‘रेपिस्ट’ बाबाका कारण ३२ को मृत्यु, भारतका पाँच राज्य ठप्प

‘रेपिस्ट’ बाबाका कारण ३२ को मृत्यु, भारतका पाँच राज्य ठप्प


वीरेन्द्र केएम

चण्डीगढ, पंजाब । भारतको हरियाणास्थित एक बाबालाई जेल पठाउँदा ३२ जनाले ज्यान गुमाएका छ्न् भने चारवटा राज्य ठप्प भएको छ ।

एक गैरनाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा सच्चा’का प्रमुख तथा धर्मगुरु गुरमीत राम रहीमलाई बलात्कार मामलामा एक उच्च अदालतले दोषी ठहराएपछि हिजो शुक्रबारदेखि सुरु भएको हिंसात्मक स्थिति अझै पनि साम्य भएको छैन । उक्त घटनाका कारण अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ ।

शनिबार निकै समस्याहरु झेल्दै हामी केही संचारकर्मी त्यहाँ पुग्दा स्थिति समान्य बन्न सकेको देखिएन । सरकारले आसपासका प्रायः सबै क्षेत्रमा धारा २४४ अर्थात कर्फ्यु लगाएको छ ।

हिजो बाबा राम रहीमलाई दोषी घोषित गरेलगत्तै उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि देशका विभिन्न शहरको स्थिति तनावग्रस्त बनेको थियो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका छ्न्।

हरियाणामा दशौँ हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् । शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव, मध्यप्रदेश, राजस्थान र दिल्ली, नोइडा समेतका शहरहरूमा स्थिति तनावग्रस्त रहेको छ ।

अहिले भने प्रहरीले स्थितिलाई पुर्ण रुपमा नियन्त्रणमा लिइसकेका छ्न् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्यास तथा हवाई फायर समेत गरेको हरियणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले बताएका छ्न् ।

यसकारण बाबा भए दोषी सावित

आफ्ना लाखौं समर्थक रहेको दाबी गर्ने ती कथित धर्मगुरु, गुरमित राम रहीम सिंहलाई झण्डै १५ वर्षअघि दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

हरियाणा राज्यको पंचकुला नगरमा अवस्थित उक्त अदालतले उनीविरुद्ध फैसला सुनाएपछि उनका हजारौं समर्थक आक्रोशित बनेका थिए ।

तिनीहरुले सवारी साधनहरु, भवनहरु र रेलवे स्टेशनहरुमा आगजनी गरेका छन् । जवाफमा सुरक्षा सैन्यले गोली चलाएका बताइएको छ ।

को हुन् गुरु राम रहीम ?

भारतको हरियाणा र पञ्जाब राज्यका अन्य स्थानमा हिंसा फैलिंदै गर्दा ति धर्मगुरु राम रहीमको गृहनगर सिरसामा सेना परिचालन गरिएको छ ।
राजधानी दिल्लीमा पनि आगजनीका घटनाहरु भएका विवरणहरुमा प्राप्त भएको छ।

पंचकुला र पंजाब राज्यको फिरोजपुर, भटिण्डा र मानसामा कर्फ्यु आदेश जारी गरिएको छ।

भारतका राष्ट्रपति रामनाथ कोविंदले हरियाणा फैलिएको हिंसाको निन्दा गरेका छन् ।

अनौठो व्यक्तित्व

डेरा सचा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहको व्यक्तित्व अनौठो देखिन्छ । उनी रंगीचंगी पोशाक लगाउँछन् अनि उनको छवि कुनै चर्चित रक गायकको जस्तो छ। उनले आधा दर्जन म्युजिक भिडियो बनाएका छन् । उनी नियमित रुपमा सांगितिक समारोह ‘रक कन्सर्ट’हरुमा सहभागी हुन्छन् जसमा दशौं हजार समर्थक भेला भएका हुन्छन् ।

डेरा सच्चा सौदाको वेबसाइटमा सो संगठन मानवीय सेवा तथा परोपकारमा संलग्न सामाजिक कल्याण तथा धार्मिक संगठन भनिएको छ। सो संगठनले विश्वभर पाँच करोड समर्थक रहेको दाबी गरेको छ।

उसले बालिका, शिशु, भ्रुणहत्याविरुद्ध अनि यौनकार्यमा संलग्न महिलाको सुधारका लागि अभियान चलाएको जनाएको छ। साथै सो समूहले स्कूल तथा अस्पतालहरु सञ्चालन गरेको बताएको छ ।

पछिल्ला केही महिनामा डेरा प्रमुख विवादमा परेका थिए जब उनीमाथि आफ्ना चार सय समर्थकलाई ईश्वरसंग अझ निकट हुनका निम्ति नपुंसक बन्न बाध्य पारेको आरोप लाग्यो । त्यो बाहेक उनीमाथि हत्याका मुद्दा पनि छन् । ती आरोपहरुको सो समूहका प्रवक्ताले खण्डन गरेका छन् ।

मूलधारका शिख नेताहरुले आस्थालाई बेइज्जत र अपमान गरेको भन्दै उनको आलोचना गरेका छन । स्थानीयस्तरको राजनीतिमा गुरमीत राम रहीम सिंहको उल्लेखनीय प्रभाव रहेको ठानिन्छ।

उनका भक्तहरुले राम रहीम सिंहलाई लेखक, आविष्कारक, वैज्ञानिक, दार्शनिक, परोपकारी, शान्ति अभियानकर्ता तथा सबैभन्दा महान मानवतावादी भन्ने गर्छन् ।