दपू लण्डनवासीहरुका च्यारिटी डिनर साँझ

दपू लण्डनवासीहरुका च्यारिटी डिनर साँझ


लण्डन । भर्खरै देउसीभैलो खेलेर सामुदायिक भवन निर्माणका लागि चन्दा संकलन गरेको दुई सप्ताह बित्दानबित्दै फेरि एउटा अपरझट्ट च्यारिटी डिनरको कार्यक्रम गत आइतवार साँझ प्लमस्टिडस्थित कनवेरोडको सेन्ट पैट्रिक हलमा बडो धुमधामसित आयोजना गरिएको थियो । यस कार्यक्रमलाई श्रीचन्द्र गुरुङको संयोजनमा दक्षिणपूर्व लण्डन तमूधिं र दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो । छोटो समयमा कार्यक्रम सम्पन्न गर्ने जमर्को गर्दा सहभागीहरु धेरै आउँदैनन् कि भन्ने आशंका थियो, तर, हिजोको भेलाले दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको ऐक्यबद्धतालाई उजागर गरेको छ । हलमा मानिसहरु खचाखच भरिएको थियो । जुन लक्ष्य बोकेर कार्यक्रम सम्पन्न गरिएको थियो त्यो उद्धेश्य शतप्रतिशत फलिभूत भएको थियो ।
यस कार्यक्रमलाई दिशादिनको लागि अहोरात्रि खटिएका आमा समूहको ठूलो योगदान रहेको थियो । १५ अक्टुबरको दिनमा निर्णय गरिएको कार्यक्रमका लागि भोलिपल्ट नै समाजका सल्लाहकार सुमल कुमार गुरुङले च्यारिटी डिनरको टिकट आफ्नै श्रोतबाट बनाएर बिक्रि गर्ने अभियान तीव्र पारेका थिए । कार्यक्रमको लागि टिपनटापन र सेलरोटी चारजना आमाहरु क्रमशः ममता (विष्णु) गुरुङ, शान्ती गुरुङ, देवी गुरुङ र बोलमाया गुरुङले प्रायोजन गरेका थिए । देउसीभैलोको भीडीयो क्लिपहरुबाट निर्मला गुरुङ, दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजकी उपाध्यक्षले एउटा सीडी आफ्नै श्रोतबाट तयार पारेर त्यसबाट बिक्रि गरेर उपलब्ध भएको रकम सामुदायिक भवनको कोषमा जम्मा गरिने भएको छ ।
यस कार्यक्रमलाई सुपथ मुल्यमा स्वादिष्ट भोजन आफ्नो रेस्टुरेन्टबाट खाना उपलब्ध गराइदिएकोमा कुमार श्रेष्ठ पनि धन्यवादका पात्र बन्न पुगेका छन् । समयको पाबन्दीलाई मध्येनजर गरी कार्यक्रम छिट्टै साँझ साढे पाँचबजेबाट सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम सूर्य गुरुङले सञ्चालन गरेका थिए । सञ्चालक सूर्य गुरुङले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै दक्षिणपूर्व तमूधिं, लण्डनका उपाध्यक्ष हिरा गुरुङलाई सुरक्षासम्बन्धी जानकारी दिनको लागि मञ्चमा निम्त्याएका थिए । उनले सुरक्षासम्बन्धी सहभागीहरुलाई जानकारी गरेपश्चात् सहभागीहरुलाई स्वागत गर्नको लागि दक्षिणपूर्व लण्डन तमूधिं तथा दक्षिणपूर्व लण्डन बौद्ध आमा समाजका सल्लाहाकार सुमल कुमार गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए । त्यसपछि सामुदायिक भवनका संयोजक श्रीचन्द्र गुरुङले पावरपोइन्टको माध्यमबाट सामुदायिक भवनबारे प्रकाश पारेको थिए । यस कार्यक्रमको अर्को रमाइलो पक्ष सहभागीहरुले मन खोलेर चन्दादान गरेका थिए । सञ्चालक सूर्य गुरुङले उद्घोष गर्न नभ्याउँदै चन्दादाताहरु उत्साहित हुँदै चन्दा दिनको लागि अघि बढेका थिए । सबैभन्दा बढी रकम बिजय बहादुर गुरुङले १५०० पाउण्ड रकम व्यक्तिगत चन्दा तथा देउसीभैलो दान ३१५ पाउण्ड गरेर जम्मा रकम १८१५ पाउण्ड सामुदायिक भवन निर्माणका लागि दिएका थिए । यति मात्र नभई उनले कार्यक्रमको अधकटि्ट टिकटहरुको चिट्ठाका लागि पनि प्रथम पुरस्कार प्रायोजन गरेका थिए । उनले आफ्नो छोटो मन्तव्य दिएपछि दक्षिणपूर्व तमूधिं लण्डनका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङले सबैलाई धन्यावाद ज्ञापन गर्दै प्रथम चरणको कार्यक्रम समापन गरेको थियो ।
यसपछि दोश्रो चरणको सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम योगेश गुरुङले सञ्चालन गरेका थिए । विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमको गरिमा बढाइएको थियो । अन्तमा डिजे डान्समा फ्लोरभरि महिलापुरुषहरु उल्लासित भएर अबेरसम्म नाचेका थिए । एक महिनाभित्र सामुदायिक भवनका लागि च्यारिटी डिनर र देउसीभैलो गरेर दशहजार पाउण्डभन्दा बढी रकम संकलन गर्न सफल भएकोमा यस अभियानसंग संलग्न व्यक्तित्वहरुले अब छिट्टै नै उद्धेश्य सफल हुने लख काटेका छन् ।-सुमल, मेस ।