अनलाइन सपिङको नाममा ठगी

अनलाइन सपिङको नाममा ठगी


राजधानीमा च्याउ सरीउम्रेका ‘अनलाईन सपिङ बजार’ लाई करको दायरामा ल्याउन नसक्दा राज्यलाई मासिक करोडौं रुपैयाँ घाटा भएको छ । सहज इन्टरनेट सेवा र अत्याधुनिक स्मार्ट फोन बोक्ने युवा पुस्ताको बृद्धिसँगै अहिले राजधानीलगायत मुलुकको मुख्य–मुख्य शहरमा अनलाईन सपिङले राम्रो बजार लिएको छ । तर राजधानीमा रहेका अधिकांश अनलाईन सपिङले राज्यलाई कर, मुल्यअभिबृद्धि कर (भ्याट) वा कुनै पनि आम्दानीबापत शुल्क तिर्ने नगरेको प्रमाण फेला परेको छ ।

अनलाईन सपिङमार्फत नुनदेखि सुनसम्म खरिद हुने गरेको पाइएको छ । तर अनलाईन सपिङ सञ्चालन गर्ने कम्पनीले सामान खरिद गर्दा उपभोक्तालाई विल वा भौचर नदिने र दिँएको कर वा भ्याट, प्यान नम्बर समेत नभएका विल दिने गरेको पाईएको छ ।  सामाजिक सञ्जालमा अनगिन्ति पेज खुलेर मार्केटिङ गरिरहेका त्यस्ता कम्पनीको विलभौचरमा नाम भएतापनि ति कम्पनी वा अनलाईन सपिङ सम्वन्धित निकायमा दर्ता नभई खुला रुपमा व्यवसाय गरेका छन् ।

 

अनलाईन सपिङ सञ्चालकले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने गरेका छन् । अनलाईनमार्फत नै कुनैपनि सामानको छनौंट हुने र सो सामानमा तोकिएको मुल्य अनुसार आफ्नै घर वा कार्यालयसम्म डेलिभरी हुने कारण अनलाईन सपिङको क्रेज युवा पुस्तामा दिनानुदिन बढिरहेको छ भने अर्को तर्फ गुणस्तहिन सामानलाई मंहगोमा खरिद गर्ने गरेका छन् । केहि बर्ष यतादेखि यो प्रचलन ह्वात्तै बढेको हो । तर अनलाईन सपिङ सञ्चालन गर्नेलाई करको दायरामा ल्याउन सरकारले अहिलेसम्म ध्यान दिएको छैन् ।

हिजोआज सयौं अनलाईन सपिङ सेन्टर खुलेका छन्, जसले कुनैपनि सामान ब्यक्तिको सम्वन्धित ठाँउमै डेलिभरी दिने गरेका छन् । केहि अनलाईन सपिङ सञ्चालकले त आफ्नो ब्राण्डको सामान विकाउन एप्स नै तयार पारेका छन् । उनीहरुले सामान डेलिभरी गर्ने केटा वा केटीलाई प्रत्येक डेलिभरीमा एक सयदेखि दुई सय रुपैयाँसम्म कमिशन दिने गरेको छ । अनलाईन सपिङ कुनैपनि करको दायरामा छैनन् ।

जसका कारण मन लाग्दी मुल्य तोकिएको हुन्छ । अर्डर भएको सामान फिर्ता नहुने अर्को झन्झट भने यथावत छ ।  सस्तो डिल डट कम, जीएसआई अनलाईन सपिङ, केमु अनलाईन सपिङ (जुन भिम प्लाजामा रहेको छ), द पजल स्टोर, स्र्पोटस् सप, नेप वेलगायत दर्जनौं सञ्चालनमा छन् ।

जसले रेडिमेड लत्ताकपडा, विद्युतीय सामान, घर, कार्यालय वा किचेनका लागि सम्पूर्ण सामाग्र्री, खेलकुदका सामाग्री वा जुनसुकै सामान पनि बजार मुल्य भन्दा सस्तोमा उपलब्ध गराउने गरेका दाबी समेत गरेको छ ।