गच्छदारले गरे रोचक दाबी

गच्छदारले गरे रोचक दाबी


कांग्रेस र माओवादी केन्द्रको विशेष गठबन्धनबाट बनेको वर्तमान सरकारमा उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरम’का अध्यक्ष विजयकुमार गच्छदारले ठूला दलहरु नेतृत्वमा असफल सावित भएको अभिव्यक्ति दिएका छन् । निर्धारित समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती भए पनि ठूला भनिएका दलहरुका कारण यो चुनौती दिनानुदिन कठिन बन्दै गएको आरोप उनले लगाए ।

सिरहाको चोहर्वा भन्ने स्थानमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफ्नो उपरोक्त अभिव्यक्तिविपरीत गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ वर्तमान सरकार अघि बढिरहेको दाबी समेत गरे ।

ठूला दलकै अगुवाइमा भएका आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल भएको उनको तर्क थियो । विभिन्न सार्वजनिक समारोहमा बोल्दा प्रधानमन्त्री बन्ने चाहना खुलस्त पार्ने गरेका गच्छदारले सिरहामा पनि भने- ‘हाम्रो पार्टीले नेतृत्व गर्ने अवसर पाए मुलुकको वर्तमान संकट अन्त्य हुने थियो ।’ मुलुकका यावत समस्या कसरी अन्त्य गर्न सकिन्छ भन्ने सूत्रचाहिँ उनले खुलाएनन् ।

सोही अवसरमा फोरम लोकतान्त्रिकका अर्का नेता पूर्वमन्त्री रामजनम चौधरीले मधेशी, थारु, दलित, मुसलमानलगायत उत्पीडित समुदायका लागि आफ्नो पार्टीले संघर्ष गर्दै आएको दाबी गरे भने विभिन्न दल परित्याग गरी फोरममा प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष गच्छदारले माला र अवीर लगाएर स्वागत गरेका थिए ।