बालगुरु आदित्यको नाममा झुठो प्रचार भएकोमा आपत्ति

बालगुरु आदित्यको नाममा झुठो प्रचार भएकोमा आपत्ति


नेपाल आइडलको विषयमा गुरु आदित्यले भविष्यवाणी गर्नुभएको भनी प्रचारप्रति आदित्य प्रतिष्ठानले आपत्ति जनाएको छ । गुरु आदित्यले प्रतिष्पर्धीहरूमध्ये कुनै एकको नाम उल्लेख गरी उनको विजय हुने भविष्यवाणी गरेको भन्दै सामाजिक सञ्जाल र केही अनलाइन पत्रिकामार्फत प्रचार भएपछि आदित्य संरक्षण प्रतिष्ठानले एक वक्तव्य जारी गर्दै उक्त प्रचारबाजी मिथ्या भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘विगत केही दिनदेखि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूबाट परमपूजनीय बाल ज्ञानी गुरु आदित्यज्यूले एपी–वन टेलिभिजनबाट प्रशारण भएको नेपाल आइडलको विजेतासम्बन्धी बाल ज्ञानी गुरु आदित्यज्यूको नक्कली हस्तलिखित सहित भविष्यवाणी गरिएको भन्ने सन्दर्भमा आदित्य संरक्षण प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘बाल ज्ञानी गुरु आदित्यज्यूबाट नेपाल आइडललगायत अन्य कुनै पनि त्यस्ता विषयहरूमा भविष्यवाणी नगरिएको स्पष्ट गराउन चाहन्छौँ ।’

प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंद्वारा जारी विज्ञप्तिमा मिथ्या प्रचार गर्नेहरूमाथि सम्बन्धित निकायबाट आवश्यक कानुनी कारवाही गर्न माग गर्दै भनिएको छ– ‘बाल ज्ञानी गुरु आदित्यज्यूसँग सम्बन्धित कुनै पनि विषयमा समाचार, सूचना प्रकाशन प्रशारण र प्रसारित गर्नुपर्ने भएमा सत्य तथ्य बुझेर माग गरिदिनु हुन अनुरोध गरिन्छ ।