काङ्ग्रेससँग छुट्टिन निहुँ खोज्दै प्रचण्ड

काङ्ग्रेससँग छुट्टिन निहुँ खोज्दै प्रचण्ड


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि उहाँले नयाँदिल्लीमा पुगेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउन नहुने भन्दै उहाँको व्यापक आलोचना भएको छ । सत्तासाझेदार दल माओवादी र माओवादी अध्यक्ष प्रचण्डले समेत यस विषयलाई लिएर प्रधानमन्त्रीको आलोचनात्मक टिप्पणी गरेपछि विषय अलिक गम्भीर बन्न पुगेको छ । संसदमा मतदान भएर संविधान संशोधनसम्बन्धी विषयको टुङ्गो लागि सकेपछि पुनः प्रधानमन्त्रीले संशोधनप्रति प्रतिबद्धता जनाउनुलाई प्रचण्डले अत्यन्त गम्भीर र रहस्यमयी मानेको बुझिएको छ ।

सभापति शेरबहादुर देउवालाई उपयोग–प्रयोग गर्दै काङ्ग्रेसबाट प्राप्त गर्न सकिने जति उपलब्धि हासिल गरेपछि प्रचण्डले देउवासँग टाढिने निहुँ खोज्न थालेको सङ्केतका रूपमा यसलाई लिइएको छ । काङ्ग्रेससँग सत्तागठबन्धन हुनुअघि माओवादीको स्थिति मुलुकमा अत्यन्त दुर्बल र रुग्ण हुन पुगेको थियो । एक वर्षको यस अवधिमा प्रचण्डले आफ्नो पार्टीसम्बद्ध व्यक्तिहरूलाई राज्य संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा विधिवत् पु¥याइसक्नुभएको छ भने स्थानीय निर्वाचनमा काङ्ग्रेससँग गठबन्धन गरेर भरतपुर महानगरलगायत दर्जनौँ स्थानीय निकायमा आफ्नो पक्षको नेतृत्व पनि स्थापित गरिसक्नुभएको छ । काङ्ग्रेससँगको साझेदारी र देउवाको कमजोरीको फाइदा उठाउँदै प्रचण्डले सुस्ताउँदो आफ्नो सङ्गठनलाई पुनर्जीवन दिने काम पनि गरिसक्नुभएको छ ।

यसबीचमा माओवादीले मृत्युशय्यामा पुगिसकेको वाईसीएललाई पनि जागृत गराउनुभएको छ । एक वर्षअघि प्रधानमन्त्री बन्नुअघि र अहिले प्रचण्डको बडी ल्याङ्ग्वेज (हाउभाउ) लाई मात्र तुलना गर्ने हो भने पनि काङ्ग्रेसको साथले माओवादी कति तङ्ग्रियो भन्ने बुझ्न सकिन्छ । यसरी काङ्ग्रेसको साथ लिएर आफ्नो हैसियत माथि उठाएपछि प्रचण्ड अब देउवासँग बार्गेनिङ गरी थप उपलब्धि हासिल गर्न प्रयत्न गर्दै हुनुहुन्छ भने एमालेका नेताहरूसँग गुप्त सम्पर्क गरी देउवाको विकल्पमा नयाँ मोर्चा बनाउने कसरत गर्न थाल्नुभएको पनि जानकारीमा आउन थालेको छ । प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्ने प्रतिबद्धता नयाँदिल्लीमा जनाउनुभएको विषयलाई निहुँ बनाएर प्रचण्ड एमालेसँग नजिकिने र एमालेको समर्थन लिएर आफैँ प्रधानमन्त्री बन्ने तानाबाना बुन्न सक्रिय भएको जानकारी विभिन्न सूत्रबाट प्राप्त भएका छन् । प्रचण्डले आफूमातहतका सङ्घ–सङ्गठन तथा सञ्चारमाध्यमहरूलाई देउवाका विरुद्ध प्रयोग र परिचालन गर्ने कामको थालनी गरिसक्नुभएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवाले दिल्लीमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुको अर्थ प्रचण्डले बेग्लै रूपमा लगाउनुभएको छ । मधेसकेन्द्रित दलहरूको माग र एजेण्डअनुरूपको संशोधन भनेर प्रचण्डले बुझ्नुभएको छैन । उहाँले अब गर्ने भनिएको संशोधन धर्मनिरपेक्षता हटाएर नेपालीलाई हिन्दूराष्ट्र बनाउने कुरासँग सम्बन्धित अर्थ लगाउनुभएको छ । भनिन्छ, प्रचण्ड संविधानबाट धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र बनाउने पक्षमा हुनुहुन्न र कुनै पनि बेला काङ्ग्रेस हिन्दूराष्ट्रका पक्षमा जान्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ । त्यस्तो अवस्थामा एमालेसहितका वामपन्थीहरूको साथ लिएर ‘उपलब्धि’ जोगाउने र सत्ता पनि प्राप्त गर्ने योजनाअनुसार प्रचण्ड भित्रभित्रै क्रियाशील हुन थाल्नुभएको बुझिन आएको छ ।

देशको अन्य ६ प्रदेशमा झैँ दुई नम्बर प्रदेशमा काङ्ग्रेससँग गठबन्धन बनाउन सकिने र गठबन्धन बनाए पनि माओवादीलाई पहिलेझैँ लाभ नहुने ठहर माओवादीले गरेको छ । उक्त प्रदेशमा जोसँग जहाँ मिल्दा आफूलाई लाभ हुन्छ त्यहाँ त्यसैसँग चुनावी एकता गर्ने नीति माओवादीले लिने भएको बुझिएको छ । दिल्लीमा प्रतिबद्धता जनाएझैँ देउवाले जब संविधान संशोधनको मुद्दा उठाउनहुनेछ तब माओवादी काङ्ग्रेससँगको सम्बन्ध तोडेर वामपन्थी एकताको नाममा एमालेसँग गठबन्धन निम्ति अग्रसर हुने सम्भावना देखिएको छ ।

यदि सङ्घीय संसद र प्रदेश सभाको घोषित निर्वाचनभन्दा अगावै माओवादीले देउवासँगको गठबन्धन तोडेमा त्यसले निर्वाचनलाई समेत गम्भीर प्रभाव पार्ने र निर्वाचन नै नहुने परिस्थिति निर्माण गर्न सम्भव छ । देशको सबैभन्दा ठूलो राजनीतिक दललाई एक्ल्याएर र सरकारबाट बाहिर ल्याएर निर्वाचनमा जाँदा त्यसबाट सबभन्दा ठूलो लाभ आफैँलाई हुने एमालेले ठानेको छ भने त्यसलाई अस्वाभाविक मान्नुपर्ने देखिँदैन । त्यसैले देश र देउवाका निम्ति आगामी दिनहरू थप कष्टकर हुने सम्भावना बढेको छ ।