भुट्टोको हत्याका पाँचै आरोपी निर्दोष ठहर

भुट्टोको हत्याका पाँचै आरोपी निर्दोष ठहर


पाकिस्तानी एक विशेष अदालतले पूर्वप्रधानमन्त्री बेनजिर भूट्टोको हत्यामा संलग्न भनिएका पाँच अभियुक्तलाई बिहीबार सफाई दिएको छ ।आतङ्कवादविरोधि अदालतको नाममा खडा गरिएको विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ठहर गरेको हो ।

पाकिस्तानमा दुई पटक प्रधानमन्त्री बनेकी र पाकिस्तानको तत्कालीन राजनीतिमा अत्यन्त प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी भूट्टोको २००७ को डिसेम्बर २७ मा चुनावी सभामा सम्बोधन गर्ने क्रममा रावलपिण्डी शहरमा हत्या भएको थियो । उक्त हत्या अभियोगमा आइतजाज शाह, शेर जमान, हुसैन गुल, मुहम्मद रफाकत र रसीद अहमदलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

विशेष अदालतले उक्त घटनामा उच्च पदाधिकारीको सुरक्षामा आवश्यक सतर्कता नदेखाएको साथै अपराध भएको ठाउँबाट तथ्य लुकाएको अभियोगमा वरिष्ठ प्रहरी अधिकारी साउद अजिज र खुराम शेहजादलाई १७ बर्षको जेल सजाय तोकेको सिन्ह्वाले जनाएको छ ।

भुट्टो प्रधानमन्त्री रहेकै समयमा उनको सुरक्षामा प्रत्यक्ष जिम्मेवार रहेका दुई सुरक्षा अधिकारीलाई घटना शङ्काको सूचीमा समावेस गरिएको छ । उनीहरू दुवैलाई भुट्टोको मृत शरीरको अन्तिम परीक्षण गर्नसमेत नदिई तथ्यलाई लुकाउने काममा सहयोग पु¥याएको आरोप लगाइएको थियो ।

सोही अदालतले पाकिस्तानका भूतपूर्व राष्ट्रपति जेनरल परवेज मुशर्रफलाई मुद्दाको सुनुवाईको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको समेत समाचारमा जनाइएको छ ।