किन दिए माओवादी सांसदले राजीनामा ?

किन दिए माओवादी सांसदले राजीनामा ?


नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला सचिवालय सदस्यसमेत रहेका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहिबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिक कोटामा सांसद बनेका घिसिङलाई पार्टीले कारवाही गर्ने हल्ला चलिरहेकै बीच उनको राजीनामा आएको हो । सांसद घिसिङको राजीनामालाई अप्रत्यासित रुपमा लिइए पनि माओवादी केन्द्रभित्र भने यस विषयमा स्थानीय तहको निर्वाचनदेखि नै गाइँगुइँ चल्दै आएको थियो ।

घिसिङले सभामुखसमक्ष आफ्नो राजीनामा बुझउँदै आफू कुनै दलमा आवद्ध नरहेको जानकारी दिएका छन् । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा समेत सांसद घिसिङले राजीनामाको बोधार्थ दिएको पुष्टि गरेकी छिन् ।

माओवादी केन्द्रका संस्थापन पक्षधरहरुले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको र संसदमा पनि पार्टीको ह्वीप उल्लंघन गर्ने गरेकोले पार्टीले कारबाही गर्ने निश्चित भएपछि इज्जत जोगाउन पहिले ने आफूले राजीनामा दिएको दाबी गरेका छन् । उनलाई सांसद पदबाट हटाइने तयारी अन्तिम चरणमा पुगेको थियो भन्ने उनीहरुको भनाई छ । तर, सांसद घिसिङले भने आफू माओवादी केन्द्रको पछिल्ला नीति-व्यवहारसँग सहमत हुन नसकेकोले स्वतन्त्र रहने निश्कर्षमा पुगेर यस्तो कदम चालेको प्रष्टिकरण दिएका छन् ।