूचना आदानप्रदान र दुबै पक्षबाट समान दायित्वका साथ सचेतता अपनाउने विधि निर्माणको विषय हो । कोशी र अन्य अन्तरसीमा नदीहरूको नयाँ सन्दर्भमा नयाँ जल उपभोगको विषय हो । बाढी ब्यवस्थापनको द्विपक्षीय हितको विषय हो ।
प्रतिक्रिया