कार्यकर्ता रोक्न नयाँ शक्तिको बेग्लै ‘मन्त्र’

कार्यकर्ता रोक्न नयाँ शक्तिको बेग्लै ‘मन्त्र’


मरेको लाशलाई उपियाँले पनि छोड्छ भन्ने उक्ति सम्झाउँदै डा. बाबुराम भट्टराईका मित्रतम पात्रहरूले समेत नयाँ शक्ति पार्टी छोडेर दायाँबायाँ लागे पनि ‘नयाँ शक्ति’ले हार नखाएको बरु दौडको आरम्भमै बल्ड्याङ खाए पनि सम्हालिएर उठ्ने प्रयास गरेको छनक दिएको छ । सबैले नयाँ शक्ति उम्रन नपाउँदै ओइलाउन पुगेको टिप्पणी गर्दैगर्दा सो पार्टीले समर्थक भेला गर्दै मुलुकका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको छ । यसका लागि सो पार्टीका प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा कस्सिएर लागिपरेका छन् ।

यसै क्रममा नयाँ शक्ति पार्टी नेपालले ५ नंं प्रदेशस्तरीय प्रशिक्षण र बैठक बुटवलमा सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको वैठक र प्रशिक्षणमा बोल्दै नयाँ शक्तिका नेताहरूले सुशासन, विकास र समृद्धिसहित ‘पाँच स’ नयाँ शक्तिको बलिया पक्ष भएको भन्दै ‘पाँच स’लाई जनतामाझ लैजान सके चुनावमा सफलता मिल्ने बताए ।

बुटवलको प्रशिक्षणमा पनि डम्बर खतिवडाले यस्तै–यस्तै वाक्यका जलप लगाएर प्रशिक्षणको बिट मारेका छन् । नयाँ शक्तिका नेताहरूले यतिबेला ‘ठूला भनिएका दलहरूले लामो समयपछि मात्र सफलता मिलेको, हामी त भर्खर जन्मिएका न हौँ’ भन्ने वाक्यलाई प्रशिक्षण र सार्वजनिक भाषणहरूमा ‘मूल मन्त्र’कै रूपमा रट्ने–रटाउने गरेका छन्, जो बुटवलको प्रशिक्षण कार्यक्रममा पनि दोहोर्‍याई–तेहेर्‍याई सुनाइयो ।

बुटवलमा आयोजित प्रशिक्षणका अवसरमा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले संविधानसभाबाट संविधान बनिसकेपछि आर्थिक समृद्धिको युग शुरु भएको तर्क गर्दै यो एजेण्डा उठाउने पार्टी नयाँ शक्ति नै भएको दाबी गरे । कुनै वाद वा विचार एकपटक अँगालेपछि संधै त्यसैमा टाँसिएर बस्नु वैज्ञानिक र समयसापेक्ष नहुने भन्दै उनले नयाँ शक्तिले लिएको ‘पाँच स’को विचार र सिद्धान्त नै अहिलेको समयको माग भएको बताए ।

पाँच स का एजेण्डाले गर्दा नयाँ शक्ति सबैभन्दा क्रान्तिकारी र अग्रगामी शक्ति रहेको भन्दै यो कुरा जनतालाई राम्रोसँग बुझाउन खतिवडाले आग्रह गरे ।
प्रशिक्षणमा पार्टीका संसदीय विभाग प्रमुख केशव दाहालले डा. सुरेन्द्र चौधरी, नारायण पाण्डे, नवराज सुवेदी, कृष्ण शर्माले प्रशिक्षण दिएका नयाँ शक्ति पार्टीका प्रदेश नम्बर ५ कासंयोजक दानबहादुर चौधरीले जानकारी दिए ।